कांग्रेस महाधिवेशन : लुम्बिनी प्रदेशमा सकियो मतदान, ३९ मतदाता अनुपस्थित

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनअन्तर्गत मतदान सकिएको छ । कूल एक हजार ६८० मतदाता मध्ये एक हजार ६३१ जनाले मतदान गर्दा ३९ जना अनुपस्थित रहे ।

लुम्बिनी प्रदेशको सभापतिका लागि संस्थापन समूहबाट सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरतकुमार शाह र संस्थापन इतरबाट कांग्रेस रोल्पाका पूर्व सभापति अमरसिंह पुन प्रतिस्पर्धामा छन् । दुवै समूह प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

बिहान साढे ८ बजे मतदानको समय तय भएको भए पनि सहमतिको प्रयासले केही समय विलम्ब भएपछि ११ बजेदेखि मात्र मतदान सुरु भएको थियो । भैरहवाको महेन्द्रसभा गृहमा भएको मतदान साँझ साढे ५ बजे मात्रै सकिएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले पहिलो मतदान गरी मतदानको शुभारम्भ गरेका थिए । उनले शनिबार बिहान पनि दुई पक्षबीच सहमति जुटाउन गरेको प्रयास सार्थक नभएपछि मतदानको कार्यक्रम अघि बढेको थियो । सहमतिका लागि कांग्रेस नेताहरू भन्द्र भण्डारीलगायतले पनि प्रयास गरेका थिए ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा नौ जिल्ला सभापतिले अमरसिंह पुनलाई समर्थन गरेका छन् भने दुई जिल्लाका सभापतिले शाहलाई समर्थन गरेका छन् । बाँके जिल्लामा भने अधिवेशन भएको छैन । अब केही बेरमा मतगणना हुने र आइतबारसम्म परिणाम आइसक्ने निर्वाचन समिति संयोजक थापाले बताए ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १८:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया