नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको शुल्क तोकेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिको शुल्क २ हजार १ रुपैयाँ तोकेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले सो कुराको जानकारी गराएका हुन् । ‘प्रतिनिधिहरूको शुल्क तोकिएको छ, २ हजार १ रुपैयाँ तोकिएको छ,’ उनले भने ।
महराले अगाडि भने, ‘केन्द्रीय प्रतिनिधिको बारेमा प्रस्तावको रूपमा कायमै राख्दै अन्य थप केन्द्रीय प्रतिनिधि बनाउनुपर्ने भएको छ । अर्को बैठकमा थप प्रस्ताव गरेर ल्याउने जिम्मा अध्यक्षलाई दिइएको छ ।’
आजको बैठकले सम्मेलनका लागि प्रतिनिधि छान्ने विषयमा छलफल गरेको बताउँदै उनले भने, ‘राष्ट्रिय सम्मेलनमा प्रतिनिधि छान्ने विषयमा हरेक प्रदेशमा ३० जना ल्याउने, बाँकी पार्टी सदस्यता नवीकरणको संख्याको आधारमा कुन प्रदेशले कति गर्यो भन्ने आधारमा गर्ने भनिएको छ ।’
विधान परिमार्जन समिति गठन
त्यस्तै, राष्ट्रिय सम्मेलनलाई ध्यानमा राख्दै माओवादीले विधान परिमार्जनका लागि समिति गठन गरेको छ । महराका अनुसार विधान परिमार्जन समिति ५ सदस्यीय गठन भएको हो । उनले भने, ‘विधानमा केही विषय थप्नुपर्ने केही छ भने ५ जना समिति बनाइएको छ ।’
स्थायी कमिटी सदस्यसमेत रहेका प्रवक्ता महराका अनुसार परिमार्जन गर्ने समितिमा देव गुरुङ, पम्फा भुसाल, जनार्दन शर्मा, लीलामणि पोखरेल र मातृका यादव रहेका छन् । विधान परिमार्जन गर्ने काम २५ गतेसम्म सक्नेगरी अघि बढाइने उनले बताए ।
राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमिति बनाइएको उनले जानकारी दिए । उक्त समिति पार्टी नेता हितमान शाक्यको नेतृत्वमा उपसमिति बनाइएको छ ।
त्यस्तै, प्रचारप्रसार उपसमितिमा कृष्णबहादुर महराको नेतृत्वमा बनाइएको उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।