६ प्रदेश सभापतिका लागि १४ कांग्रेस नेता दौडमा

पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निर्वाचन समितिले शुक्रबार ६ वटा प्रदेशमा मनोनयन दर्ता गराएको छ ।

दर्तापछि उम्मेदवारहरूको नामावली प्रकाशन गर्दै दाबी विरोधका लागि समितिले समय दिएको छ । त्यसपछि अन्तिम नामावली शुक्रबार नै सार्वजनिक गर्ने समितिको तयारी छ ।

प्रदेशको पहिलो सभापति बन्न नेताहरूको रस्साकस्सी छ । सभापति बन्न मनोनयन दर्ता गराउनेहरू पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलानिकट नेताहरू छन् ।

प्रदेश १

प्रदेश १ निर्वाचन समिति संयोजक भक्तबहादुर थापाले सभापति पदमा दुई जनाको मनोनयन दर्ता भएको बताए । उनका अनुसार मनोनयन दर्ता गराउनेहरू गुरुप्रसाद घिमिरे र उद्धवप्रसाद थापा हुन् ।

घिमिरे बहालवाला केन्द्रीय सदस्य हुन् । नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष उनी वरिष्ठ नेता पौडेल र नेता शेखर कोइराला (संस्थापनइतर) पक्षबाट सभापति पदमा उम्मेदवार बनेका छन् ।



उनलाई कांग्रेसभित्र बौद्धिक युवा नेताको रूपमा लिइन्छ । यसअघि संस्थापन इतर पक्षबाट प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाको नाम पनि चर्चामा थियो ।

सभापति पदमा मनोनयन दर्ता गराएका थापा झापाका पूर्वसभापति हुन् । उनी कांग्रेसका पूर्वमहामन्त्री सिटौलानिकट छन् । उनलाई कांग्रेसको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा) को समर्थन छ । सिटौलापक्षीय नेताहरू तारामान गुरुङ र सुधीरकुमार शिवाकोटी पनि सभापति पदका उम्मेदवार हुने यसअघि चर्चा थियो । तर, अन्तिममा थापा उम्मेदवार बनेका हुन् ।



प्रदेशमा १३औँ भन्दा पनि १४औँ महाधिवेशनमा संस्थापन पक्ष बलियो भएको छ । १४ जिल्ला भएको प्रदेशमा संस्थापन पक्षले ७ र सिटौला पक्षले एक जिल्ला सभापति जितेका छन् । बाँकी ६ जिल्ला वरिष्ठ नेता पौडेल र कोइराला पक्षले जितेको छ ।

बागमती प्रदेश

प्रदेश १ मा जसरी बागमती प्रदेशमा संस्थापन पक्ष र सिटौला पक्षबीच सहकार्य भएन । जसका कारण संस्थापन पक्षबाट सभापति पदमा इन्द्र बानियाँ उम्मेदवार भएका छन् । बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनी निवर्तमान मकवानपुरका सभापति हुन् ।

सिटौला पक्षबाट भीमसेनदास प्रधानले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । बागमती प्रदेश निर्वाचन समिति संयोजक केशव काफ्लेले प्यानलसहित उनले मनोनयन दर्ता गराएको बताए । उनी पूर्वरक्षामन्त्री हुन् । हाल पार्टी केन्द्रीय सदस्यसमेत छन् । बागमती प्रदेशमा उनलाई प्रभावशाली नेता मानिन्छ ।

बागमतीमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता गगनकुमार थापा पक्षबाट पनि सभापति पदमा मनोनयन दर्ता भएको छ । सभापति पदमा जगदिश्वरनरसिंह केसी उम्मेदवार भएका छन् ​। उनी नुवाकोटका निवर्तमान सभापति हुन् । उनी हालका केन्द्रीय समिति सदस्य पनि हुन् । कांग्रेसका प्रभावशाली मध्येका एक जना नेता अर्जुननरसिंह केसीका भाइ हुन् । 

यो प्रदेशमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । तर, पनि प्रधाननिकट एक नेताका अनुसार संस्थापन पक्षसँग सहकार्य गरेर जाने विषयमा पनि छलफल भइरहेको छ ।

‘मनोनयन दर्ता त भयो तर पनि सहकार्य गरेर जान सकिन्छ कि भनेर नेतृत्व तहमा अहिले पनि छलफल भइरहेको छ । प्रदेश १ मा जसरी सहकार्य गरौँ भन्ने हो । हेरौँ के हुन्छ ?’, ती नेता भन्छन् ।

नेता सिटौला प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश संस्थापन पक्षलाई छाडेर प्रदेश १ र बागमतीमा नेतृत्व लिने पक्षमा छन् । यसमा संस्थापन पक्षसँग सहमति नजुट्दा मनोनयन दुवै पक्षबाट भएको हो ।

गण्डकी प्रदेश

वरिष्ठ नेता पौडेलको गृह प्रदेशसमेत रहेको यो प्रदेशमा अर्जुनप्रसाद जोशी र शुक्रराज शर्मा सभापति पदमा प्रतिस्पर्धी बनेका छन् । उनीहरूले मनोनयन गरिसकेको गण्डकी प्रदेश निर्वाचन समिति संयोजक कृष्ण्बहादुर थापाले फरकधारलाई जानकारी दिए ।

जोशीलाई संस्थापन पक्षको समर्थन छ । उनी हाल केन्द्रीय समिति सदस्य पनि हुन् । उनको प्यानलबाट प्रदेशका २ मन्त्री पनि उम्मेदवार छन् । मन्त्री मेखलाल श्रेष्ठलाई उपसभापति र अर्का मन्त्री कुमार खड्कालाई महामन्त्री पदका उम्मेदवार बनाएका छन् ।

सभापति पदका उम्मेदवार शर्मालाई भने इतर अर्थात् पौडेल पक्षको समर्थन रहेको छ । गण्डकीका कांग्रेसमा प्रभावशाली नेताको छवि उनको छ । यो प्रदेशमा पनि दुवै पक्षबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको छ ।

लुम्बिनी प्रदेश

संघीय संसदको लेखा समिति सभापति हुन् भरत शाह । उनै शाह नेपाली कांग्रेस लुम्बिनीको सभापति पदका उम्मेदवार बनेका छन् । उनलाई संस्थापन पक्षले उम्मेदवार बनाएको हो । उनले आज सभापति पदमा प्यानलसहित मनोनयन दर्ता गराएका छन् ।

उनको प्रतिस्पर्धीका रूपमा रहेका छन् अमर पुन । उनी रोल्पाका नेता हुन् । लुम्बिनी प्रदेशको पहिलो सभापतिको रूपमा संस्थापन पक्षले उनलाई अघि सारेको हो ।

उनी पनि प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् । निर्वाचन समिति संयोजक प्राध्यापक डा. बुद्धिबहादुर थापाले मनोनयन गर्ने उम्मेदवारहरूको नामावली सार्वजनिकसमेत भएको जानकारी दिए ।

कर्णाली प्रदेश

प्रदेश निर्वाचन समिति संयोजक अरुण पौडेलका अनुसार कर्णालीको सभापति पदमा युवा नेता भुपेन्द्रजंग शाहीले मनोयनन दर्ता गराएका छन् । उनको मनोनयन संस्थापनइतर पक्षबाट दर्ता भएको हो ।

उनले केही दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी कांग्रेस रूपान्तरणको प्रस्ताव अघि सारेका थिए । सोहीबेला भए कर्णाली प्रदेशको सभापति नभए केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी रहने घोषणा गरेका थिए । सोहीअनुसार आज उनको सभापति पदमा मनोनयन दर्ता भएको हो ।

संस्थापन पक्षबाट भने सभापति पदमा मनोयन ललितजंग शाहीको मनोनयन दर्ता भएको छ । जुम्लाका नेता उनी २०७० मा संविधानसभा सदस्य थिए । उनी कर्णाली क्षेत्रको लोकप्रिय कांग्रेस नेताको रूपमा चिनिन्छन् ।

संस्थापन पक्षमा पनि उनलाई पार्टीका केन्द्रीय महामन्त्री पूर्णबहादुर खड्का निकट मानिन्छन् । यसअघि देउवाले उनीनिकट जाजरकोटका नेता राजीवविक्रम शाहीलाई सभापति पदको उम्मेदवार बनाउन चाहेका थिए । तर, अन्तिममा खड्कानिकट शाहीलाई उम्मेदवार बनाउन देउवा राजी भए ।

कर्णालीको सभापति पदमा मोतीराज बमको पनि मनोनयन दर्ता भएको छ । यो प्रदेशमा दुवै पक्षले जितको दाबी गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेश

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा (संस्थापन पक्ष) को यो गृह प्रदेश हो । प्रदेश निर्वाचन समितिका संयोजक वीरबहादुर जेठाराले सभापति पदमा वीरबहादुर बलायर उम्मेदवार बनेका बताएका छन् । यो प्रदेशमा संस्थापन पक्ष बलियो छ ।

यस प्रदेशमा संस्थापन इतर पक्षबाट नारायणदत्त मिश्र सभापति पदको उम्मेदवार बनेका छन् । उनले मनोनयन आज दर्ता गरेको निर्वाचन संयोजक जेठाराले बताए । यसअघि प्रदेश सभापतिका लागि सहमतिको प्रयास गरिएको भए पनि सफल हुन सकेन ।

प्रदेश - २

मतदाताहरूको नामावली पनि नभएपछि प्रदेश २ मा आज मनोनयन दर्ता हुन सकेन । यसले निर्वाचन कार्यतालिका प्रभावित भएको छ । त्यहाँका निर्वाचन समिति संयोजक प्रल्हाद गौतमले आजसम्ममा केन्द्रीय निर्वाचन समितिले मतदाताहरूको नामावली उपलब्ध गराउने भनेको बताए । उनले भोलि मात्रै मनोनयन दर्ताको काम हुने बताएका छन् ।

यस्तै, कांग्रेसको प्रचारप्रसार समितिले जनाएअनुसार सर्वाधिक प्रदेश प्रतिनिधि बागमती प्रदेशमा छन् ।

भोलि हुने मतदानमा त्यहाँका दुई हजार १३७ प्रतिनिधि सहभागी हुनेछन् । त्यसपछि प्रदेश १ मा एक जहार ७७० जना, लुम्बिनी प्रदेशमा एक हजार ६४२ जना, गण्डकी प्रदेशमा एक हजार १५३ जना, सुदूरपश्चिम प्रदेशमा एक हजार १६ जना र कर्णाली प्रदेशमा ७४९ जना प्रतिनिधि छन् ।

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १७:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया