लोकतान्त्रिक दल कांग्रेसको हिंसात्मक महाधिवेशन

आफूलाई लोकतान्त्रिक दलका रूपमा चिनाउन रुचाउने नेपाली कांग्रेसको १४ औँ महाधिवेशन पूर्व तल्ला तहमा भएका अधिवेशनमा हिंसात्मक घटना थुप्रै भएका छन् ।  हुन त कांग्रेसीजनहरू सकेसम्म सर्वसम्मत नभए निर्वाचन प्रक्रियामा जानुलाई लोकतान्त्रिक मूल्य र मान्यताको रूपमा लिन्छन् । ठीक उल्टो यसपटकको अधिवेशन भने बल प्रयोग गरेरै भए पनि निर्वाचन जित्ने पक्षमा देखिएको छ । 

एकले अर्को पक्षकालाई कुटपिट गर्ने, निर्वाचन अधिकृत नै कुट्नेदेखि गोलीसम्म चलाउनेसम्मका घटना भइरहेका छन् । आफूलाई लोकतन्त्रको हिमायती भन्न रुचाउने कांग्रेसभित्रको आपसी द्वन्द्वले असल कांग्रेसी कार्यकर्ताको पनि बदनाम भएको छ । 

महाधिवेशनको प्रारम्भिक चरण मानिने क्रियाशील सदस्यताको वितरण र नवीकरणको समयदेखि नै कांग्रेसमा स्पष्ट रूपमा दुई लाइन संघर्ष देखिएको हो । जुन अस्वस्थ प्रतिस्पर्धाका कारण कतिपय इमानदार कांग्रेसी कार्यकर्ता पनि क्रियाशील सदस्यताबाटै वञ्चित भए । पार्टीमा कुनै योगदान नै नभएका कतिपय नेताका खल्तीका मान्छेले पनि कांग्रेसको क्रियाशील सदस्यता पाए । एक पक्षले अर्को पक्षलाई छेक्ने र कमजोर बनाउनेसम्मको गतिविधि भयो । 

१ साउनबाट सुरु भएको कुटपिटदेखि गोली प्रहारलगायतका हिंसात्मक गतिविधिले कांग्रेस अधिवेशनमा निरन्तरता पाइरहेको छ । पछिल्लोपटक बिहीबार मात्रै पनि त्यस्तै घटना भयो । 

कांग्रेस निर्धारित समयभन्दा करिब दुई वर्षपछि महाधिवेशन गर्दै छ । यसरी ढिला गरी भएको अधिवेशनबाट आपराधिक गतिविधि गरेरै भए पनि पार्टीको सत्तामा पुग्न कांग्रेस नेता कार्यकर्ताहरू इच्छुक रहेको घटनाहरूले पुष्टि गर्छ ।   

घटना १



१ साउनमा क्रियाशील सदस्यतालाई लिएर भएको विवादको क्रममा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरे कुटिए । उनी केन्द्रीय सदस्य मोहन बस्नेतका भाइ बालकृष्ण बस्नेतबाट कुटिएका हुन् । राप्रपादेखि आएका १२ जनालाई क्रियाशील सदस्यता दिएको विषयमा विवाद भएको थियो । 

घटना २



२३ भदौमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता सार्वजनिक नहुँदा उत्पन्न विवादका कारण कार्यकर्ताहरूबीच पार्टी कार्यालयमै कुटाकुट भयो ।

जतिबेला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बम निर्वाचन तोकिएकै समयमा गर्नुपर्नेमा पक्षमा थिए भने सभापति कर्ण मल्ल स्थगन गर्नुपर्ने पक्षमा थिए । मल्ल पौडेल पक्षीय हुन् । 

घटना ३ 

३ मंसिरमा सर्लाहीमा निर्वाचन अधिकृत दिवाकरराज पाण्डे निर्घात कुटिए । पाण्डेलाई टाउको, काँध र पिठ्युँमा चोट लाग्यो । वडा तहको अधिवेशनका लागि मतदान अधिकृत खटाउने विषयमा देउवा पक्षका जिल्ला सभापति नागेन्द्रकुमार राय र पौडेल पक्षका पूर्वसभापति लक्ष्मण रायबीच विवाद हुँदा पाण्डे कुटिए । उनले भने २८ कात्तिकमा विवाद मिलाउन छानबिन समिति गठन गरेका थिए । 

घटना ४
३ मंसिरमै कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कोहलपुर नगरपालिकाको मतदानस्थलमा उम्मेदवारले पैसा दिएको विषयलाई लिएर भएको विवादपछि कुटाकुट भयो । कुटाकुट गर्ने पौडेलपक्षीय सभापति पदका उम्मेदवार वीरेन्द्र साह र देउवा पक्षबाट सभापति पदका उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठ निकट तरुण दलका नेता हरिसिंह कठायतबीच कुटाकुट भएको हो । 

साहले मतदातालाई मतदानस्थलमै गोजीदेखि एक हजार रुपैयाँ निकालेर दिएपछि कठायतले विरोध गरेका थिए । सो क्रममा साहले कठायतलाई लाठीले हिर्काएका थिए । कठायतले पनि साहमाथि मुक्का प्रहार गरेका थिए ।

घटना ५

७ मंसिरमा क्षेत्रीय अधिवेशनअन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ को बाल मन्दिरमा मतगणना भइरहँदा कांग्रेस कार्यकर्ताबीच झडप भयो । झडपमा रामचन्द्र पौडेलपक्षीय नेता दीर्घबहादुर केसी गम्भीर घाइते भए । क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तसहित अन्य चारजना पनि घाइते भए । गम्भीर घाइते भएका केसी भने उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए । 

पौडेल पक्षका उम्मेदवारले अग्रता लिएपछि सभापति शेरबहादुर देउवापक्षीय कार्यकर्ताले आक्रमण गरेको बताइन्छ । रुपन्देही गृहमन्त्री बालकृष्ण खाणको जिल्ला पनि हो । उनी देउवानिकट छन् ।

घटना ६ 

७ मंसिरमै ओखलढुंगामा पनि मतपत्रलाई लिएर भएको विवादपछि तत्कालीन सभापति प्रदीप सुनुवारले तरुण दलका जिल्ला उपाध्यक्ष उत्तम थापालाई हातपात गरे । 

घटना ७ 
१० मंसिरमा दार्चुलामा सभापति पदका उम्मेदवारहरू ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबीच मतगणनास्थलमै झडप भयो । झडपमा धामी पक्षका राजेन्द्र विष्ट, सुरेश विष्ट, वसन्तबहादुर साउदलगायत घाइते भए । उनीहरू सबै शैल्यशिखर नगरपालिकाका हुन् । सभापति पदका उम्मेवदार बोहोरा पक्षका कार्यकर्ताले धामी पक्षकालाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको थियो । 

घटना ८ 

१२ मंसिरमा सर्लाहीको सोही क्षेत्रमा अधिवेशन भइरहँदा गोली चल्यो । प्रदेश २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमामाथि हातपात भएपछि उनका अंगरक्षक रामचन्द्र खंगले गोली चलाएका थिए ।
 
यहाँ प्रदेशका खेलकुदमन्त्री सिंह र संघीय सांसद अमरेश सिंह पक्षबीच वर्षौंदेखि मतभेद हुँदै आएको छ । ४ असोजमा पार्टी केन्द्रीय कार्यालय सानेपामा पनि क्रियाशील सदस्यतालाई लिएर प्रदेश मन्त्री सिंह र सांसद अमरेश सिंह पक्षका सर्लाही बरहथवा ४ का अध्यक्ष लखिन्द्र महतोबीच विवाद हुँदा उनीहरू अश्लील गालीलगौजमा उत्रिएका थिए ।

घटना ९ 
१३ मंसिरमा सर्लाहीको निर्वाचन क्षेत्र ४ बलरा नगरपालिका ८ को जनता मावि फूलपरासीका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भयो । आक्रमण रोक्न खोज्दा थप ५ जना घाइते पनि भए । 

त्यहाँका सभापति नागेन्द्र रायका अनुसार सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेश सिंह पक्षधरले मतदान अधिकृतलाई हातपात गर्न लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा झडप भएको बताएका छन् । 

घटना १० 
यही १६ मंसिर (बिहीबार) प्रदेश २ को महोत्तरीमा कांग्रेस केन्द्रीय उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच महोत्तरी ३ को अधिवेशनमा झडप भयो । झडपमा सभापति पदका आकांक्षी रामसरोज यादव घाइते भए ।

त्यहाँ पौडेलनिकट केन्द्रीय सदस्य रामचन्द्र तिवारीले टोले गुण्डा प्रयोग गरेर झडप गराएको निधि पक्षको आरोप छ । यससँगै तिवारीले फर्जी मतदाता बनाएको पनि आरोप निधि पक्षको छ । 

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २०:५७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया