कमल थापा नयाँ दल खोल्ने तयारीमा, साथ दिँदैछन् राणाले

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले नयाँ दल खोल्ने तयारी गरेका छन् । शनिबार भएको मतदानको परिणाम आइतबार आएपछि आफूनिकट नेताहरुसँग अबको कार्यदिशाबारे छलफल गर्न होटल याक एन्ड यति पुगेका थापाले नयाँ दलमा पशुपतिशम्शेर राणालाई पनि सँगै लिएर जाने योजना बनाएका छन् ।

त्यसो त थापाले नयाँ दलको योजना आइतबार मतदानको नतिजा आएपछि बनाएका होइनन् । यसअघि महाधिवेशनमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेपछि नै थापाले यसबारे आफूनिकट नेताहरुसँग छलफल गरेका थिए । पछिल्लो समय निर्मल निवाससँग सम्बन्ध चिसिएकाले पनि थापाले अब राजतन्त्र पुनर्स्थापनाको अजेन्डालाई छोड्ने र हिन्दू राष्ट्रको अजेन्डा मात्र लिएर अगाडि बढ्ने कसरतमा लाग्न थालेका थिए ।

‘आजको बैठकमा चाहिँ नयाँ दलको विषयमा केही छलफल भएको होइन, हामीले निर्वाचनमा हार्नुको खास कारण के हो भन्नेबारे हामीले छलफल गरेका हौँ,’ होटल याक एन्ड यतिमा थापासँग छलफल गरेर निस्किएपछि उनीनिकट एक नेताले फरकधारलाई बताए, ‘सबैभन्दा पहिले हामीले हाम्रो पराजयको कारण के हो भन्ने निष्कर्ष निकालेका छौँ । लामो समयदेखि एउटा अजेन्डा लिएर अगाडि बढे पनि हामीलाई यसपटक निर्मल निवासबाट समर्थन भएन, पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको भूमिका हुनु नै गलत हो ।’

त्यसो त, यसअघि बिहीबार नै पनि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले पार्टीको आन्तरिक प्रतिस्पर्धामा खेल्न थालेको भन्दै यसबारे आपत्ति जनाएका थिए । अर्कोतिर अध्यक्षमा निर्वाचित लिङ्देनले आफूलाई पूर्वराजाको समर्थन भएको सार्वजनिक रुपमा नै भन्न थालेका थिए ।’

आइतबार दिउँसो निर्वाचनको परिणाम आएपछि पनि कमल थापाले आफ्नो हारको मुख्य कारण निर्मल निवास नै रहेको निष्कर्ष निकालेका छन् । याक एन्ड यति होटलको त्यो बैठकमा पनि निर्मल निवासका मानिसहरुले कसरी आफूलाई हराउन भूमिका खेले भन्ने विषयमा थापाले बिफ्रिङ गरेका थिए ।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपबारे कुराकानी भयो, आगामि दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको छ,’ थापानिकट ती नेताले फरकधारलाई बताए ।



थापाले पनि आइतबार बारम्बार सामाजिक सन्जालहरुमा निर्मल निवास, ज्ञानेन्द्र शाह र हिमानी शाहमाथि टिप्पणी गरिरहेका छन्, व्यंग्य गरिरहेका छन् ।

याक एन्ड यतिमा सहभागी ती नेताले थापाले आफू पराजित भएमा नयाँ दल खोल्ने कुराको संकेत महाधिवेशन सुरु भएकै दिन गरेका थिए । 



‘तर, अहिले नै नयाँ दल खोल्ने अभियान सुरु हुँदैन,’ ती नेताले भने, ‘लिङ्देनको नेतृत्वमा पार्टी कसरी अगाडि बढ्छ भन्ने पनि केही दिन हेर्नु पर्छ, अनि विस्तारै यो अभियानलाई पनि अगाडि बढाउनु पर्छ भन्ने हाम्रो मान्यता हो ।’ उनले अहिले नै अभियानलाई भित्री रुपमा सुरु गरे पनि नयाँ दल दर्ता नै चाहिँ केही महिनापछि मात्र हुने बताए ।

‘अब थापाले नेतृत्व गरेर खोल्ने दलले राजतन्त्र पुनर्स्थापनाको मागलाई बोकेर हिँड्दैन,’ उनी भन्छन्, ‘तर, हिन्दू राष्ट्रको माग चाहिँ यथावत् रहन्छ ।’

थापाले नयाँ दल खोल्ने तयारी गर्दा आफूले पनि साथ दिने अर्का नेता पशुपतिशम्शेर राणाले उनलाई सन्देश पठाइसकेका छन् । यसअघि राप्रपा महाधिवेशन सुरु हुँदै गर्दा पनि राणाले आफूले ‘कच्चा नेतृत्व’को विश्वास नगर्ने बताएका थिए । 
 

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १७:४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया