रुसले युक्रेनमाथि आक्रमण गरे हामी चुप लागेर बस्दैनौंः अमेरिका

युक्रेनका कारण अमेरिका र रुसबीचको तनाव पछिल्ला दिन बढेको छ । रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेपछि अमेरिका र रुसबीच तनाव बढेको हो । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको आरोप लगाएका छन् । यसविरुद्ध रुसमाथि ठूलो आर्थिक प्रतिबन्ध लगाउने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् । 

लाटभियाको राजधानी रिगामा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) गठबन्धनका  विदेशमन्त्रीहरूको भेटवार्तापछि अमेरिकी विदेशमन्त्री ब्लिंकनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

रुसले युक्रेनको सीमा ठूलो संख्यामा सैनिक तैनाथ गरेपछि नेटोका विदेशमन्त्रीहरूको बैठक बसेको थियो । बैठक रुसले गरेको सैनिक तैनाथीमा केन्द्रीत भएको जनाइएको छ । 

‘क्रेमलिन (रुसी सरकार)लाई स्पष्ट भनेको छौं– हामी कडा रुपमा जवाफ दिन्छौं । यसमा ठूलो असर गर्ने आर्थिक प्रतिबन्धका कुरा पनि छन् जुन कदम हामीले विगतमा उठाउन सकेका थिएनौं,’ अमेरिकी विदेशमन्त्री ब्लिंकनले भने । रुसले आक्रमण गरे आफूहरु चुप लागेर नबस्ने समेत उनले जनाएका छन् । 

अमेरिकाले युक्रेनलाई रुससँगको सम्बन्धमा संयमता अपनाउन समेत आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्रीले भनेका छन्, ‘युक्रेनको सम्प्रभुता तथा अखण्डता कायम राख्न अमेरिका आफ्नो समर्थनप्रति अडिग छ र युक्रेनसँगको सुरक्षा साझेदारीप्रति पनि प्रतिबद्ध छ । हामी युक्रेनलाई संयमता अपनाउन अनुरोध गरिरहेका छौं ।’ 



युक्रेनले पनि बुधबार रुसलाई सम्भावित आर्थिक प्रतिबन्धको लागि तयार रहन भनेको छ । रुसले आक्रमण गर्ने आशंकामा युक्रेनले आफ्ना दशौं हजार सैनिक रुससँगको सीमा नजिक तैनाथ गरेको छ । 

युक्रेनका विदेशमन्त्री दमित्रो कुलेबाले लाटभियामा भएको नेटेको बैठकमा रुसको सामना गर्न आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । उनले शीतयुद्धपछि रुससँग सम्बन्ध सबैभन्दा गम्भिर अवस्थामा पुगेको जनाएका थिए । 



‘म हाम्रा सहयोगीहरुलाई अनुरोध गर्छु– तपाईँहरू युक्रेनको साथमा आउनुस्,’ उनले भनेका छन् । उनले युक्रेनलाई सैन्य तथा रक्षा सहयोग बढाउन पनि नेटोलाई अनुरोध गरेका छन् । 

हाल युक्रेन नेटोको सदस्य होइन तर अमेरिकाको नेतृत्वमा रहेको नेटो युक्रेनको पक्षमा उभिदै आएको छ । सन् २०१४ पछि युक्रेनले नेटो र युरोपेली युनियनमा सहभागी हुने प्रयास गरिरहेको छ । 

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १४:५८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया