नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु भएको छ । धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन सुरु भएको हो । अधिवेशनको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
प्रदेशका ९ वटै जिल्ला कैलाली, कञ्चनपुर, बाजुरा, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, बझाङ र अछामका प्रतिनिधिहरू धनगढी पुगिसकेका छन् । सुदूरपश्चिममा कांग्रेसका ९ सय ७२ जना प्रतिनिधिहरू रहेका छन् ।
उद्घाटन सत्रमा कांग्रेसका नेता तथा कानून मन्त्री दिलेन्द्रप्रसाद बडूले केपी ओली अहिले सत्तामा रहेको भए कांग्रेसको अहिले भइरहेको अधिवेशन नहुने दाबी गरे ।
‘केपी ओली सत्तामा भएको भए संविधानमा भएको व्यवस्था सबै खारेज हुन्थ्यो’, उनले भने ‘कम्युनिस्टहरूलाई जनताले दिएको दुई तिहाई जनमतको कदर हुन नसक्दा आज प्रतिपक्षमा भएको कांग्रेसले राज्यको नेतृत्व लिएको छ ।’ मुलुकको परिवर्तनका लागि कांग्रेसको जहिले पनि खाँचो रहेको नेता बडूले बताए ।
कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि आकांक्षी कांग्रेस नेताहरूले दौडधूप तीव्र बनाएका छन् । आकांक्षीहरू उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन् ।
अछामका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, बझाङ घर भएका पूर्वराज्यमन्त्री तथा पूर्वराजदूत अर्जुनजंगबहादुर सिंह र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष डोटीका नेता पुष्पकुमार शाहीले प्रदेश सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन् । लगातार दुई कार्यकालदेखि कांग्रेस कैलालीको सभापति रहेका नरनारायण शाह र कैलालीकै लम्कीका हिमबहादुर रावलले पनि प्रदेश सभापतिमा उमेदवारी घोषणा गरेका छन् ।
प्रदेश सभापतिका लागि सर्वसम्मतको प्रयास पनि जारी रहेको छ । शुक्रबार मनोनयन र शनिबार निर्वाचन हुने कार्यतालिका रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।