कांग्रेस​ महाधिवेशन : प्रदेश १ मा कसरी चिप्लियो पौडेल-कोइराला समूह ?

नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट सभापति बन्ने दाउमा छन् डा. शेखर कोइराला । उनी मात्रै होइन कोइराला परिवारका अर्का सदस्य डा शशांक कोइराला पनि सभापतिको दौडमा छन् । 

दुवैले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरु सभापति बन्नको लागि देश दौडाहामा समेत छन् । तर दुई कांग्रेस नेताको गृह प्रदेश (प्रदेश १)कै नेतृत्व भने विपक्षी खेमामा गएको छ । 

कोइराला परिवारको आधार क्षेत्र र प्रदेशको नेतृत्व संस्थापन पक्ष (सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा)मा जाँदा उनीहरू सभापति बन्न सक्ने सम्भावनाका बारेमा प्रश्न उठेको छ । 

शेखर र शशांक बाहेक यही प्रदेश अझ मोरङ गृहजिल्ला भएका नेताहरू महेश आचार्य, मिनेन्द्र रिजाल, सुजाता कोइराला समेत प्रदेशको अधिवेशनमा संस्थापनका विरुद्ध मोर्चाबन्दी गरेर लागेका थिए । 

सवैको जोडबलमा कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व सभापति गुरुराज घिमिरेलाई प्रदेश सभापतिमा उठाइएको थियो ।  चर्चित र प्रभावशाली भनिएका नेता घिमिरे २ मतको अन्तरले पराजित भए । उनलाई झापा केन्द्रित राजनीति गरेका नेता उद्धव थापाले हराए । एक हजार मत गनिसक्दा सम्म अघिअघि रहेका घिमिरे अन्तिम समयमा पछाडी परे । 

कांग्रेस नेताहरूका अनुसार प्रदेश प्रतिनिधिहरूमा एक सय देखि दुई सय मतले संस्थापनइतर समूह अगाडि रहेको अनुमान थियो । 



संस्थापनइतरका नेताहरूले निर्वाचन सकिदासम्म कम्तिमा एक सय ५० मतले घिमिरे विजयी हुने दावी गरिरहेका थिए । 

तर, उनीहरूको दावी फेल खायो ।  १ हजार ७५३ मत खस्दा थापाले ८ सय ४४ र घिमिरेले चार ८४२ मत प्राप्त गरे । प्रदेश महाधिवेशनमा ६७ मत बदर भएको छ । 



नेता समेट्न नसक्दा संस्थापनइतरको हार 

संस्थापन समुहले प्रदेश १ को  सभापतिको उम्मेदवार दुई दिन अघि घोषणा गरेका थिए । 

संस्थापन इतरको रुपमा देखिएका कृष्ण सिटौला निकट व्यक्ति थापालाई सभापतिको  उम्मेदवार बनाएर संस्थापन समुहले इतरलाई दवाव दियो । 

जिल्ला अधिवेशन हुँदा सम्म संस्थापन इतर र सिटौला समुहको कार्यगत एकता थियो । 

झापामा संस्थापनइतरले सिटौला समुहका सभापतिका उम्मेदवार देउमान थेवेलाई सघायो । तर जिल्ला अधिवेशन सकिएको तीन दिन नबित्दै सिटौलाले लाइन परिवर्तन गरे ।

जसरी पनि आफ्नो प्रभाव प्रदेशमा छाड्ने रणनीति बनाएका सिटौलाले पौडेल-कोइराला समूहलाई धोका दिदै प्रदेशमा सभापति शेरबहादुर देउवासँग हातेमालो गरे । 

सभापति देउवा र सिटौलाका बीचमा प्रदेशमा  कार्यगत एकता हुँदा पौडेल-कोइराला समुहले भेउसम्म पाएन । सभापति सहित प्यानल घोषणा गर्दा मात्रै सिटौलाले क्याम्प फेरेको चाल पाए । 

प्रदेशमा प्रभाव बनाएका सिटौलासँगको सहकार्यपछि संस्थापन पक्ष बलियो भयो । यो थाहा पाइसकेपछि पनि पौडेल–कोइराला समुहले रणनीति फेरेन ।

महाधिवेशनको प्रक्रिया शुरु भएपछि विराटनगर झरेका घिमिरेलाई नै सभापति बनाउन लागि नै रह्यो ।

घिमिरेलाई  सभापति बनाउन डा. शेखर मात्रै होइन, डा मिनेन्द्र रिजाल, महेश आचार्यको समेत सहमति थियो । 

कोइराला निवासमा भएको बैठकमा सुनसरी जिल्ला अधिवेशन हुँदै सभापतिको उम्मेदवारी घोषणा गरेका कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीब कोइरालाको कुरा सुनिएन । 

उनलाई सभापतिमा नउठ्न सवै ठूला नेताहरुले दवाव दिए । यसपछि कोइरालाले रिसाउँदै बैठक छाडे । 

गुरुलाई सभापति बनाउन शेखर, मिनेन्द्र र महेश आचार्य लगायतका नेताहरु राजिव कोइरालाई नै छाड्न तयार भए । 

प्रदेशमा बसेर १४ वटै जिल्लाका नेताहरुसँग सम्पर्क बनाएका, प्रदेश सांसदहरुको नेतृत्व गरेका कोइरालाको प्रभावलाई उनीहरुले कम आँके । यसले पनि संस्थापन इतरको रणनीति फेल खायो । 

अधिवेशनमा सभापतिको टिकट नपाएपछि कोइरालाले नकारात्मक भूमिका त निभाएनन् तर सक्रियता पनि देखाएनन् । 

उनी निकट नेताहरुका अनुसार कोइराला मौन रहे । उनले फरकधारसँग भनेका थिए, ‘नेताहरुको निर्णय हो म मान्न तयार छु ।’ 

कोइराला सक्रिय नहुँदा सवै भन्दा बढि प्रतिनीधि रहेको सुनसरी मोरङको भोट थापालाई गएको देखिन्छ । सुनसरीका प्रतिनिधिहरू खुलेरै नेताहरूको विरोधमा लागेका थिए  । 

फागोको सिटौला क्याम्पमा इन्ट्री  

मोरङको उत्तर पूर्वी नगरपालिका उर्लाबारीका मेयर हुन् खड्ग फागो । प्रदेश अधिवेशन अघि सम्म उनी डा. शेखर कोइरालाका विश्वास पात्र मानिन्थे । 

प्रदेश महाधिवेशनमा उनी प्रदेश सह महामन्त्रीको आकांक्षी थिए । पूर्वी उत्तर मोरङमा प्रभाव जमाउँदै गएका फागो त्यो क्षेत्रका नेता मानिन्छन् । 

उनि उर्लाबारी नगरपालिकाको कांग्रेस वडा सह–सचिब, क्षेत्रीय सदस्य, कार्यवाहक क्षेत्रीय सचिव, क्षेत्रीय कार्यसम्पादन उपसभापति हुँदै क्षेत्रीय सभापति भइसकेका व्यक्ती हुन् । 

युवाहरुका माझमा जनमत बनाएका फागोले कोइराला प्यानलबाट सह महामन्त्रीको उम्मेदवार बन्न नसक्ने देखेपछि अधिवेशनको मुखमा लाइन चेन्ज गरे । उनले कृष्णप्रसाद सिटौलाको आग्रहमा लाइन परिवर्तन गरेको बताउँदै संस्थापन क्याम्पमा पुगे । उनले भनेका थिए, ‘शेखर गुटमा चाप्लुसी गर्नेहरु हावी भएकाले खेमा परिवर्तन गरेको हुँ ।’

अधिवेशनभन्दा तीन दिनअघि सिटौला क्याम्पमा पुगेका फागो तीनै व्यक्ति हुन् जसले प्रदेश अधिवेशनमा सवैभन्दा बढि मत ल्याएका छन् । उनले सह महामन्त्रीमा  १०२६ मत ल्याए । 

होला त पुन मतगणना ? 

सभापतिमा २ मतले पराजित भएपछि गुरुराज घिमिरेले पुनः मतगणनाको माग राख्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । तर पुनः मतगणना हुने नहुने भन्ने अझै टुंगो लागेको छैन । 

मुख्य निर्वाचन अधिकृत भरतकुमार थापाले निवेदन केन्द्रिय निर्वाचन समितिमा पठाएको बताएका छन् । 

उनका अनुसार पुनः मत गणनाका लागि निवेदन आएको र यस विषयमा केन्द्रीय निर्वाचन समितिसँग राय लिएर मात्र के गर्ने नगर्ने भन्ने निर्णय हुनेछ । 

उनले केन्द्रीय निर्वाचन समितिलाई पत्राचार गर्ने र उताबाट जे निर्णय हुन्छ सोहीअनुरूप गर्ने बताए ।

  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १७:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया