बागमती कांग्रेस सभापतिमा को-कोबीच भिडन्त? आधा दर्जन बढीको नाम चर्चामा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट हेटौंडामा हुँदैछ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानमा हुने प्रथम अधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तालिका छ । 

कांग्रेस बागमती अधिवेशनमा रोमाञ्चक भिडन्त देख्न पाइने सम्भावना छ । पहिलो प्रदेश अधिवेशनबाट सभापति बन्न आधा दर्जन नेताहरूले इच्छा देखाएका छन् ।  

बागमतीमा सभापति पदमा इन्द्र बानियाँको सम्भावना बढी रहेको चर्चा छ । बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका उनी पार्टी सभापति शेरबहादुर देउवाको ‘राइट ह्यान्ड’ छवि बनाएका मानिन्छन् ।

पूर्वमन्त्रीसमेत रहेका मोहन बस्नेतले दाबी छोडेपछि संस्थापन पक्षबाट बानियाँ एक्ला उम्मेदवार देखिएका छन् । उनले दुवै पक्षको सहयोग रहेको भन्दै चुनावी अभियानलाई पनि अगाडि बढाइसकेका छन् ।

२०४४ देखि राजनीतिमा लागेका बानियाँ नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरको सभापति बनेका थिए । २०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर–१ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका उनी २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएदेखि निरन्तर सांसद छन् । 

बानियाँले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् । साथै, उनी  ‘ए’ लेभलको ठेकेदारसमेत हुन् ।  



सिटौला समूहबाट प्रधानको तयारी  

कांग्रेस नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने भएका छन्। उने शनिबार रत्नपार्कको शान्तिबाटिकामा उम्मेदवारी घोषणा गरेका हुन् । 



काठमाडौं कांग्रेसका पूर्वसभापतिसमेत रहेका प्रधान नेता कृष्णप्रसाद सिटौला समूहमा छन्। पछिल्लो समय उनको निकटता देउवासँग पनि बढेको छ । प्रधान देउवा र सिटौला पक्षको आधिकारिक उम्मेदवार बन्ने प्रयासमा पनि छन् । 

पौडेल पक्षमा आधा दर्जन आंकाक्षी   

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा सभापतिको आकांक्षी धेरै देखिएका छन् । संस्थापन इतर समूहमा एक्लो उम्मेदवार बनाउन बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रामशरण महत र अर्जुननरसिंह केसीले जिम्मेवारी पाएका छन् । 

संस्थापन इतरबाट सभापतिको उम्मेदवार बन्न काभ्रेका मधु आचार्य, काठमाडौंका राजुराज जोशी,  जगदीश्वर नरसिंह केसी, सिन्धुलीका मोहन बराल, चितवनका रामकृष्ण घिमिरे, मकवानपुरका रघुरमण न्यौपानेलगायतको नाम चर्चामा छ ।    

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ९:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया