सर्जिकल रजोनिवृत्ति : अप्रेशनपछि महिनावारी बन्द भएका महिलाहरूको कथा

महिलाको महिनावारीबारे चर्चा परिचर्चा भइरहन्छ । त्यसबारे अधिकांश मानिस जानकार पनि हुन्छन् । तर, महिनावारी सुक्ने अर्थात रजोनिवृत्तिबारे भने थोरै मानिस जानकार हुन्छन् । सामान्यतया ५१ वर्षको उमेर हुँदा महिलाको महिनावारी सुक्ने गर्छ । जुन प्राकृतिक कुरा हो । तर, कोही व्यक्तिको भने सानै उमेरमा पनि महिनावारी सुक्न सक्छ । अप्रेशन गरेर महिलाको पाठेघर निकालिएका महिलाहरूको भने तत्कालैबाट महिनावारी बन्द हुन्छ । जसलाई हामी सर्जिकल रजोनिवृत्ति भन्छौँ । 

महिलाको महिनावारी सुकेपछि मानसिक तथा शारीरिक समस्या देखा पर्छन् । सर्जिकल रजोनिवृत्तिबारे जानकारी दिने उद्देश्यले बेलायतकी लेखिका हेलेन केम्पेले किताब नै लेखेकी छिन् । सर्जिकल रजोनिवृत्ति गरिएका १२ जना महिलाको कथालाई समेटेर तयार पारिएको उक्त पुस्तकलाई मदन पुरस्कार विजेता तथा मर्यादित महिनावारीकी अभियान्ता राधा पौडेलले नेपालीमा अनुवाद गरेकी छिन् । 

'महिनावारीका बारेमा चर्चा भयो, कुरा भइरहन्छ । तर, रजोनिवृत्तिका बारेमा भने कसैले पनि कुरा गर्दैनन् । यसो हेरेको यो त हामीलाई चाहिन्छ भनेर मैले नेपाली अुवाद गरेकी हुँ' राधाले भनिन् । 

यो वर्ष ८ डिसेम्बरमा मर्यादित महिनावारी दिवस मनाइँदैछ । यसपालिको अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको नारा 'मर्यादित रजनोवृत्ति, हाम्रो मानवअधिकार' रहेको छ । राधाले त्यसको पूर्वसन्ध्यामा उक्त पुस्तक बजारमा ल्याउँन लागेकी हुन् ।

यो पुस्तकमा २६ वर्षमै उमेरमा अप्रेशन गरेपछि महिनावारी सुकेकी युवतीको कथा पनि छ । यसमा कोही पाठेघरमासँगै ब्रेस्टमा पनि क्यान्सर भएर अप्रेशन गरेपछि महिनावारी सुकेकी महिलाको कथा पनि छ । यो पुस्तकमा यस्तै खालका महिलाहरूको आत्मकथा समेटिएको राधाले बताइन् । 

नेपालमा पनि महिनावारीका विषयमा कुरा हुने गरेपछि महिनावारी सुक्ने प्रक्रियाबारेमा भने कुरा नहुने उनको भनाइ छ । महिनावारी सुक्दा महिलाहरूमा विभिन्न खालका समस्या हुन्छन् । जुन समस्याका बारेमा न स्वयम महिला सचेत हुन्छिन्, न त समाज, घर परिवारले जानकारी राख्छ । जसले गर्दा महिलाहरूलाई शारीरिरकसँगै मानसिक पीडा समेत हुने गरेको छ । 



'महिनावारी सुक्दा शरीरमा थुप्रै खालको असर गर्छ । यस्तो अवस्थामा गर्मी हुने, चिटचटाहट हुने, मुडअफ हुने, मुटु ढुकढुक गर्ने जस्ता समस्या हुन्छ,' राधाले भनिन्, 'महिनावारीको कारणले मुटु र हड्डी र दिमाग एकदम बलियो बनाइरहेको हुन्छ । महिनावारी सुक्न थालेपछि तिनटै कुरा जान्छ । हड्डी कमजोर हुन्छ, हृदयघात हुने, दिमागले कम काम गर्ने समस्या हुन्छ ।'



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १६:१४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया