कमल थापाको पूर्वराजाप्रति आक्रोश : २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएका कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाएका छन् । शाहको भूमिकाप्रति थापाले भर्त्सना पनि गरे ।

शाहलाई लक्षित गर्दै उनले भनेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगाे हस्तक्षेपको भर्त्सना गर्दछु ।’

पार्टीका युवा नेता राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा आइतबार बिहान पराजय बेहोरेपछि थापाको यो प्रतिक्रिया आएको हो ।

यद्यपि, असन्तुष्टि जनाए पनि थापाले पूर्वराजा ज्ञानेन्द्रलाई बधाई र धन्यवाद ज्ञापन गरेका छन् ।   लिङ्देनकाे जित ज्ञानेन्द्रको पनि हाे भन्ने सन्दर्भमा उनले यस्ताे भनेका हुन् । 

थापाले पराजयपछि राहत र उन्मुक्ति पाएको बताए । उनले राजसंस्थाको एजेण्डा बोक्दाको पुरस्कार राजाबाट पाइएको बताउँदै घुमाउराे शैलीमा राजाकाे भलाे हाेस् भन्ने कामना गरेका छन्। 

‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।



महाधिवेशन हुनुअघि नै राप्रपा अध्यक्षका लागि पूर्वराजा ज्ञानेन्द्रको ‘ग्रिन सिग्नल’ लिङ्देनले पाएको समाचार सञ्चारमाध्यमहरूमा आएको थियो । तर, ती समाचारहरूको खण्डन भने भएको थियो। । 

यद्यपि, पूर्वराजा र थापाबीचको सम्बन्धमा २०७० पछि दरार पैदा भएको थियो । थापाले राजसंस्था एजेण्डाको संवाहक भने पनि शाहले विश्वास गर्न छाडेका थिए । 



थापाले हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको बनावटी ढंगले उठाएको, भित्रभित्रै राजसंस्थाविरुद्ध षड्यन्त्र गरेको, हिन्दूवादी र राजसंस्थाप्रति आस्था राख्नेको पार्टी पटकपटक फुटाएर सत्तामा गएको भन्दै राजा असन्तुष्ट थिए ।

हुन पनि थापा पटकपटक सत्तामा जाँदा पार्टी फुट्याे । फरक मतसहित असहमति जनाएको संविधान र सोही संविधानअनुसार गठित सरकारको उनी पछिल्लोपटक उपप्रधानसहित स्थानीय विकासमन्त्री भएका थिए ।

उनले मन्त्री भएकै बेला बागमती प्रदेशको राजधानी गृहजिल्ला मकवानपुरको हेटौंडालाई बनाएका थिए । स्थानीय तहको नामाकंनदेखि सीमांकन पनि उनकै पालामा भएको हो ।
 
विरोधाभाष हुने राजनीतिक चरित्र देखाएको भन्दै पूर्वराजा यसप्रति पनि असन्तुष्ट रहेको बताइन्छ । 

राणाले अस्वीकार गरेको काँचा नेतृत्व 

विजय निवासबाट शनिबार अपराह्न एउटा चिर्कटो बाहिरियो । जुन चिर्कटो राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाको हो । 

त्यहाँ उनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गर्ने पक्षमा नरहेको भनेका थिए । 

राणाले लेखेका थिए, ‘कुनै कूतत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ । यो सरासर झुट कुरा हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु ।’

राणाले काँचा नेतृत्व भनेर अस्वीकार गरे पनि अन्ततः राप्रपाका प्रतिनिधिहरूले तिनै काँचा भनिएका नेता लिङ्देन अध्यक्षमा निर्वाचित भएर छाडे । उनका पनि अध्यक्ष लिङ्देन भएका छन्। 
 
लिङ्देनलाई राप्रपाका निवर्तमान अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले खुलेरै समर्थन गरेका थिए । संस्थापकमध्येका एक ज्येष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पनि लिङ्देनलाई समर्थन थियो । 

अधिकांश युवा नेताहरूसहितको प्यानल बनाएर निर्वाचनमा गएका लिङ्देन अन्ततः राप्रपाको संस्थापक अध्यक्ष थापालाई २०० बढी मतले पराजित गर्न सफल भए ।

कमल थापाको विकल्प खोज्ने ती लावती 

पञ्चायतकालदेखिको राजनीतिक हस्ती थिए, तत्कालीन पूर्वगृहमन्त्री तथा सहअध्यक्ष पदमसुन्दर लावती । उनी स्वर्गवासी भइसके । उनै लावती जसले थापाको राप्रपामा विकल्प खोजेका थिए । थापाको नेतृत्वमा राप्रपाले संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र प्राप्त गर्न सक्दैनन् भन्ने उनको निष्कर्ष थियो ।

तर, २०७१ मा भएको महाधिवेशनमा थापासँग लावती नराम्ररी पराजित भए । जतिबेला थापाले एक जहार ५४२ मत  र लावतीले १६८ मत पाएका थिए । लावतीले ‘राप्रपा सुदृढीकरण अभियान’ नै चलाए ।
 
पाँचथरबाट २५ वर्ष जनप्रतिनिधि भएका लावती पटकपटक मन्त्री भएका थिए । उनै लावतीले कमल थापासँग जीवनको अन्तिम अवस्थामा पार्टीको आन्तरिक राजनीतिमा प्रतिस्पर्धा गरे । तर, लावतीकै गृहजिल्ला पाँचथर घर भई झापामा बसोबास गर्दै आएका लिङदेनले थापालाई पराजित गरे । 
 

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ८:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया