सुदूरपश्चिम नेपाली कांग्रेसका प्रथम निर्वाचित सभापति वीरबहादुर बलायरले पार्टीलाई अझै बलियो र एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् ।
पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले पार्टीमा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै एकढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
‘नेतृत्व चयनका लागि हुने निर्वाचन नै हाम्रो पार्टीको आन्तरिक लोकतन्त्र हो । यसमा हामी कसैले पनि अन्यथा लिनु आवश्यक छैन,’ बलायरले भने, ‘पार्टी पंक्तिलाई मिलाएर एकढिक्का बनाएर लैजाने कुरामा म प्रतिबद्ध छु । कार्यकर्ताबीच सहिष्णुता कायम हुनुपर्छ । आपसमा विवाद गर्नु आवश्यक छैन ।’
यस्तै, उनले नजिकै आउन लागेको अद्यावधिक निर्वाचनलाई ध्यानमा राखेर सुदूरपश्चिममा पनि तीव्र तयारीमा लाग्नुपर्ने बताए । अहिले फरक धारमा देखिएका नेताहरूलाई समेत मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘काम गर्न चाहने साथीहरूलाई पार्टीभित्र अवसर दिने हो । आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो । अब सबै मिलेर अगामी चुनावमा जान्छौँ ।’
आइतबार सम्पन्न मतपरिणामअनुसार प्रतिद्वन्द्वी नारायणदत्त मिश्रलाई फराकिलो मत अन्तरले पराजित गर्दै बलायर सुदूरपश्चिम प्रदेशको पहिलो सभापतिका रूपमा निर्वाचित भएका हुन् । बलायरले छ सय ८८ मत ल्याउँदा प्रतिद्वन्द्वी मिश्रले दुई सय ८० मत प्राप्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।