प्रदेश २ सभापतिमा निधि पक्षका चारसहित आधा दर्जन आकांक्षी, जिल्लामा पनि सकस

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशन बिहीबारदेखि जनकपुरधामस्थित तिरहुतिया गाछीमा सुरु भइरहेको छ ।

पार्टीको १४औं महाधिवेशनअन्तर्गत वडाअधिवेशन, नगरअधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएलगत्तै बिहीबारदेखि प्रदेश अधिवेशन सुरु हुन लागेको हो ।

यसपटक सबैको ध्यान प्रदेशमा विशेष केन्द्रित देखिन्छ । किनभने कांग्रेसभित्र पहिलो पटक प्रदेशको नेतृत्वका लागि नेताहरू व्यस्त देखिन्छन् । प्रदेश २ मा सभापति पदका लागि कांग्रेस संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले मंसिर ६ गते नै पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रुपमै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

त्यस्तै, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार रायले पनि औपचारिक रूपमै उम्मेदवारी घोषणा गरिसकेका छन् । कोहीले घोषणा नगरे पनि आन्तरिक रूपमा तयारीमा लागेका छन् ।

पार्टीको विधानअनुसार लगातार दुई कार्यकाल जिल्ला सभापति रहेका व्यक्ति तेस्रोपटक सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएकाले प्रदेश २ मा सभापतिका उम्मेदवारको संख्या बढी हुने देखिएको छ ।

यस प्रदेशमा भने पार्टीको नेतृत्व सम्हाल्नका लागि सभापतिमा रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्णा यादव आकांक्षी छन् । यी चारैजना कांग्रेस उपसभापति विमलेन्द्र निधि नजिकका मानिन्छन् । सभापतिका आकांक्षी यिनीहरूसँग जिल्ला हाँकेको अनुभवसमेत छ ।



कांग्रेसलाई प्रदेश २ मा थप मजबुत बनाउने लक्ष्यका साथ आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको संसदीय दलका नेता यादवले बताए । उनले आफू प्रदेश सभापति पदमा जितेपछि यस प्रदेशमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउनुका साथै पार्टीको सुविधासम्पन्न प्रदेश भवन बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेता यादवले आफू ६८ वर्षको उमेरमा पनि युवा रहेको र युवाजस्तै जोस र जाँगरका साथ काम गरिरहेको दाबीसमेत गरे । २०२९ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका यादवले १४ वर्ष नेपाली कांग्रेस धनुषाको सभापति भएर काम गरिसकेका छन् ।



त्यस्तै, रौतहट सभापति कृष्णाले अहिले आफू जिल्लादेखि केन्द्रसम्मका साथीहरूसँग छलफललाई तीव्रता दिएको समर्थन लिने प्रयास गरिरहेको जानकारी दिए ।

उता, महोत्तरी जिल्ला सभापति रहेका महेन्द्र रायले भने चारपटक जिल्लाको नेतृत्व पाइसकेका छन् । विसं. २०२९ सालमा बहुदलीय व्यवस्थाका लागि कांग्रेस अन्दोलन गरिरहेको बेला उनले सरोज कोइरालाको हातबाट भारतको मधुवनीमा पार्टीको सदस्यता लिएका थिए । २०३५ सालमा उनी महोत्तरीको जिल्ला सदस्यमा चुनिएका थिए । २०५६ सालमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा चुनिएर उद्योग वाणिज्य तथा आपूर्ति सहायक मन्त्रीसमेत बनेका थिए ।

त्यस्तै, २०४२ सालबाट कांग्रेसमा लागेका रौतहट जिल्लाका सभापति कृष्णा यादवले समेत प्रदेश सभापतिका लागि तयारी गरिरहेका छन् । उनले २/२ पटक नेपाली कांग्रेस रौतहटको नेतृत्व सम्हालिसकेका छन् । २०६४ सालमा नेता कृष्णा रौतहटबाट संविधानसभा सदस्यका लागि चुनिएका थिए ।

जिल्लामा सकस

प्रदेश २ का जिल्ला कांग्रेसका उपसभापति निधिको पकेट क्षेत्र मानिन्छ । प्रदेश २ का जिल्लामा नेतृत्व लिन चाहने अधिकांश नेता निधि नजिककै हुन् ।

कांग्रेसको स्थापना कालदेखि नै पकेट क्षेत्रको रूपमा रहेको धनुषामा भने महाधिवेशनलाई लिएर चहलपहल बढी नै देखिएको छ ।

केन्द्रमा महाधिवेशनलाई लिएर दौडधूप देखिएजस्तै धनुषामा समेत जिल्ला सभापतिका लागि आधा दर्जनभन्दा बढी नेता दौडधूपमा लागेका छन् ।

धनुषा कांग्रेस स्रोतका अनुसार जिल्ला सभापतिका लागि वर्तमान सभापति महेशशंकर गिरी, उपसभापति संतोष यादव, सचिव विशेश्वर यादव, प्रफुल्लराज घिमिरे, दिनेश प्रसैला, योगेन्द्र पजियार लगायतका नेताहरू आकांक्षी देखिएका छन् ।

सभापतिका लागि तयारी गरिरहेका अधिकांश नेता देउवा पक्षकै छन् । पौडेल पक्षको दिनेश प्रसैलाको नाम सभापति पदका लागि चर्चामा रहे पनि खुलेर अहिलेसम्म अगाडि आउन सकेका छैनन् ।

निधिको प्रभावका कारण धनुषामा पौडेल पक्ष कमजोर रहेकाले फेरि देउवा पक्षकै कुनै नेता जिल्ला सभापति बन्ने लगभग निश्चित छ । तर पछिल्लो पटकको अधिवेशन जस्तै सर्वसम्मत हुने वा चुनाव हुनेमा संशय देखिएको छ । पछिल्लो पटक गिरिलाई सर्वसम्मतले जिल्ला सभापतिको जिम्मेवारी दिइएको थियो ।

गिरीले एक कार्यकाल आफूले जिल्लाको नेतृत्व गरिसकेकाले सभापति पदमा दाबी गर्नु आफ्नो अधिकार क्षेत्र भित्रै परेको बताए ।

यता जिल्लाका उपसभापति संतोष यादवले आफू निर्विवाद रूपमा जिल्लाको सभापति पदको उम्मेदवार रहेको बताए । पछिल्लो पटकनै आफूले सभापति पदका लागि उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा आएर सर्वसम्मतिले गिरिलाई सभापति बनाइँदा आफूले उपसभापति पदमा चित्त बुझाएको बताए ।

यता आफू लामो समयदेखि पार्टीभित्र रहेर काम गरेकाले यस पटक आफूले समेत सभापति पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरिरहेको नेता प्रफुल्लराज घिमिरे बताउँछन् । साथीहरूको सहयोग रह्यो भने मेरो म सभापति पदको जिम्मेवारी लिन तयार रहेको घिमिरेले बताए ।

त्यस्तै, महोत्तरी जिल्लामा समेत ६ भन्दा बढी नेताहरू आकांक्षी देखिएका छन् । महोत्तरी जिल्ला सभापतिका लागि वर्तमान जिल्ला कार्यसमितिका सचिव शम्भु पाठक, बजरंग नेपाली, नागेश्वर यादव, सुशिल यादव लगायतका नेताहरू आकांक्षी छन् ।

हुन त चार पटक जिल्लाको सभापति भएर अनुभव संगाली सकेका महेन्द्र यादव ईच्छुक देखिए पनि विधानअनुसार उनले यस पटक सभापतिको रेसबाट बाहिरिएका छन् । लगातार दुई पटक सभापति भइसकेकाले आफू फेरि विधानको हिसाबले सभापतिमा लड्न नपाउने उनले बताए ।

कांग्रेस महोत्तरीका सभापति रायले जिल्लामा १२ हजार सक्रिय सदस्य रहेको र उनीहरूको नवीकरणको कार्य अन्तिम चरणमा रहेको जानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १९:४९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया