तारा एअरको जहाज यात्रुहरूले धकेलेरै साइड लगाए [भिडियोसहित]

सामान्यतया चारपांग्रे हलुका सवारी मानिसहरुले धकेलेको त तपाईं–हामीले देखेका छौं । तर, बुधबार बाजुरा विमानस्थलमा यस्तो दृष्य देखियो, जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलिरहेका छन् । जहाज धकेलेको भिडियो, अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एक यात्रुका अनुसार बुधबार दिउँसो एक बजे धावनमार्गमा राखिएको तारा एयरलाइन्सको जहाजको टायर पड्किएको थियो । जहाजको टायर पड्किए कारण ट्याक्सी–वे अवरुद्ध भयो ।

विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न यात्रुहरु प्रतीक्षारत थिए । तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म अन्य विमान उड्न नपाउने भए ।

‘धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो । जसले गर्दा अर्को जहाज उडाउन समस्या भयो’ यात्रु खगेन्द्र खड्काले भने, ‘त्यसपछि हामीले धकेलेर उक्त जहाजलाई साइड लगायौँ ।’ पछि खड्का अर्को जहाज चढेर धनगढी आए । उनका अनुसार जहाजलाई यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट धकेलेर किनारा लगाएका हुन् ।

तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । उक्त जहाजले हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ ।

यति एयरलाइन्सका प्रवक्ता सुरेन्द्र बर्तौलाका अनुसार हुम्लाको सिमकोटबाट ९ एन–एभिई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो ।  त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए । 



त्यसपछि नेपालगञ्जमा रहेको तारा एयरको अर्को जहाज टायर र इन्जिनियर लिएर बाजुरा पुग्यो । टायर फिट गरिसकेपछि दुवै जहाज नेपालगञ्ज अवतरण गरिसकेको बर्तौलाले जानकारी दिए ।



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १९:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया