नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा.अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बनेकी छन् ।
मुस्लिम महिलातर्फकाे कोटाबाट उम्मेदवार बनेकी उनी शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहेकी थिइन् । शनिबार पनि उनले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहेकी छन् ।
कांग्रेसको १३औं महाधिवेशनबाट क्रियाशिल सदस्यता लिएको उनले बताइन् । ‘मैले १८ वर्षको उमेरमा कांग्रेसको क्रियाशील सदस्यता लिएकी हुँ । अहिले २४ वर्षकी भएँ । प्रदेश सदस्य भएर जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने लागेको छ’, डा. अलविराले भनिन् ।
बाबु अंकित मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उनको भनाइ छ । अंकित ३० वर्षदेखि कांग्रस क्रियाशील सदस्य छन् । पूर्वक्षेत्रीय सभापति रहेका अंकित अहिले महाधिवेशन प्रतिनिधि छन् ।
चिकित्सक पेशा अंगालेकी हुनाले आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उनले बताइन् । उनी संस्थापनइतर समूहको प्यानलबाट प्रदेश सदस्यमा उम्मेदवार बनेकी हुन् ।
मुस्लिम समुदायका महिला राजनीतिमा आउन नसकिरहेको अवस्थामा उनले अहिले भने अवस्था फरक रहेको बताइन् । ‘विगतमा मुस्लिम समुदायमा राजनीतिमा लाग्न हुँदैन भन्ने भावना थियो, घरबाट निस्किन पाइँदैन थियो, तर अहिले अवस्था फेरिएको छ, मैले राजनीतिमा लाग्दा परिवारका सबै सदस्यको पूर्ण साथ पाएकी छु,’ उनले भनिन् ।
कपिलवस्तु-३ को प्रदेश सभा (ख) बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी हुन् । आफूलाई जिताउन परिवारका सबै सदस्य प्रचारमा लागेको उनी बताउँछिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।