नेपाली कांग्रेसको संस्थापन पक्ष (सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा) प्रदेश तहमा पनि बलियो देखिएको छ । यसअघि भएको ६१ वटा जिल्लाको अधिवेशनमा संस्थापन पक्ष बलियो देखिएको थियो ।
प्रदेशमा मत परिणाम सार्वजनिक भएकामध्ये दुई प्रदेशमा संस्थापनको सभापति निर्वाचित भएका छन् । उनीहरू हुन्– कर्णाली प्रदेशमा ललितजंग शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर ।
पूर्वमन्त्रीसमेत रहेका बलायरले कूल एक हजार ३ मध्ये ६ सय ८८ मत प्राप्त गरे । प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २ सय ८० मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । बलायरको प्यानलले नै निर्वाचन जितेको छ । मिश्र संस्थापनइतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय उम्मेदवार हुन् ।
कर्णालीमा संस्थापन पक्षबाट निर्वाचित भएका ललितजंगले इतर पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरेका हुन् ।
ललितजंगले ४ सय २२ मत पाउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए । उनीहरूको मतान्तर मात्र ५१ मतको रहेको छ ।
यता बागमती प्रदेशमा पनि देउवा अर्थात् संस्थापनपक्षका उम्मेदवार इन्द्र बानियाँ जित उन्मुख छन् । उनलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापक्षबाट उम्मेदवार बनेका भीमसेनदास प्रधानले समर्थन गर्ने भएका छन् ।
पहिलो चरणमा प्रधानसहित बानियाँ र पौडेलपक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीमध्ये कसैले पनि ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदान हुन लाग्दा प्रधानले बानियाँलाई समर्थन गर्ने भएका हुन् ।
उनले पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत र बानियाँलाई साथमा राखेर भनेका छन्, ‘उहाँ (बानियाँ) लाई मत दिन आग्रह गर्दछु । जुझारु सशक्त नेता उहाँलाई जिताऔँ ।’
पहिलो चरणमा बानियाँले सर्वाधिक ९९२, केसीले ८७२ र प्रधानले १९७ मत प्राप्त गरे । अब, प्रधानले समर्थन गरेपछि बानियाँ स्पष्ट जिततर्फ उन्मुख भएका छन् । तर, मतदान भइसकेको छैन ।
जे भए पनि यो प्रदेशमा संस्थापन पक्षले जित हात पार्ने सम्भावना बढेको छ । यहाँ पनि जित्दा संस्थापन पक्षले सभापति जितेको प्रदेश संख्या तीन हुनेछ ।
प्रदेश १ मा पनि संस्थापन पक्षको समर्थन रहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापक्षीय उम्मेदवार उद्धव थापा बलिया प्रतिस्पर्धी मानिएका छन् ।
थापाले झापा कांग्रेसको दुई कार्यकाल नेतृत्व गरिसकेका छन् । उनका प्रतिस्पर्धी हुन् केन्द्रीय सदस्यसमेत रहेका नेता गुरुराज घिमिरे । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय उनलाई पनि कम आँक्न मिल्दैन । यद्यपि, १४ जिल्ला रहेको प्रदेश १ मा संस्थापन पक्षले सात, सिटौला पक्षले एक जिल्लामा सभापति जित्दा पौडेल पक्षले छ जिल्लाको सभापति जितेको थियो ।
यस आधारमा तुलनात्मक रूपमा घिमिरेलाई भन्दा थापालाई प्रदेश सभापतिको रूपमा देखिने सम्भावना रहेको धेरैको अनुमान छ ।
एक प्रदेशमा पौडेल पक्षका सभापति, एकमा अग्रता
कर्णालीपछि मत गणना सकिएको प्रदेश हो– गण्डकी । यो प्रदेशमा पौडेलपक्षीय सभापति पदका उम्मेदवार शुक्रराज शर्मा निर्वाचित भएका छन् ।
उनले संस्थापन पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गरे । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार शर्माले ६१२ मत र जोशीले ५२८ मत प्राप्त गरे । उनीहरूको मतान्तर ८४ मतको थियो ।
यसरी इतर पक्षका उम्मेदवारबाट संस्थापनपक्षीय उम्मेदवार पराजित भएको यो पहिलो प्रदेश बनेको छ ।
लुम्बिनी प्रदेशमा पनि संस्थापनइतर पक्षका उम्मेदवार अगाडि छन् । सभापति पदका उम्मेदवार अमरसिंह पुन अगाडि देखिएका हुन् । २ सय मत गणना हुँदा पुनले ११८ पाए ।
उनका प्रतिस्पर्धी भरतकुमार शाहले ८१ मत पाएका छन् । शाहको भन्दा पुनको मत ३७ बढी हो । यो प्रदेशमा इतर पक्ष बलियो मानिन्छ । यहाँ इतर पक्षले जितेको अवस्थामा दुई प्रदेश मात्रै हुने देखिएको छ ।
प्रदेश २ को अधिवेशन अन्यौलपूर्ण
तराईका आठ जिल्ला रहेको प्रदेश २ को अधिवेशन अन्योलपुर्ण छ । अधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा त्यहाँका जिल्ला सभापतिहरूको बैठक जनकपुरमा दिउँसो बस्दै छ ।
बैठकले गरेको निर्णयको आधारमा समितिले काम अघि बढाउने संयोजक प्रह्लाद गौतमले फरकधारलाई बताए ।
सर्लाहीमा क्षेत्रीय अधिवेशन हुन सकेको छैन । र, जिल्ला अधिवेशन बाँकी छ । यस आधारमा त्यहाँका जिल्लामा संस्थापन (देउवा) कि इतर (पौडेल) वा उपसभापति विमलेन्द्र निधि कसको बलियो पकड छ भन्ने निर्क्योल हुन सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।