नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु भएको छ । प्रदेश सभापतिका लागि सहमती गर्ने प्रयास थालिएको छ ।
सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका आकांक्षीहरुका बीचमा प्रतिस्पर्धा हुने देखिएपछि नयाँ अनुहारमा सहमतिको प्रयास भईरहेको छ ।
कांग्रेस नेताका अनुसार डोटीबाट महाधिवेशनमा निर्वाचित पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बीरबहादुर बलायरलाई सर्वसम्मत रुपमा प्रदेश सभापति बनाउने प्रयास थालिएको हो । ‘प्रदेश सभापतिमा पूर्वमन्त्री बीरबहादुर बलायरलाई सर्वसम्मत गर्ने प्रयास हुँदैछ । सहमति भने भइसकेको छैन,’ एक नेताले भने ।
सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कांग्रेसले कानून मन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयोजक तोकेर खटाएको छ । उनले सुदूरपश्चिम प्रदेश सभापतिमा बलायरलाई चयन गर्न छलफल थालेका हुन् । कांग्रेस नेता एनपी साउँद, रमेश लेखक, बीरबहादुर बलायर र बद्री पाण्डे पनि धनगढीमा छन् । उनीहरुबीच प्रदेशको नेतृत्व चयनका लागि छलफल भइरहेको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निकट ५ जना आकांक्षीहरुलाई छोडेर बलायरलाई प्रदेश सभापति बनाउने प्रयास थालिएको जनाएको छ । यद्दपि अहिलेसम्म बलायरले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । उनको भित्री ईच्छा प्रदेश सभापति हुने देखिएपनि चुनावी प्रतिस्पर्धामा भने जान उनी ईच्छुक देखिदैनन् ।
बलायर प्रदेश सभापति भए नर नारायण शाह मनुको महामन्त्री बन्ने सम्भावना बलियो छ । नेपाली कांग्रेसका नेता नर नारायण शाह मनु, अर्जुन जंग बहादुर सिंह, पुष्पकुमार शाही, गोविन्द शाह, हिम बहादुर रावल प्रदेश सभापतिका रुपमा आकांक्षी देखिएका छन् ।
अधिवेशनको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । प्रदेशका ९ वटै जिल्लाका प्रतिनिधिहरु धनगढी पुगिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।