रामजानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गर्न पहल गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । 

श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरका रूपमा रहेको रामजानकी मन्दिरलाई जतिसक्दो छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आफूले भरपूर कोसिस गर्ने बताएका हुन् ।

विश्वभरका हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल भइरहे पनि त्यसले मूर्तरूप लिनसकेको छैन । मैथिल सभ्यताका अगुवाहरूले जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल गर्दै आइरहेका छन् ।

रामजानकी मन्दिरमा भगवान् श्रीरामको जन्मका अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सवलगायत विविध सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । यही मंसिर २२ गते विवाहपञ्चमी परेको छ । तीन वर्षअगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह पञ्चमीका दिन जानकी मन्दिरको पूजाअर्चना गरेका थिए ।​

द्वापार युगमा अयोध्याका राजकुमार श्रीराम र मिथिलाका राजा जनककी सुपुत्री जानकीको विवाह भएको दिनलाई विवाह पञ्चमीका रूपमा धुमधामका साथ मनाइन्छ । विवाह पञ्चमीका दिन जनकपुरधाममा विशेष मेला लाग्ने गर्छ । विवाह पञ्चमीका दिन भारतबाट लाखौँ भक्तजन जनकपुरको जानकी मन्दिर दर्शनका लागि आउने गरेका छन् ।

मन्त्री आलेले हजारौँ वर्ष पुरानो मिथिला सभ्यता कला, सङ्गीत, भाषा, बेषभूषाका रूपमा निकै धनी रहेको उल्लेख गर्दै रामजानकी मन्दिरको संरक्षण र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘रामजानकी मन्दिरको सौन्दर्यकरण, संरक्षण र विकास निर्माणमा संस्कृति मन्त्रालयको पूर्ण सहयोग रहन्छ,’ उनले भने ।



सो अवसरमा मन्त्री आलेले मिथिला संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा समाजका पदाधिकारीले प्रदेश नं २ का पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरेका थिए ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २१:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया