ओमिक्रोनको चर्चा तथ्यभन्दा अनुमानको आधारमा भइरहेको छ, धेरै तर्सिनु पर्दैन
डा. शेरबहादुर पुन
फरकधार / १६ मंसिर, २०७८
संयोजक, शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट

‘ओमिक्रोन’ कोरोना भाइरसको उत्परिवर्तित, स्वभाविक, प्राकृतिक र अनुमानित स्वरुप (भेरियन्ट) हो । करिव एक वर्ष अगाडि भारत तथा नेपालमा विध्वंश मच्चाएको र हाल विश्वव्यापी फैलिएको ‘डेल्टा भेरियन्ट’ पछि आएको कोरोना भाइरसको नयाँ भेरियन्ट पनि । यसैकारण हाल ‘ओमिक्रोन’ विश्वव्यापी चासोको विषय बनेको छ । 



दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी ११ ५२९ नाम दिएको यो नयाँ भाइरस २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरिएको थियो । यस भाइरसको बारेमा हालसम्म यहि नै हो भनेर भन्न सकिने तथ्य भने बाहिर आएको छैन । 

के हो ओमिक्रोन भाइरस ?

ओमिक्रोन भाइरस कोरोना भाइरसको परिवर्तित स्वरुप हो । हरेक भाइरसले स्वरुप परिवर्तन गर्छन् । स्वरुप परिवर्तन गरेसँगै यसको गुणहरूमा परिवर्तन आउँछ । 



ओमिक्रोनको बारेमा आजसम्म कुनै पनि यकिन तथ्य छैन । यसकारण यसले डेल्टाले जस्तै आक्रान्त रुप लिन्छ की भन्ने त्रास भने रहेको छ । यसको प्रभावको बारेमा हालसम्म कुनै अनुसन्धानको निचोड बाहिर आएका छैनन् । जसले गर्दा यसको बारेमा भविष्यवाणी गर्न झन् कठिन भएको छ । 

हरेक भाइरसले जस्तै कोरोना भाइरसले पनि स्वरुप परिवर्तन गरेको मात्रै हो । स्वरुप परिवर्तन गर्नु स्वभाविक मानिए तापनि ‘ओमिक्रोन भेरियन्ट’ धेरै पटक म्युटेसन भएर आएको स्वरुप भएको कारण केही खतरनाक हुनसक्छ । तर यो अहिलेसम्म सम्भावनामै सिमित । यथार्थ यस्तै वा फरक हुन पनि सक्छ ।  

डब्ल्यूएचओमा व्यापक छलफलपछि २६ नोभेम्बरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरिएको थियो । यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ ।

तीव्र गतिमा फैलनु, फरक लक्षण देखिनु, बढी घातक हुनु, जनस्वास्थका मापदण्ड प्रभावहीन हुनु, हाल उपलब्ध निधान गर्ने प्रविधि, खोप तथा उपचारमा समस्या देखिनु आदि मध्येमा एक वा सो भन्दा बढी लक्षण देखिएमा यो भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिन्छ । 

डब्ल्यूएचओका अनुसार प्रारम्भिक नतिजा अनुसार ओमिक्रोन भेरियन्टले अरु ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएका भाइरसहरु भन्दा पुनः संक्रमण गर्न सक्ने क्षमता बढी देखाएको छ । 

दक्षिण अफ्रिकाको केही प्रान्तहरुमा यो भेरियन्ट तीव्र गतिमा फैलिएको छ भने कोरोनाको ‘एस जिन’ हाल प्रयोगमा आइरहेको रिएजेन्ट पिसीआर प्रविधिले पत्ता लगाउन नसकिने प्रजातिको  रहेको छ ।

दक्षिण अफ्रिकाका जहाँ यो भेरियन्ट फैलिएको छ ती राष्ट्रहरुमा खोपको मात्रा पूर्ण नलगाइएको अथवा निकै थोरैलाई मात्र लगाइएको अवस्था छ । खोपको मात्रा पूर्ण लगाइएका देशहरुमा ‘ओमिक्रोन भेरियन्ट’ ले कसरी प्रभाव पर्छ भन्ने नतिजा महत्वपूर्ण हुनेछ । यसको ‘स्पाइक प्रोटिन’ मा व्यापक उत्परिवर्तन भएकोले यो तीव्र गतिमा फैलिएर संक्रामक हुने प्रजातिमा पर्छ । तर, कति संक्रामक हुन्छ भन्ने यकिन भैसकेको भने छैन । 

हाम्रो लागि महत्वपूर्ण अर्को जानकारी भनेको ‘ओमिक्रोन भेरियन्ट’ कति घातक छ वा रहने छ भन्ने हो । अनुसन्धान चलिरहेकाले यो कति घातक छ भन्नेबारेमा सबै अनभिज्ञ नै छौं । यो पहिलेको भन्दा घातक पनि हुन सक्छ या कमजोर पनि हुन सक्छ । तर हामीले विगतमा धेरै क्षति बेहोरेको हुनाले सर्तकता अपनाउनु नै अहिलेको अवस्थामा ठिक रहनेछ । 

नेपाल अहिलेसम्म यो भाइरसबाट जोगिरहेको छ । नेपालमा हालसम्म ओमिक्रोनका विरामी फेला परेका छैनन् । नेपाल यस भाइरसबाट हालसम्म अछुतो रहे पनि स्वास्थ्य मापदण्डका कुराहरु भने पुर्ण रुपमा पालना गर्नु पर्छ ।

खोपको प्रभावकारिता घटेको हो त ?

ओमिक्रोन भेरियन्टमा दोश्रो लहरमा फैलिएको ‘डेल्टा’को तुलनामा बढी स्पाइक प्रोटिन रहेको छ । स्पाइक प्रोटिन अर्थात भाइरसले संक्रमण गर्ने क्षमता हो । धेरै भन्दा धेरै खोपहरू स्पाइक प्रोटिनलाई लक्षित गरेर बनाइएको छ ।

हामीले अहिले जति पनि खोपहरू प्रयोग गर्दै आएका छौ, ती सबै खोपहरू स्पाइक प्रोटिनलाई ध्यानमा राखेर बनाइएको छ । 

अर्को जान्ने पर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको हाल प्रयोगमा आइरहेका खोपहरू यो भाइरसविरुद्ध कति प्रभावकारी छ ? रहने छ ? भन्ने हो ।  

हाल खोप उत्पादक कम्पनीहरुले प्रभावकारिताको बारेमा  तीव्र गतिमा अनुसन्धान अगाडि बढाइरहेका छन् । अहिले नै खोपको प्रभावकारिताको बारेमा पनि थाहा भइसकेको छैन । 

डेल्टाको तुलनामा ओमिक्रोन भेरियन्टमा स्पाइक प्रोटिन बढी भएकोले पहिला लगाइएका खेपहरू केही कमजोर हुने हुन् की भन्ने डर भने रहेको छ । यसले कस्तो चुनौती दिने छ भन्ने बारे अध्ययनहरु भइरहेका छन् । आजको मितिसम्म भने लगाउँदै आइएका खोपहरूको प्रभावकारिताको बारेमा कुनै प्रश्न चिह्न खडा भएको छैन । 
डेल्टा भन्दा कडा वा खोपले काम नै गर्दैन भन्ने बेला आइसकेको छैन । यो सबै अध्ययन अनुसन्धानको रिपोर्ट आएपछि मात्र थाहा हुने कुरा हो । 

यद्यपी डेल्टा भन्दा झन्डै झन्डै दोब्बर स्पाइक प्रोटिनमा म्युटेसन भएको कारण ओमिक्रोनलाई खतरनाक भनिएको हो । इटालियन अनुसन्धानकर्ताहरुले यस बारे यस्तो खालको निष्कर्ष निकालेको भउ पनि हामीलाई भने यस बारे धेरै जानकारी छैन । 

डेल्टा भेरियन्टको समयमा खोपलाई लिएर विभिन्न किसिमका अनुमानहरु गरिएका थिए । जुन समयक्रममा प्रमाणित भएनन् । त्यसैले यदि डेल्टा भन्दा सक्रिय भएर आएमा केही मात्रामा खोपको प्रभावकारिता घट्न भने सक्छ । 

संक्रमण रोकथामका लागि के गर्ने ?

‘ओमिक्रोन भेरियन्ट’ बारेमा धेरै जानकारी थाहा पाउन बाँकी नै छ । तर पनि यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्युटेसन देखिएको र त्यसमा पनि अझ ‘स्पाइक प्रोटिन’ समेत हुँदा वैज्ञानिकहरुले विगतमा देखिएका ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत पर्ने भाइरसहरु भन्दा बढी जोखिम हुन सक्ने अनुमान गरेका छन् ।

फलस्वरूप, विभिन्न देशहरुले अन्तरदेशीय यात्रामा कडाइ गरेका छन् । नेपालमा पनि मंसिर १५ गते सरकारले विज्ञप्ति जारी गर्दै यस विषयमा सर्वसाधरणलाई जानकारी गराएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने यात्रुहरूमा विशेष निगरानी राख्ने भनिसकेको छ ।

हाल नेपालमा जिन सिक्वेन्सिंक गर्ने प्रविधि स्थापना भैसकेको अवस्थामा हवाई यात्रुमा कोरोना भाइरस देखिए त्यसको विश्लेषण गर्ने र जोखिमको लेखाजोखा गर्दै नियन्त्रणको योजना बनाउन सके ‘ओमिक्रोन भेरियन्ट’ फैलनबाट रोक्न सकिने छ । 

कस्ता सावधानी अपनाउने ?

नेपालमा हालसम्म यो भाइरसका संक्रमित भेटिएका छैनन् । त्यसैले विगतमा गर्दै आइएका स्वास्थ्य मापदण्डहरु पालना गर्नु पर्दछ । हामीले दुई वर्ष अघिदेखि गर्दै आएको मास्कको सहि प्रयोग, सामाजिक दुरीलाई निरन्तरता दिनु पर्छ । 

हरेक देशले आफ्नो आफ्नो तरिकाले पूर्व तयारी गरिरहेका छन् । नेपाल सरकारले पनि गर्छ तथा गर्नु पर्छ । यस्ता कुरामा सरकारको मुख ताकेर मात्र हुँदैन । सरकारको तर्फबाट गर्ने कुरा त भइ नै हाल्छ हामीले व्यक्तिगत तर्फबाट पनि सावधानी अपनाउनु पर्छ । यसका लागि सबैले प्रयास गरौं । अहिले जति कुराहरू चर्चा भइरहेका छन्, ती तथ्य भन्दा पनि अनुमानको आधारमा भइरहेका छन् । त्यसैले धेरै तर्सिनु पर्ने भन्ने छैन । जे पनि हुन सक्छ आफूले सर्तकता भने अपनाउनु नछोडौँ । 

(फरकधारकी नमिता दाहालसँगको कुराकानीमा आधारित) 
 

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १५:५४:५७,   अन्तिम अपडेट : मंसिर १६, २०७८ बिहीबार १६:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया