राप्रपालाई अब अरूको भन्दा फरक ढंगले नेतृत्व गर्छु : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई अरूको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गरेका छन् । आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गरेका हुन् ।

उनले पार्टीलाई सही दिशा दिन र नेताकार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरू नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने पनि बताए । अध्यक्ष लिङ्देनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, मालाखादा लगाइदिन र मुर्दावादजिन्दावादको नारा लगाउन आवश्यक नरहेको पनि बताए । 

 ‘मैले गाउँ घरतिर भोट माग्दा भन्थेँ, थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ, भन्ने काम म गर्न दिने छैन भन्ने मौका दिने छैन भनेको थिएँ । आज राप्रपाका तमाम देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूलाई, नेताकार्यकर्ता साथीहरूलाई पनि भन्न चाहन्छु, यो पनि उस्तै रहेछ भन्ने मौका म दिन्न,’ लिङ्देनले भने, ‘तपाईंहरूको शिर झुक्ने काम गर्दिन । यो आन्तरिक चुनाव हो, कुनै पनि प्रकारको हामीले विजय जुलुस निकाल्नुपर्दैन । कुनै जिन्दावादमुर्दावादको नारा लगाउनु पर्दैन । कसैले फूलमाला लिएर पनि आउनुपर्दैन । राजेन्द्रलाई खादा लिएर गएन भने माला लाइदिएन भने मलाई नराम्रो ठान्छ कि त्यो केही गर्नुपर्दैन ।’ 

विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै उनले पार्टीलाई मात्र नभइ पार्टीका मुद्दालाई जोड दिने बताए । अध्यक्ष लिङ्देनले बाध्यकारी कदमको रूपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरू नहुने समेत दाबी गरे ।

‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हिजोको दिनको जस्तै गतिहीन र निस्क्रिय, बनाएर लैजाने छुट हामीलाई छैन । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्र होइन, त्योभन्दा बढी यसको मुद्दालाई समाप्त हुन नदिनको लागि हामीले बाध्यकारी कदमको रूपमा नेतृत्व परिवर्तनलाई लिएका हौँ,’ 



नवनिर्वाचित अध्यक्ष लिङ्देनले भने, ‘आज हामी अनेक समस्याका बाबजुद यो काममा सफल भएका छौँ । हामीलाई जित्नै पर्ने बाध्यता थियो । हामीले हिजो गरेका प्रतिस्पर्धाबाट मानिसहरुले पार्टी चिरा पर्ने हो कि, गुट बन्ने हो कि भन्ने आशंका थिए । हिजोसम्म जे भयो-भयो, आजबाट हामी सबै एक छौँ । कोही कुनै पक्षका छैनन्, नेतृत्व परिवर्तनका अनेक आयाम र उपलब्धिहरू छन् । त्यसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको अघिल्ला महाधिवेशनमा एउटा नेताको कार्यकर्ता भएर भोट माग्न जान्थ्यौँ । आजबाट हामी राष्ट्रिय प्रजातन्त्र पार्टीको मान्छे भएर जान्छौँ ।’  

उनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिस्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको पनि बताए । लिङ्देनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सीमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरूलाई अब राप्रपाले नेतृत्व गर्ने बताए ।



आज बिहान सम्पन्न मतपरिणाममा पार्टीका निवर्तमान अध्यक्ष कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन पार्टीको अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले १६१७ र लिङ्देनले १८४४ मत प्राप्त गरेका छन् । 

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १२:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया