पहिले कृष्ण सिटौलालाई र अहिले कमल थापालाई हराउने लिङ्देन को हुन्?

२०४७ मा पञ्चायतको अन्त्य भएपछि पूर्वपञ्चहरू मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरे । यो पार्टीको संस्थापकमध्येका एक जना हुन् कमल थापा । 

उनै थापा आज पार्टी अध्यक्ष पदमा पराजित भए । पराजित गर्ने नेता हुन्, राजेन्द्र लिङ्देन । ५६ वर्षीय लिङ्देनले एक हजार ८४४ मत पाउँदा थापाले एक हजार ६१७ मत पाए ।

२२७ मतले पराजित गर्ने लिङ्देन थापाकै प्यानलबाट अघिल्लो महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका थिए । आइतबार भने आफ्नै टिमका अध्यक्ष भएका थापालाई अध्यक्ष पदमै पराजित गरिदिए । 

केही दिनअघि मात्रै लिङ्दनेलाई थापाले चुनौती दिएका थिए, ‘टुँडिखेलमा गएर दौडौँ, मलाई जित्नुभयो भने म अध्यक्ष पद छोड्न तयार छु ।’

तर, चुनावी दौडमा पराजित भइछाडे । अध्यक्षको पद गुम्यो । शक्तिमा सँधै रहिरहन चाहने थापा शक्तिहीन भएका छन् ।

को हुन् लिङ्देन?



२२ भदाै २०२२ मा पाँचथरको अमरपुरमा जन्मिएका लिङ्देनले राजनीतिक यात्रा २०३६ सालदेखि सुरु गरेका हुन् । उनको राजनीतिक आबद्धता विद्यार्थी संगठनबाट भएको थियो । आबद्ध भएको संगठन हो– राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल । जतिबेला राजाले भर्खरै जनमत संग्रह गरेका थिए । जनमतको परिणाम पञ्चायत पक्षमा आएको थियो । 

उनको राजनीतिक थलो झापा बन्यो । र, २०४७ मा उनी राप्रपाको झापा जिल्ला सचिव बन्न पुगे । दुई वर्षपछि २०४९ मा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बन्यो । त्यसको उनी संस्थापक अध्यक्ष भए । यसपछि राप्रपामै रहेर राजनीति गरेका उनी २०६६ मा पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 



त्यसपछि उनी महामन्त्री पदमा पनि निर्वाचित भए । राजनीतिशास्त्र र इतिहासमा उनले स्नातक गरेका छन् । २०७४ मा भएको संघीय संसदको निर्वाचनमा उनी निर्वाचित भए । 

उनले पराजित गरेका नेता हुन्– कृष्णप्रसाद सिटौला । 

कांग्रेसका सिटौला पूर्वगृहमन्त्री तथा १२ बुँदे शान्ति सम्झौताका एकजना सूत्रधार हुन् । उनै नेतालाई पराजित गरेपछि लिङ्देन राष्ट्रिय राजनीतिमा स्थापित भए ।  

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १०:४९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया