एमालेमा अब भीम रावलको हैसियत के ?

एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको नवौँ महाधिवेशनमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका थिए ।

तर, अहिले रावलको अवस्था त्यस्तो बनेन् । चितवनको सौराहामा पाँच दिनसम्म चलेको राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको विषय पेचिलो बन्यो । जसको कारण थिए, रावल र घनश्याम भुसालसहित पदाधिकारीमा उम्मेदवारी दिएका टकं कार्की ।

ओलीले मध्यरातपछि गएर सुनाएको सर्वसम्मतको सूचीलाई बहिस्कार गर्दै उम्मेदवारी घोषणा गरेका यी सबै निर्वाचित भएनन् । तर, महाधिवेशनको विधि, पद्धति र प्रक्रियालाई भने आत्मसाथ गरे ।

रावल उम्मेदवारी घोषणा गर्नेबित्तिकै सबैभन्दा बढी निर्वाचन आयोगसँग टचमा बसे । कारण थियो, उनको केन्द्रीय सदस्य पदको ।

आफूले अध्यक्षमा उम्मेदवारी दिएको भन्दै केन्द्रीय सदस्यमा नरहने रावलको घोषणा थियो । मतदान प्रक्रियापछि भएको शपथग्रहण समारोहमा देखिएका रावलले केन्द्रीय सदस्यमा भने शपथ लिएनन् । निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले मतगणनापछि परिणाम सुनाउँदै गर्दा पनि रावलले केन्द्रीय सदस्यमा आफू नरहने जानकारी गराएको बताएका थिए ।

एमालेमा कुन हैसियत ?



नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका रावल पराजित भए । पराजित हुने थाहा हुँदाहुँदै पनि रावल आफ्नो निर्णयबाट ब्याक नहटेका हुन् ।

तर, निर्वाचन आयोगले परिणाम सुनाउँदै गर्दा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएको बतायो । उनीसँगै भुसालको पनि नाम केन्द्रीय सदस्यमा निर्वाचित भएको नै आयोगले सुनाए ।



पदाधिकारीमा उम्मेदवारी दिएका यी दुई उम्मेदवारमध्ये रावलले ओलीबाट शपथ लिएनन्, भुसालले लिए ।

फरकधारले अब तपाईं एमालेमा कसरी अघि बढ्नुहुन्छ ? भन्ने प्रश्न सोध्दा रावल अझै आफू महाधिवेशनको गहिरो समीक्षामा व्यस्त रहेको बताउँछन् । ‘म अझै अध्ययनमा छु । दुई दिनपछि मात्र बाहिर बोल्छु भनेर अहिलेसम्म बोलेको छैन’ उनले भने ।

धेरै कुराहरू व्यवस्थित गर्नपर्ने भएकाले केही दिनमा नै आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताए । ‘मैले महाधिवेशनको विश्लेषण गर्दैछु । अझै केही विषयमा मुड बनाएर मात्र अघि बढ्छु’ रावलले फरकधारसँग भने ।

केन्द्रीय सदस्यमा आफू नबस्ने घोषणा गरेका रावलको अब पार्टीमा कुन भूमिका रहने भन्ने आम चासोको विषय छ ।

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १५:५२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया