एमाले केन्द्रीय कमिटीमा ठाकुर गैरेको ह्याट्रिक

चितवनमा गत साता मात्र सकिएको नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्, ठाकुर गैरे । विद्यार्थी राजनीतिबाट आएका र युवा नेताहरुमा आशालाग्दा नेताहरुको नाम लिँदा नछुट्ने गैरे नेकपा एमालेको केन्द्रीय कमिटीमा लगातार तीन पटक छानिएका छन् ।

लगातार तेस्रो पटक जित्नुमात्र यो महाधिवेशनपछि गैरेले पाएको सफलता होइन । यो महाधिवेशनमा गैरेले सबैभन्दा धेरै मत ल्याउनेमा दोस्रो नम्बरमा आफ्नो नाम दर्ज गरेका छन् ।
उनले महाधिवेशनमा १८३२ मत ल्याएका थिए । पहिलो हुने देवी ज्ञवालीले १८७७ मत ल्याएर केन्द्रीय सदस्यमा एक नम्बरमा आफ्नो नाम दर्ज गरेका थिए ।

त्यसो त गैरे केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याउने टप टेनमा परेको यो पहिलो पटक होइन । उनले नवौं महाधिवेशनमा पनि आफूलाई केन्द्रीय सदस्यका लागि अब्बल सावित गरेका थिए । नवौं महाधिवेशनमा केन्द्रीय सदस्यहरुमध्ये गैरेले छैटौं सबैभन्दा बढी मत ल्याएका थिए । 

त्यसअघि एमालेको आठौं महाधिवेशन गैरेका लागि अझ विशेष थियो । दुई खेमामा बाँडिएको नेकपा एमालेको आठौं महाधिवेशनमा गैरे कुनै पनि प्यानलमा परेका थिएनन् ।  तर, उनले प्यानलविहिन उम्मेदवारी दिए । कुनै पनि प्यानलको समर्थन नभए पनि उनले आफूलाई अब्बल सावित गरे, केन्द्रीय सदस्यमा निर्वाचित भए । 

नवौं महाधिवेशनमा पनि गैरेका लागि चुनौतिपूर्ण थियो । एमाले यतिबेला दुई धारमा विभाजित थियो । त्यति बेला माधवकुमार नेपाल समूहमा लागेका गैरेले अध्यक्षमा केपी शर्मा ओलीले जित्दा पनि केन्द्रीय सदस्यमा पपुलर मत ल्याएका थिए । उनी केन्द्रीय सदस्यहरुमध्ये छैटौं सबैभन्दा धेरै मत ल्याउने नेतामा दर्ज भएका थिए ।

यी दुवै महाधिवेशनअघि गैरे विद्यार्थी राजनीतिमा सक्रिय थिए ।  अखिलको केन्द्रीय अध्यक्ष भएका ठाकुरले त्यसमा पनि आफ्नो नाममा ‘रेकर्ड’ दर्ज गरेका छन् । अखिलको चितवनमा भएको अधिवेशनमा ठाकुर गैरे अध्यक्ष निर्वाचित भएका थिए । यो नै अखिलले आफ्नो नेतृत्व पहिलो पटक निर्वाचनको माध्यमबाट छानेको थियो ।



त्यही चितवनमा पार्टीको दसौं अधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार भएका गैरे सबैभन्दा धेरै मत ल्याउनेमा दोस्रो नम्बरमा परेका हुन् ।

लगातार तेस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका गैरेलाई यसपटकको महाधिवेशन पनि चुनौतिपूर्ण थियो । अध्यक्ष केपी शर्मा ओलीको बर्चश्व रहेको महाधिवेशनमा ‘दश बुँदे पक्षधर’ गैरेले सबैभन्दा बढी मत ल्याएकाले नै उनलाई यसपटक पार्टी केन्द्रीय कमिटीले स्थायी कमिटी सदस्यमा चुन्ने सम्भावना बढेको उनीनिकट नेता बताउँछन् ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ६:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया