कांग्रेस महाधिवेशन : संस्थापनइतरमा गुटैगुट हुँदा घिमिरेलाई भारी, थापालाई सहज

नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि झापाका उद्धव थापा र मोरङका गुरुराज घिमिरे प्रतिस्पर्धामा छन् । 

नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष र कांग्रेसकै केन्द्रीय सदस्य भएर घिमिरे प्रदेशमा झरेका हुन् । थापाले दुई कार्यकाल झापा कांग्रेसको नेतृत्व गरिसकेका छन् । उनीहरूबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । 

सभापति छान्न शनिबार एक हजार ७७० जना प्रतिनिधिले मतदान गर्दै छन् । थापा ‘सिटौला-देउवा’ पक्षबाट प्यानलसहित र घिमिरे ‘कोइराला-पौडेल-सिंह’ समूहबाट चुनावी मैदानमा होमिएका छन् । 

दुवैले कांग्रेसलाई बलियो बनाउन र गुटको अन्त्य गर्न प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गरेको दाबी गरेका छन् । 

मनोनयन दर्तापछि सभापतिका उम्मेदवार घिमिरेले कांग्रेसको केन्द्रमा काम गरेको र प्रदेशको पनि अनुभव भएकोले प्रदेश १ मा कांग्रेसलाई गति दिन सभापतिको उम्मेदवार बनेको प्रतिक्रिया दिएका छन् । 

सभापतिका अर्का उम्मेदवार थापाले कांग्रेसलाई बलियो बनाउन उम्मेदवारी दिएको बताए । दुवै उम्मेदवारको एउटा भनाइ भने मिलेको छ । त्यो हो- ‘कांग्रेसमा देखिएको गुटगत राजनीति अन्त्य गर्न लाग्ने ।’ तर, उनीहरूलाई गुटैगुटले सभापति बनाउने छ । 



थापा बलियो

प्रदेश १ का १४ जिल्लाको अधिवेशन सकिँदा संस्थापन पक्ष बलियो देखिन्छ । १४ मध्ये सात जिल्लामा संंस्थापनपक्ष अर्थात् देउवापक्षका उम्मेदवारहरू सभापति निर्वाचित भएका छन् । एक सभापति भने सिटौला निकटका छन् ।  



६ जिल्लामा भने संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह पक्ष) निकट उम्मेदवारले सभापति जितेका छन् । उनीहरू एक ठाउँमा हुन्छन् कि हुँदैनन् ? निश्चित छैन ।

यस्तो अवस्था रहँदा कांग्रेस नेताहरू भन्छन्, ‘इतर समूहका उपसमूहहरू एक ठाउँमा नभएको अवस्थामा सभापतिका उम्मेदवार घिमिरेको पक्षमा कुन-कुन समूहले मतदान गर्ने हुन् ? अनुमान गर्न कठिनाइ हुने हुन्छ ।’  

संस्थापनइतरका एक नेताका अनुसार एक ठाउँमा आए पनि सर्कुलर प्रतिनिधिसम्म पुर्‍याउन समस्या हुनेछ । जसका कारण इतर समूह अहिले पनि अन्यौलमा छ । संस्थापनपक्षको भने थापालाई नै मत जाने देखिन्छ । त्यसमाथि प्रदेश १ मा राम्रो प्रभाव भएको सिटौला समूहमा संस्थापन पक्ष पनि मिल्दा थापा थप बलियो देखिएका छन् । तर, बढी  प्रतिनिधि भएको सुनसरी र मोरङमा भने संस्थापनपक्ष कमजोर छ । यो नै इतर समूहका उम्मेदवार घिमिरेको चुनाव जित्ने आधार हुन सक्छ । 

यो बाहेक प्रतिनिधिको रूपमा विद्यार्थी संघको राजनीति गरेकाहरू धेरै प्रतिनिधि बनेर आएकाले उनीहरूले घिमिरेलाई मतदान गर्न सक्ने ठानिन्छ । यद्यपि, गुटका अगाडि सम्बन्ध र नेता गौण देखिएको प्रदेश अधिवेशनमा सम्बन्धले नै फाइदा पुग्ला भन्न सकिने अवस्था भने छैन । 

झापालीले के गर्लान् ?

झापा कांग्रेसमा विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौला पक्ष प्रतिस्पर्धी हुन् । त्यही भएर सभापति पदका उम्मेदवार थापाका लागि शर्मा भारी हुन सक्छन् । 

फेरि, थापा ती नेता हुन्, जसले शर्मालाई १२ औं महाधिवेशनमा झापा सभापति पदमा हराए । जिल्लामा आफूभन्दा थापा बलियो भएपछि शर्मा केन्द्रीय राजनीतिमा लागेको झापाका सिटौलापक्षीय कांग्रेसका नेताहरू बताउँछन् । 

केही दिनअघि भएको जिल्ला अधिवेशनमा पनि उनीहरू फरक गुटमा थिए । थापाले सिटौला गुटबाट उम्मेदवार बनेका देउमान थेबेलाई सघाए भने शर्माका आफ्नै उम्मेदवार राम कट्टेल थिए । थेबेले कट्टेललाई हराँउदा शर्माको हार र सिटौलाको जितको रूपमा हेरिएको थियो । 

यो तुस नमेटिएकाले प्रदेशमा सिटौला समूहका उम्मेदवार थापालाई देउवा समूहको साथ रहे पनि शर्मा समूहले मतदान गर्छ कि गर्दैन ? हेर्न बाँकी छ । तर, लामो समय झापा कांग्रेसकै नेतृत्व गरेकाले थापाले नेता मिलाउन नसके पनि प्रतिनिधि मिलाउन सक्ने अनुमान कतिपयको छ । 

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ९:१६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया