मकवानपुरका एसपीको १७ बुँदे प्राथमिकता, कार्यान्वयनमा चुनौती

मकवानपुर प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठौरको सरुवा भएपछि जिल्लाको कमान्ड सम्हाल्न प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङ पुगेका छन् । गुरुङले आफ्नो कार्यकालमा सम्पन्न गर्ने भन्दै १७ बुँदे घोषणा गरेका छन् । उनले बुधबार मकवानपुरका पत्रकारसँग मकवानपुरको सुरक्षा व्यवस्था कायम राख्न १७ बुँदे प्राथमिकताको सूची प्रस्तुत गरेका हुन् ।

एसपी गुरुङअघि आउने मकवानपुरे प्रहरी प्रमुखले बुँदागत रुपमा यसरी आफ्नो प्राथमिकता नसुनाए पनि पत्रकारहरुसँग योजना सुनाउने गर्थे । गुरुङले पत्रकार सम्मेलनमा कानुनी राज्यका सबै मापदण्ड पूरा हुनेगरी प्राथमिकतामा राखेका छन् । 

नेपालभरि प्रहरी प्रशासनको चिन्ता र चासो हुने विषयलाई उनले निर्मम प्रहार हुने भन्दै उल्लेख गरेका छन् । बुँदा नम्बर ६ मा उल्लेख गरिएको छ– संगठित अपराध तथा गुण्डागर्दी, सीमा अपराध, प्राकृतिक स्रोतको दोहन गर्नेमाथि निर्मम प्रहार’ । एसपी गुरुङले सो बुँदाको अन्तिम वाक्य प्राकृतिक ‘स्रोतको दोहन गर्नेमाथि निर्मम प्रहार’  कार्यान्वयन गर्न सक्नु उनको सबैभन्दा ठूलो चुनौतीको रुपमा हेरिएको छ । 

जिल्लामा अवैध उत्खनन, प्रहरीको मिलेमतोमा ढुंगा, बालुवाको तस्करीको बारेमा बारम्बार समाचार आउने गरेका छन् । तर, एसपी गुरुङले प्राकृतिक स्रोतमाथि गरिएको चिन्ता अत्यन्तै जायज भएको नागरिक समाजका अगुवाको भनाइ छ । चिन्ता कि चासो भन्ने कुरामा ख्याल राख्नुपर्ने उनीहरुको मत छ । 

केही प्रहरी अधिकारी सुरुवामा आएर धमाधम कारबाही गर्ने, तर पछि क्रसर मालिक र बालुवा तस्करसँग बार्गेनिङ गर्नेसम्मको हुने गरेको नागरिक समाजका अगुवाहरुले बताउँदै आएका छन् । मकवानपुर जिल्लामा ५० भन्दा बढी स्थानमा अवैध रुपमा उत्खनन हुँदा प्रहरीले एक्सन लिन सकेको छैन । यही बेला एसपी गुरुङले जारी गरेको प्राथमिकतामा परेको बुँदा नम्बर ६ लाई महत्वका साथ हेरिएको छ । 

आफ्ना प्राथामिकता जारी गर्दै गुरुङले छिटो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गरिने बताए । उनले अपराधिक क्रियाकलापलाई कठोरताका साथ नियन्त्रण गर्न विवेकपूर्ण कदम चालिने बताए । 



मकवानपुरसँग सिमाना जोडिएका जिल्लाबाट हुने चोरी, निकासी नियन्त्रणमा कडा कदम चाल्ने उनले बताए । घरेलु मदिरा, यौनजन्य क्रियाकलाप, जुवातास, चोरी, लुटपाट र बजारमा हुने कालोबजारी नियन्त्रण गर्नु पनि आफ्नो प्राथमिकताको सूचीमा रहेको गुरुङको भनाइ छ ।



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २१:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया