नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १४औं महाधिवेशन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रीय कार्यसमितिको अवैधानिक रूपमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्रहरू रद्द गरेको छ ।
निर्वाचन सम्बन्धमा समितिको बैठकले यस्तो निर्णय गरेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् ।
सचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्न निर्देशनसमेत दिइएको छ ।
विज्ञप्तिमा मंसिर १५ गते महोत्तरी क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन उद्घाटन भई बन्दसत्र सुरु गरी सहमतिको प्रयास गर्न खोज्दा हो–हल्ला हुँदा बन्दसत्र स्थगित भएको उल्लेख छ ।
मंसिर १७ गते बेलुकी ६:३० बजे जलेश्वर नगरपालिका- ८ स्थित आफ्नो घरमा बसिरहेको अवस्थामा केही अपरिचित व्यक्तिहरूले आफूलाई अपहरण शैलीमा घरबाट अन्यत्र लगी आफूसँग भएको निर्वाचनको प्रमाणपत्र लगायतका कागजातहरू कब्जामा लिई आफूखुसी वितरण गरेको मतदान अधिकृत धीरेन्द्र मण्डलले जनाए ।
निर्वाचनको कुनै पनि प्रक्रिया नपुर्याएको हुँदा त्यसरी वितरण गरिएका सबै प्रमाणपत्र रद्द गरिदिन मतदान अधिकृत मण्डलले जिल्ला निर्वाचन अधिकृतसमक्ष प्रतिवेदन पेश गरेका थिए ।
निर्वाचन अधिकृत इन्द्रबहादुर अधिकारीबाट समितिमा प्रस्तुत प्रतिवेदनलाई मध्यनजर गरी निर्णयतर्फ विचार गर्दा महोत्तरी क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि साथै महासमिति सदस्यको निर्वाचन भएको नदेखिएकोले सो क्षेत्रको क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्ने र उक्त पदहरूका अवैधानिक रुपमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्रहरू रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।