एमाले महाधिवेशनबाट सौराहा आसपासका साना व्यवसायी निराश

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरूले महाधिवेशनताका आशाअनुरूपको व्यापार नभएको गुनासो गरेका छन् । महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरू सौराहा र नारायणी किनारमै केन्द्रित भएकोले आशा गरेअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरू बताए ।

महाधिवेशनमा चितवन पुगेका नेता, कार्यकर्ता र प्रतिनिधिहरू अधिकांशले सौराहामै होटल बुकिङ गरेको र दिउँसोको समयमा अन्यत्र घुम्न जान नपाएकोले पनि अपेक्षाअनुसारको व्यापार हुन नसकेको व्यापारीहरूको बुझाइ छ ।

कोरोना संक्रमणको जोखिमले बन्द भएको होटल पर्यटनलाई महाधिवेशनले जीवन दिएको भन्दै चौतर्फी चर्चा भए पनि सौराहा आसपासका साना व्यवसायीलाई भने सकारात्मक प्रभाव पार्न सकेन । देशभरबाट प्रतिनिधिहरू आउने भएपछि व्यापार फस्टाउँछ भन्ने सोचे पनि त्योअनुसार व्यापार नभएको साना व्यवसायीहरूको गुनासो छ ।

आयोजक पक्षले सौराहा र नारायणी किनारलाई मात्रै केन्द्रित नगरी विभिन्न चोकतिर पाहुनाहरूका लागि आकर्षक कुरा राखिदिएको भए साना व्यवसायीहरूको व्यापार फस्टाउने उनीहरूको भनाइ छ ।

साना व्यवसायीहरू समेट्न मानिस र सवारी साधनको भीडलाई व्यवस्थित गरी अन्यत्र ठाउँमा सवारी साधनको पार्किङको व्यवस्था गर्दै पैदल जाने व्यवस्था गर्न सकेको भए आफूहरूले पनि व्यवसाय उकास्ने मौका पाउने आशा गरेको उनीहरूले बताए । 

कार्यक्रम ठूला होटल र रेष्टुरेण्टमा मात्रै केन्द्रित हुँदा देशभरका मानिसहरूले स्थानीय खानाको स्वाद लिन नपाएको पनि व्यवसायीहरूले बताए ।



व्यवसायीहरूले महाधिवेशनमा गएका पाहुनाहरूलाई लक्षित गरेर व्यवसाय सञ्चालन गरे पनि अपेक्षाअनुसारको व्यापार नभएको बताउँछन् । महाधिवेशनस्थलमा आयोजकहरूले साना व्यवसायीहरूका लागि छुट्टै स्टलको व्यवस्था गरेको भए साना व्यवसायीहरू पनि लाभान्वित हुनसक्ने उनीहरूको दाबी छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन गत मंसिर १० देखि १४ गतेसम्म सञ्चालन भएको थियो ।



  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १४:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया