ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न यात्रा प्रतिबन्ध लगाउनु मात्र समाधान होइन : डब्लुएचओ

हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी यसअघि पनि डब्लुएचओले दिँदै आएको छ ।

तर यो भेरियन्ट अफ्रिकामा देखिएको भनेपछि सो भाइरसको नियन्त्रणका लागि विश्वका कतिपय देशहरूले अफ्रिकी देशसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् । डब्लुएचओले यो भेरियन्टले विश्वका केही क्षेत्रमा नराम्रो प्रकारले असर गर्न सक्ने र गम्भीर परिणामहरू निम्त्याउन सक्ने भन्दै यसबाट बच्नका लागि जन स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताउँदै आएको छ ।

डब्लुएचओका निर्देशक टेड्रोस आधनाम गेब्राएससले यो नयाँ प्रजातिबाट बच्नका लागि पनि विश्वका देशलाई स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे । उनले गरिब देशहरूमा खोपको व्यवस्था गर्न, सबै नागरिकमा खोप सर्वसुलभ बनाउन पनि माग गरे । यो नयाँ भेरियन्ट यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । प्रारम्भिक प्रमाणले यसको संक्रमण जोखिम धेरै रहेको देखाएका थिए ।

उक्त भेरियन्ट पत्ता लागेको बारेमा तत्कालै सार्वजनिक गरिएको भनेर डब्लुएचओका निर्देशक गेब्रिएससले दक्षिण अफ्रिकाको प्रशंसा पनि गरेका थिए । 'नयाँ भेरियन्ट पत्ता लागेको कुरा समयमै दक्षिण अफ्रिकाले खबर गर्यो, समयमै भन्यो, तर उसलाई सहयोग गर्ने, धन्यवाद दिने काम गर्नुको सट्टा उसैलाई दण्डित गरेर यात्रा प्रतिबन्ध लगाइएको छ, यो राम्रो भएन' उनको भनाइ थियो ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १४:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया