राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताको पहिलो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएकाे छ । तीन राप्रपाबीच एकता भएपछि पहिलो पटक एकताको महाधिवेशन सुरु भएकाे हाे। यसपटक अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । यदि अन्तिमसम्म पनि सहमति भएन भने चुनावमार्फत् अध्यक्ष निर्वाचित गरिनेछ । त्यसका लागि देशभरबाट चार हजार ३८० प्रतिनिधि काठमाडौं आइसकेका छन् । तीन दिनसम्म चल्ने महाधिवेशनले १४७ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको मुद्दालाई उठान गर्दै आएका थापा पुनः नेतृत्वका लागि अघि सरेका हुन् ।
अध्यक्षमा आफूलाई सहयोग गर्न र चार वर्ष कुर्न थापाले आग्रह गरेका छन् ।
‘चार वर्षसम्म कुर्नुहोस्, त्यसपछि म सहमति मै नेतृत्व हस्तान्तरण गर्छु । यो पटक मलाई सहयोग गर्नुहोस्’, थापाले भने ।
लिङ्देनले पनि राजतन्त्र पुनःस्थापना र हिन्दूराष्ट्र पुनःस्थापनाको मुद्दालाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन् । उनले अब राप्रपालाई अघि बढाउनका लागि नयाँ नेतृत्वको आवश्यकता रहेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरे ।
‘३१ वर्षदेखि पार्टी गुट उपगुटमा सीमित रह्यो । यो गुट उपगुटको अन्त्यका लागि मलाई सहयोग गर्नुहोस्’, उनले थापालाई आग्रह गर्दै भने ।
पहिलो पटक अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीको समर्थन छ । लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिनुपर्ने भन्दै लिङ्देनलाई समर्थन गरेका हुन् ।
थापा र अर्का अध्यक्ष पशुपतिशमशेर जबरालाई अब अभिभावकीय भूमिका निर्वाह गर्न समेत उनले आग्रह गरे ।
राप्रपाको नयाँ नेतृत्वमा लिङ्देनको पक्षमा उभिएको स्पष्ट पार्दै उनले भने, ‘अहिलेसम्म जसले नेतृत्व गरेपनि पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने छ । त्यसका लागि युवालाई नेतृत्व दिएर हामी सबै अभिभावकीय भूमिका निर्वाह गरेर बसौं ।’
लिङ्देन राप्रपा नेता धवलशमशेर राणाको प्रस्तावमा नै अध्यक्षका लागि उम्मेदवारी दिन अघि सरेका हुन् । धवलशमशेरसँगै लिङ्देनलाई टंक ढकाल, पुराना नेता पद्मसुन्दर लावतीका छोरा सगुन सुन्दर लावती, नायिका रेखा थापा लगायतको समर्थन छ । उनीहरू लिङ्देनका पक्षमा खुलेर उभिएका छन् ।
थापालाई पनि नेताहरू दीपक बोहरा, बुद्धिमान तामाङ, धुव्र प्रधान, उद्धव पौडेल, राजाराम बर्तौला लगायतको साथ छ । अर्का अध्यक्ष पशुपति शमशेर राणा भने अहिलेसम्म तटस्थ बसेका छन् । उम्मेदवारी घोषणा गरेका दुवै जनाले आफ्नो प्यानलको भने घोषणा गरिसकेका छैनन् ।
विगत तीन दशकदेखि राप्रपाको नेतृत्व कमल थापा, पशुपतिशमशेर र प्रकाशचन्द्र लोहनीले मात्र गर्दै आएका थिए । त्यस बीचमा नेतृत्वमै असन्तुष्टि जनाउँदै कहिले फुट्ने त कहिले जुट्ने क्रम चलिरहेको थियो ।
लिङ्देनले विगत ३१ वर्षदेखि राप्रपामा जकडिएर रहेको गुटको अन्त्य गर्न आफूले उम्मेद्वारी दिएको प्रष्ट पारे । यता थापाले विगतमा पूरा गर्न नसकेका कामलाई पूर्णता दिन आफू पुनः नेतृत्वमा आउनु आवश्यक रहेको बताए ।
पूर्वराजाको साथ नै निर्णायक
पूर्वपञ्चहरूको पार्टीका रूपमा चिनिएको राप्रपाको नयाँ नेतृत्व चयनमा पूर्वराजाको भूमिका महत्वपूर्ण हुनेछ । पूर्वराजा ज्ञानेन्द्र शाहले भने अहिलेसम्म कसैलाई पनि आफ्नो समर्थन दिइसकेका छैनन् । तर पनि आफ्ना दूतहरूमार्फत् सहमतिका साथ अघि बढ्न आग्रह गरेका छन् ।
आफूले पार्टीभित्र हस्तक्षेप नगर्ने ग्रिन सिग्लन पूर्वराजाले दिइसकेका छन् ।
यदि सहमति नभएर चुनावी प्रक्रियामा गयो भने पूर्वराजाले धेरै फरक पार्न सक्छन् । पूर्वराजाको आफूलाई समर्थन नहुनेमा कमल थापाले केही संकेत पाइसकेका छन् । त्यसैले त उनी पूर्वराजाले केही चलखेल नगरेको खण्डमा आफ्नो जित सुनिश्चित हुने दाबी गर्छन् ।
आफू निकटका नेताहरूसँग थापाले भनेका छन्, ‘पूर्वराजाको समर्थनले दुई सय भोट फरक पार्न सक्छन् । जुन जितको लागि निर्णायक हुनसक्छ । उहाँ तटस्थ बसिदियो भने मेरो जीत सुनिश्चित छ ।’
प्रचार विभागका संयोजक मोहन श्रेष्ठले दुवै पक्ष आ-आफ्नो दाबीसहित अघि बढिरहेको बताए ।
‘अहिलेसम्म दुई जनाले मात्र अध्यक्षको घोषणा गरेका छन् । नयाँ नेतृत्वको विषयमा पूर्वराजाले हस्तक्षेप गर्नुहुन्न । उहाँको सुवेक्षा भनेको सहमतिमा नेतृत्व चयन होस् भन्ने हो’, उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।