एमालेमा अब १० बुँदे कार्यान्वयनको औचित्य सकिएको हो ?

एमालेको दसौँ महाधिवेशनअघिसम्म १० बुँदे कार्यान्वयनको विषय पेचिलो बन्दै गएको थियो । आन्तरिक विवाद निरुपण गर्नका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले चर्को आवाज उठाइरहेका थिए । 

चितवनमा महाधिवशेन सकेर नयाँ नेतृत्व चयन भएपछि भने एमालेमा यो बहस शून्यप्रायः बनेको छ । अन्तसंघर्ष साम्य पार्न गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्दै एकताबद्ध हुनुपर्ने भन्दै तत्कालीन माधव नेपाल समूहतिर रहेका नेताहरुले चर्को आवाज उठाएका थिए । महाधिवेशनमा अध्यक्षको दाबेदार रहेका भीम रावललाई नै सो समितिको संयोजक पनि बनाइएको थियो । 

रावल अध्यक्षमा ओलीसँग भारी मतान्तरले पराजित भए । १० बुँदेको माग राखेका अन्य नेतालाई पनि ओलीले आफूअनुकूल व्यवस्थापन गरिसकेका छन् । 

एमाले पार्टी कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङ महाधिवेशनपछि अब १० बुँदेको औचित्य समाप्त भएको बताउँछन् । फरकधारसँगको संक्षिप्त कुराकानीमा तामाङले भने, ‘१० बुँदे कार्यान्वयनको विषय अब महाधिवेशनपछि स्वतः सकियो । यसमा बहस गर्नुको कुनै अर्थ छैन ।’

साथै, उनले महाधिवेशनपछि नयाँ कमिटी भइसकेकाले यसअघिका सम्पूर्ण विवाद त्यसैमा समेटिएर समाधान भएको बताए । 

सकिएकै हो औचित्य ? 



एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यक्ष ओलीको तिक्तता बढ्दै जाँदा १० बुँदे सहमतिलाई मिलनविन्दु मानिएको थियो । 

एमालेमा जारी विवादका बीच लामो समयसम्म यसमाथि रहेर बहस भयो । १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएको घोषणा गरेपछि पनि यसको रटान एमालेमा सकिएन । 



त्यसअघि नै ओलीले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै १० बुँदेको एकतारे नबजाउन आग्रह गरेका थिए । अध्यक्ष ओलीको अभिव्यक्तिप्रति रावल र घनश्याम भुसालले सामाजिक सञ्जालमार्फत असहमति व्यक्त गरेका थिए ।

महाधिवेशनअघिसम्म १० बुँदे कार्यान्वयन हुनुपर्छ भन्ने मत राख्दै आएका उपाध्यक्ष युवराज ज्ञवाली अब त्यसो नहुने बताउँछन् । तर, १० बुँदेअन्तर्गत रहेका नेताहरुको भावना बुझेर नेतृत्वले यथोचित निर्णय लिनुपर्ने उनको भनाइ छ । ‘महाधिवेशनपछि १० बुँदे भन्ने हुँदैन । तर, १० बुँदेअन्तर्गत समाहित भएकाहरुको भावना बुझेर यथोचित ध्यान दिनुपर्छ,’ ज्ञवालीले भने, ‘व्यक्ति–व्यक्तिको कुरा हुन्छ । किनभने योगदान गरेका पुराना मान्छेलाई बेवास्ता गर्न हुँदैन । तर, फेरि पनि अब १० बुँदे कार्यान्वयन भन्ने हुँदैन । किनभने अब पार्टी नयाँ फेजमा गइसकेको छ । त्यसलाई हेक्काचाहिँ राख्नुपर्छ ।’

तलदेखि माथिसम्म १० बुँदेको कार्यान्वयन गर्ने भन्दै धेरै कार्यकर्ता सामेल भएको उनको भनाइ छ । ‘कतिपय कार्य विभाजन गर्दा जिम्मेवारी दिँदा ख्यालचाहिँ गर्नुपर्छ । महाधिवेशन सकिएपछि परिस्थिति बदलिए पनि व्यक्ति विशेषलाईचाहिँ ध्यान दिनुपर्ने उनको भनाइ छ । त्यसलाई समूहगत रुपले भने लिन नहुने उनले बताए । 

त्यस्तै, अर्का १० बुँदे पक्षधर नेता सुरेन्द्र पाण्डे पनि च्याप्टर नै क्लोज भइसकेको बताउँछन् । ‘महाधिवेशन सकिएपछि त च्याप्टर नै क्लोज भयो नि !’ उनले भने, ‘हिजो जेठ २ किन भनेको भन्दा अगाडिको महाधिवेशनले निर्वाचित कमिटी नै हो, आधिकारिक भनेको हो नि ! नयाँ महाधिवेशनले नयाँ कमिटी बनाएपछि त्यो प्रसंग अब रह्यो र ?’

१० बुँदे कार्यान्वयनको भावनामा रहेर सुदूरपश्चिमको इन्चार्ज वा संयोजक आफूले नपाएकोमा रावलको गुनासो थियो । तर, उनको गुनासोमाथि अब पार्टीमा कुनै बहस नहुने नेताहरुले बताएका छन् । 

रावल दसौँ महाधिवेशनबाट अध्यक्षमा पराजित भइसकेका छन भने केन्द्रीय सदस्यमा पनि शपथ लिएका छैनन् । पार्टीभित्रै बसेर पुनः १० बुँदेलगायतको माग अघि सार्ने वा यत्तिकै चुप बस्ने भन्नेबारे रावलले निर्णय लिइसकेका छैनन् । उनले फरकधारलाई दिएको जानकारी अनुसार उनी केही दिन अझै महाधिवेशनको गतिविधिको समीक्षा गर्दै छन् । ‘केही अध्ययन बाँकी छ । त्यसपछि म औपचारिक रुपमा अब कसरी देखिने भन्नेबारे बोल्छु,’ उनले भने ।
 

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १९:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया