बझाङमा विकास निमार्णमा ठेकेदारको चरम लापरबाही : दशक बित्दा पनि पूरा भएनन् आयोजना

जिल्लाको साइपाल गाउँपालिकाको इंगलद्वार नदीमा ठेक्का सम्झौता भएको पाँच बर्ष बितिसक्यो । तर, पनि यो नदीमा झोलुङ्गे पुल बन्न सकेको छैन । नदी तर्ने क्रममा बर्सेनि स्थानीयको मृत्यु हुन थालेपछि २०७३ को मंसिरमा स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलीडार परियोजनाले पुल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । 

१ सय २० मिटर लम्बाइ भएको यो पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने गरी ठेकेदार कम्पनी हरि निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो  । लामो समयसम्म पनि काम सुरु नभएपछि गत वर्ष स्थानीयले निमार्ण कम्पनीलाई चर्को दबाब दिए । त्यसपछि भने निर्माण कम्पनीले हेलिकोप्टरमार्फत झोलुङ्गे पुल निर्माणको लागि लठ्ठा, फलामे सामान र सिमेन्टलगायत सामग्री निर्माण स्थलमा पुर्‍याएको थियो । 

गत वर्ष साइपाल गाउँपालिकाको इंगलद्वारमा हेलिोकप्टरमार्फत ढुवानी गरिएको पुल निर्माणको सामान

निर्माण सामग्री गत वर्षको भदौमा पुर्‍याइएको थियो । सोही महिना ठेकेदार कम्पनीका प्रमुख प्रकाशजंग शाहले त्यही वर्षको असोजभित्रै काम सम्पन्न गरेर पुल हस्तान्तरण गर्ने आश्वासन थिए । तर, अहिलेसम्म पनि निर्माण कम्पनीले झोलुङ्गे पुल सम्पन्न गर्न सकेको छैन । पुलको एकतर्फको पर्खालको आधा मात्र काम गरेर ठेकेदार सम्पर्कविहीन भएका छन् । 

यहि बाटो भएर साइपाल गाउँपालिकाका बासिन्दा दैनिक कामकाजका लागि ओहोरदोहोर गर्छन् । नदी ठूलो र वारपारका लागि कुनै पनि विकल्प नभएका कारण स्थानीयले जोखिम मोलेर खोला तर्ने वा काठको साँघु प्रयोग गर्ने गरेको साइपाल गाउँपालिकाका स्थानीय दीपक बोहराले बताए । ‘हेलिकोप्टरबाट सामान ढुवानी हुँदा पुल बन्ने भयो भनेर खुसी थियौं । तर, अहिलेसम्म पुल बन्न नसक्दा साँघुकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने । पुल नहुँदा यो खोला तर्ने क्रममा पाँच वर्षमा ७ जनाले ज्यान गुमाइसकेका छन् ।

गत वर्ष केही दिन काम गरेर निमार्ण सामग्री अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएको साइपाल गाँउपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘मैले पुल निमार्णको काम छिटो गर्न बारम्बार अनुरोध गरेको थिए, पहिले त हुन्छ समयमै सक्छु काम भइरहेको छ भन्थे । अहिले त फोन गर्दा पनि उठाउँदैनन्,’ उनले भने, ‘यो नदी तर्ने क्रममा बर्सेनि धेरै स्थानीयले ज्यान गुमाउने गरेका छन् । अब हुने अप्रिय घटनाको जिम्मेवार ठेकेदारले हुनुपर्छ ।’  



बझाङमा यो त प्रतिनिधिमूलक घटना हो । जिल्लाको तलकोट गाउँपालिकाको देवसैनस्थित सेती नदीमा बन्ने पक्की पुलकाे अवस्था पनि उस्तै छ । ​यो पुल निर्माणको लागि २०६८ सालमा ठेक्का सम्झौता भएको थियो । याक्थुहाङ निमार्ण सेवा प्रालिले निर्माणको जिम्मा लिएको सो पुलको काम पनि हालसम्म सुरु हुन सकेको छैन । यद्यपि कम्पनीले प्रत्येक वर्ष ठेक्का निमार्णको अवधि भने नवीकरण गर्दै आएको छ ।

राजनीतिक संरक्षणका कारण ठेकेदारले निमार्ण कार्यमा ढिलाइ गर्ने गरेको स्थानीयको आरोप छ । तमैलमा निमार्ण हुन लागेको पक्की पुल, केदारस्युँ गाउँपालिकाको नारुगौडामा बन्न लागेको पुल निर्माणको अवधि सकिँदा पनि निर्माण हुन सकेका छैनन् । तमैलमा निर्माणाधीन पुलको पनि गएको पुसमा सम्झौता अवधि सकिएको थियो । तर, अहिलेसम्म यो पुलको निर्माण कार्य सकिएको छैन । 



पुन निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने सहमतिमा के एच कन्स्ट्रक्सन प्रालिले ११ करोड २५ लाख रुपैयाँमा ठेक्का पाएको थियो । निमार्ण कार्यको समायावधि सकिँदा पनि पुल निमार्ण कार्य भने सकिएको छैन ।  

जयपृथ्वी राजमार्गको स्तरोन्नतिका लागि सरकारले रणनीतिक सडक पुल निर्माण, सडक पूर्वाधार विकास कार्यक्रम, राजमार्ग स्तरोन्नति तथा पुर्नस्थापना कार्यक्रम र सडक क्षेत्र विकास आयोजनाअन्तर्गतका कार्यक्रमबाट करोडौं रकम खर्च गरेको छ । करोडौं रकम खर्च हुँदा पनि सडकको अवस्था भने परिवर्तन हुन सकेको छैन । 

ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्दा सर्वसाधारणलाई सास्ती हुने गरेको छ । जयपृथ्वी राजमार्गको विभिन्न खण्डमा जागृति निमार्ण सेवा, ग्वाल्लेक निमार्ण सेवा र जलजला निमार्ण सेवाले सडक स्तरोन्नतीको ठेक्का लिएका छन् । जिल्ला जोड्ने मुख्य राजमार्गको रूपमा रहेको उक्त सडकको स्तरउन्नति नहुँदा पटकपटक अवरुद्ध हुने गरेको छ ।

चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माणको अवस्थाले पनि गती लिन सकेको छैन । सदरमुकाम चैनपुरदेखि रूपातोला सडकलाई चौडा बनाउन २०७३ मा ठेक्का सम्झौता भएर काम सुरु गरेको भए पनि निमार्ण कार्यले सोचे अनुरूप गति लिन नसकेको हो ।

सडक निमार्णका लागि दुई खण्डमा काम भइरहेको छ । सदरमुकाम चैनपुरदेखि तलकोट गाउँपालिकाको रूपातोलासम्म १८ किलोमिटरमा लुम्बिनी र राजेन्द्र निर्माण सेवा र रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ३० किलोमिटर सडकखण्डमा स्वच्छन्द नागार्जुन जेभी कम्पनीले काम गरिरहेका छन् ।  

दुई खण्डमा निमार्ण कार्य भइरहे पनि सडकको भौतिक प्रगति भने सन्तोषजनक छैन । २२ करोडको लागतमा निर्माणको जिम्मा पाएको कम्पनीले १८ किलोमिटर सडकलाई ठूला सवारी साधन सञ्चालन गर्न मिल्ने गरी साढे सात मिटर चौडा बनाउने जिम्मेवारी पाएको थियो  । तर, त्यस अनुरूप काम हुन सकेको छैन । ट्रयाक खोल्ने क्रममा कडाखालको चट्टान भेटिएकाले मेसिनले काम गर्न सक्ने अवस्था नभएको र विस्फोटक पदार्थ अभाव भएकाले निमार्ण कार्यमा केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । 

निर्माण कम्पनीको लापरबाही तथा ढिलासुस्तीका कारण यहाँका जनताले वर्षौदेखि सास्ती खेप्दै आएका छन् । ठेकेदारहरूले राजनीतिक पहुँचका कारण म्याद थप गरी निमार्ण कार्य अलपत्र पार्ने गरेका कारण जिल्लाबासीले सास्ती खेप्दै आएका हुन् ।

जिल्लामा भइरहेका निमार्ण कार्यमा ठेकेदार कम्पनीको भूमिका सन्तोषजनक नभएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए । ‘कतिपय अटेरी गर्ने ठेकेदारको भुक्तानी रोक्का गर्न पत्र पठाएको थिए । केही ठेकेदारको भुक्तानी रोकिएको छ,’ उनले भने, ‘देवसैन पुल निमार्णको ठेकेदारले पुलको सामान ढुवानी गरेर रकम भुक्तानी गर्न खोजेको भएपनि तत्कालै पत्र पठाउँदा रोकिएको छ । नारुगौडामा पुल र जयपृथ्वी राजमार्ग स्तरोन्नतीको कामको पनि भुक्तानी रोकिएको छ ।’

प्रजिअ अधिकारीले अगाडि भने, ‘अरूभन्दा पनि समन्वयका लागि कार्यालयहरू टाढा हुँदा समस्या भएको छ । त्यसैमा ठेकेदारहरूको राजनीतिक पहुँचका कारण पनि असहज भएको छ । बर्सेनि ठेक्का नवीकरण गर्दै बस्ने प्रवृतिको कारण यस्तो अवस्था आएको छ, तुरुन्तै काम गर्न भनेको छु ।’   

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ९:२६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया