कांग्रेस सुदूरपश्चिम अधिवेशन : देउवा पक्षकै दुई गुटले प्रदेश नेतृत्व चयनमा सकस

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज ७ वटै प्रदेशका प्रदेश अधिवेशनमा मनोनित गर्ने कार्यतालिका छ । 

पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश समेत रहेको सुदूरपश्चिममा उनकै पक्षक दुई गुटले समितिको टुंगो लाग्न सकेको छैन । कांग्रेस सुदूरपश्चिमका नेताहरू सहमतिको प्रयासमा बिहीबारदेखि छलफलमै रहेको भएपनि टुंगो लाग्न सकेको हो । 

केन्द्रमा कांग्रेसका संस्थापनइतर पक्षेका लडाइ भएपनि सुदूरपश्चिममा देउवानिकट व्यक्तित्वहरू नेताद्वय रमेश लेखक र एनपी साउँदबीच खिचातानी भइरहेको छ ।

कञ्चनपुर र बैतडीमा दुवै नेताबीच पालिका अधिवेशनबाटै तीव्र ध्रुवीकरण भएकोमा प्रदेश अधिवेशनसम्म आइपुग्दा ध्रुवीकरण झन् देखिएको हो । देउवा पक्षका प्रदेश सभापतिमा आकांक्षीहरू धेरै भएपछि डोटीका नेता वीरबहादुर बलायरको पक्षमा सर्वसम्मतिको प्रयास भएपनि त्यो टुंगो लाग्न नसकेको नेताहरूले बताएका छन् । 

सभापित देउवाले सहमतिमा प्रदेश सभापति र अन्य पदाधिकारी सर्वसम्मत गर्न भनेपनि नेताद्वय लेखक र साउँदले आफूनिकट नेता पदाधिकारीमा जसरी पनि ल्याउन खोजेपछि सहमति नजुटेको एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘केन्द्रीय सभापतिको चाहनाअनुसार नेता वीरबहादुर बलायरलाई प्रदेश सभापति बनाउन नेता दिलेन्द्रप्रसाद बडू, रमेश लेखक र एनपी साउँद तयार छन् । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा आफूनिकटका नेता ल्याउन लेखक र साउँदले चाहेपछि सर्वसम्मत पदाधिकारी चयन गर्न समस्या भएको छ ।’ 



कांग्रेस सुदूरपश्चिमका नेताहरू बडू, लेखक, साउँद, बलायर, बद्री पाण्डेलगायतका नेताहरू छलफलमा रहेका छन् । प्रदेशभरका ९ सय ७२ प्रतिनिधि धनगढीमा छन्।

प्रदेश कार्यसमितिमा संस्थापन पक्षले ५५ प्रतिशत र इतर पक्षलाई ४५ प्रतिशत दिन सभापति देउवाले निर्देशन दिएको बताइएको छ । ‘मेरो प्रदेश हो, सर्वसम्मत गर्नुस् । उहाँहरूलाई ४५ प्रतिशत दिँदा फरक पर्दैन,’ देउवाले आफूनिकट नेताहरूलाई भनेका छन् ।



लेखक र साउँदबीच पदाधिकारीमध्ये महामन्त्री कसलाई बनाउने भन्नेमा तीव्र खिचातानी भइरहेको कांग्रेस स्रोतको दाबी छ । लेखकले नरनारायण शाह ‘मनु’ लाई महामन्त्री बनाउन खोजेका छन् भने साउँदले शाहलाई नरुचाएको कारण सहमति हुन सकेको छैन । तर शाह भने सभापतिमै चुनाव लड्ने बताइरहेका छन् ।

शुक्रबार बिहान ८ बजेदेखि उम्मेदवारी दर्ता हुने कार्यतालिका भएपनि नेताहरूबीच सहमति गरिने प्रयास जारी रहेको भन्दै दिउँसो २ देखि ४ बजेसम्म मनोनयन दर्ता, ४ देखि ५ बजेसम्म दाबी विरोध, ५ बजेर २० मिनेटसम्म पहिलो नामावली प्रकाशन गर्ने, साढे ५ देखि साढे ६ सम्म उम्मेदवारी फिर्ता र साढे ७ मा अन्तिम नामावली प्रकाशन गर्ने गरी कार्यतालिकामा संशोधन गरिएको छ । 

प्रदेशमा कैलाली जिल्ला सभापति नरनारायण शाह, पूर्वपरराष्ट्र राज्यमन्त्री तथा बझाङका कांग्रेस नेता अर्जुनजंगबहादुर सिंह, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा डोटीबाट विजयी महाधिवेशन प्रतिनिधि पुष्प शाही, पूर्वसञ्चार राज्यमन्त्री तथा अछामका कांग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले प्रदेश सभापतिमा दाबेदारी पेस गरेका छन् ।

सभापतिका दाबेदार सबै संस्थापन पक्षका हुन् । सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कांग्रेसले कानुनमन्त्री बडूलाई संयोजकको जिम्मेवारी दिएर खटाएको छ । 

यस्तै, रामचन्द्र पौडेल समूहबाट नारायण दत्त मिश्र उम्मेदवार बन्ने तय भएको छ । 

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १२:१५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया