एमएच ३७०ः सात वर्षअघि २३९ यात्रुसहित हराएको मलेसियन विमानको खोजी, भेटिएला त विमान ?
फरकधार / १९ मंसिर, २०७८

आजभन्दा सात वर्षअघि मलेसियाको एक यात्रुवाहक विमान एमएच ३७० (बोइङ ७७७) हराएको थियो । विमानमा चालक दलका सदस्यसहित २३९ यात्री थिए । हराएको विमान आजसम्म भेटिएको छैन । यो घटना विमानको इतिहासमा सबैभन्दा रहस्यमय घटनामध्ये एक हो । 



तर अहिले एक बेलायती एयरोनर्टिकल इन्जिनियरले उक्त विमान कहाँ दुर्घटना भएको छ भन्ने अनुमान लगाएका छन् । उनले आफ्नै अनुसन्धानले यो दाबी गरेका हुन् । 
रिचर्ड गोडफ्रेले एक वर्षभन्दा अघिदेखि एमएच ३७० विमानको अध्ययन गरिरहेका छन् । उनको दाबी छ– एमएच ३७० विमान पश्चिमी अष्ट्रेलियाको पर्थबाट करिव दुई हजार किलोमिटर टाढा समुद्रमा खसेको छ । 

एमएच ३७० विमान मार्च २०१४ मा उडानको समयमा वेपत्ता भएको थियो । राडारसँगको सम्पर्क टुटेपछि हराएको विमान कहाँ दुर्घटना भयो अहिलेसम्म कसैले यकिनका साथ भन्न सकेको छैन । 

गोडफ्रले भने अहिले विमान दुर्घटना भएको स्थलबारे दाबी प्रस्तुत गरिरहेका छन् । उनले आफूलाई सघाउन पनि आग्रह गरेका छन् । विमान भेटिए दुर्घटनामा मृत्यु भएकाको परिवारलाई जवाफ दिन सकिने उनले जनाएका छन् । 



‘विमान भेटिए यात्रु, हवाइ उड्डयन उद्योग र आम सर्वसाधरणलाई हामी यो बताउन सक्छौं की एमएच ३७० मा के भएको थियो, जसले भविष्यमा हुने दुर्घटनाबाट पनि हामीलाई बचाउने छ,’ गोडफ्रेले भने । 

विमान दुर्घटना भएको सम्भावित स्थलको पहिचान गर्न उनले ती तथ्याङ्कको प्रयोग गरेका छन् जसलाई यसअघि अलग–अलग राखिएको थियो । यिनै तथ्याङ्कको आधारमा उनी विमान दुर्घटना भएको सम्भावित स्थल दक्षिण हिन्द महासागर रहेको निर्क्यौलमा पुगेका हुन् । 

कठिन अध्ययनबाट आफूले सम्भावित दुर्घटना स्थलको पहिचान गरेको दाबी गोडफ्रेको छ । यसअघि सतही अनुमान गरिएको भए पनि गोडफ्रेले गहन अध्ययन मार्फत निस्कर्ष निकालेका हुन् । 

‘यसअघि कसैले इमरसेट स्याटलाइटको डेटा, बोइङ्को परफर्मेन्स डेटा, समुद्रमा भेटिएको ओसिएनोग्राफिक डेटा र डब्लुएसपीआर नेट डेटाको एक साथ अध्ययन गरेको थिएन,’ उनले भने । 

ती तथ्याङ्क संकलन गरी आफ्नो टिमले एक वर्षअघि देखि अध्ययन गरिरहेको जनाउँदै गोडफ्रेले थप स्पष्ट पारे, ‘हामीले यी तथ्याङ्कलाई लिएर कयौं परिक्षण गरेका छौं र अहिले हामीलाई यो कुरा एमएच ३७० विमानको खोजीमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।’ 

तथ्याङ्कको आधारमा टीमको आँकलन छ– हराएको मलेसियन विमान हिन्द महासागरमा ३३ डिग्री दक्षिण तथा ९५ डिग्री पूर्वको वरपर झरेको छ ।

हिन्द महासागरमा एमएच ३७० विमान खोजी गर्न दुई पटक व्यापक अभियान चलाइएको थियो । यी खोजी अभियानमा करोडौं डलर सकिएको छ । तर विमान कहाँ गयो भन्नेबारे जानकारी पाउन सकिएको छैन । विमानमा रहेका यात्रुका परिवार अहिले पनि हराइरहेका आफ्ना परिवारजनलाई खोजिरहेका छन् । 

फेरी सुरु हुनसक्छ खोजी 

यो विमान हराउँदा ग्रेस नैथनले आफ्नी आमा एनीलाई गुमाएकी छन् । उनी भन्छीन्, ‘हाम्रो लागि यो डरलाग्दो सपना जस्तै हो जसको अन्त अहिलेसम्म भएको छैन । र, यसको अन्त पनि छैन । मलाई लाग्छ हामी एउटा घेरामा घुमिरहेका छौं र बारम्बार ठोक्किरहेका छौं ।’ 

नयाँ सूचना केही आउँछ की भनेर सधै आफू कुरिरहेको हुने उनले जनाइन् । उनले थपिन्, ‘केही नयाँ कुरा यस्तो होस् जसको आधारमा फेरी खोजी कार्य सुरु गर्न सकियोस् । अहिले जुन आधार दिएर विमान दुर्घटनाको सम्भावित स्थल भनिदै छ त्यो केही भरपर्दो छ । यसले विमान भेटिने सम्भावन बढाएको छ ।’ 

नैथन क्वालालम्पुरमा अधिवक्ता छिन् । नयाँ तथ्याङ्कको आधारमा विमानको खोजी होस् भन्ने उनको चाहना छ । 

‘नयाँ सूचनाको हामी स्वागत गर्छौं । यो प्रमाणमा आधारित छ । यो गुगलमा लिएको तस्वीर र कमजोर प्रमाणमा आधारित छैन, जसको बचाउ नै गर्न नसकियोस्,’ नैथनले भनिन् । 

हिन्द महासागर यति विशाल छ जहाँ एउटा दुर्घटना भएको विमानको अवेशष खोज्नु कसैलाई पनि सहज छैन । यसअघि भएका खोजी कार्य असफल भए किनकी खोज्ने क्षेत्र निकै ठूलो थियो । 

‘हालसम्म एक लाख बीस हजार वर्ग किलोमीटरभन्दा बढी क्षेत्रमा खोज भइसकेको छ । यो भुसको बोरामा सियो खोजेजस्तो होइन, यो त भुसको डंगुरमा सियो खोजे जस्तो हो,’ गोडफ्रेले भने । 

विमानको अवशेष समुद्रको चार हजार मीटर गहिराइमा

गोडफ्रेका अनुसार हराएको विमान ४० नर्टिकल मील वरपर हुनसक्छ । यो पहिला खोजी गरिएको क्षेत्रफलको तुलनामा निकै सानो क्षेत्र हो ।  

‘विमानका अवशेष या त समुद्रको पिँधमा छन् या ढुंगाको मुनि । विमानको अवशेष समुद्रको चार हजार मीटर गहिराइमा हुनसक्छ,’ गोडफ्रेले अध्ययनको निचोड सुनाए । 

हालसम्म उक्त विमानको तीसभन्दा बढी टुक्रा अफ्रिका र हिन्द महासागरमा रहेका टापुको किनारसम्म पुगेको उनले जनाए । 

सन् २००९ मा गोडफ्रेलाई ब्राजिलको रियो दि जेनेरियाबाट फ्रान्सको पेरिससम्म यात्रा गर्नुपर्ने थियो । तर कामको कारण उनलाई ब्राजिलमै बस्नु पर्यो । उनले जुन विमानको टिकट रद्द गरेका थिए उक्त विमान एट्लान्टिक महासागरमा दुर्घटना भयो । त्यसपछि उनले समुद्रमा हराएका विमानको खोजीमा रुची राख्दै आएका छन् । 
गोडफ्रे स्वतन्त्र समूह ‘एमएच ३७० ग्रुप’ को संस्थापक सदस्य हुन् । उनी पेशाले इन्जिनियर हुन् । उनले विमानको अटो पायलट प्रणाली विकासमा काम  गरिसकेका छन् । 

‘मैले सूचना प्रणाली र डेटालाई सुरक्षित राख्ने विषयमा धेरै काम गरेको छु । हाम्रो अध्ययनको महत्वपूर्ण कुरा भनेकै डेटा हो । डेटा निकै धेरै छ । र यो भुसको डंगुरबाट सियो खोजे जस्तौ नै छ,’ उनले भने । 

डेभिड ग्लीव एभियसन सेफ्टी कन्सल्टेन्टका प्रमुख अनुसन्धानकर्ता हुन् । उनले विमान हराउने र दुर्घटनाका सम्बन्धमा दशकौंदेखि काम गरिरहेका छन् । नयाँ खोजी अभियानको लागि रकम जुटाउने मुद्दा अब अहंम हुने उनको बुझाई छ । 

‘अहिले हामीसँग विमान दुर्घटना भएको स्थलबारे जवाफ दिने तथ्याङ्क छ । यो अन्य सिद्धान्तभन्दा बढी विश्वास्नीय छ,’ उनले भने । 

नयाँ खोजी अभियान समुद्रको अवस्था र नयाँ विकसित उपकरणको उपलब्धतामा निर्भर हुने उनी बताउँछन् । 

खोजी कहिले गर्ने त ? 

डेभिड ग्लीव भन्छन्, ‘सबै कुराको अध्ययन गर्दा दक्षिण सागरमा खोजी कार्य गर्मी मौसममा सुरु गर्नुपर्छ । अर्थात त्यो समय यही नै हो । खोज अभियान सुरु गर्न १२ महिना लाग्छ किनकी समुद्रको गहिराइसम्म उपकरण लैजान सहज छैन ।’

हराएको मलेसियन विमान खोजी गर्न चीनले सघाउन सक्ने उनको धारणा छ । आफ्ना नागरिकको खोजी गर्न चीनले यसलाई सघाउनु पर्ने तर्क उनको छ । इन्स्योरेन्स कम्पनीले पनि खोजी कार्यलाई सघाउनु पर्ने उनी बताउँछन् । 

वेपत्ता भएको विमानमा १२२ जना चिनियाँ नागरिक थिए । यो विमान मलेसियाको क्वालालम्पुरबाट बेइजिङको लागि उडेको थियो । तर विमान कहिल्यै बेइजिङ पुगेन । 

विमान हराएपछि धेरै सिद्धान्तमाथि छलफल भए र खोजी पनि गरियो । एउटा सिद्धान्त थियो– विमानलाई पाइलटले नै अपहरण गरे र थाइल्याण्डको खाडीबाट पश्चिम तर्फ मोडेपछि राडार बन्द गरिदिए । तर यी सिद्धान्तमाथि कसैले विश्वास गरेनन् । 

अष्ट्रेलियाको ट्रान्सपोर्ट सेफ्टी बोर्ड (एटीएसबी)ले अक्टुबर २०१७ मा पानीमुनि खोज्ने कार्य अन्त गरेको थियो । एटीएसबीले भनेको थियो, ‘अब एटीएसबी कुनै पनि खोज अभियानमा सहभागी हुनेछैन । विमान मलेसियामा दर्ता थियो र विमानको खोजी गर्ने फैसला पनि मलेसियाले नै गर्नुपर्नेछ ।’ 

नयाँ खोजी कार्य सुरु गर्ने विषयमा मलेसिया र चीन सरकारसँग सम्पर्क गरिएको थियो । ‘अन्य विमानको सुरक्षाको लागि भने पनि यो विमानलाई खोजी गरी पत्ता लगाउन जरुरी छ, ताकी भविष्यमा हुनसक्ने यस्ता घटना रोक्न सकियोस् । हाम्रो लागि पनि अब यो अध्याय समाप्त हुन आवश्यक छ,’ ग्रैस नैथनले भनिन् । 

(बिबिसीबाट साभार) 

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १७:५:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया