धनुषामा मंसिर २४ देखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने

धनुषामा १८ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिलाई मंसिर २४ देखि २८ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनुषाले सोमबार जनकपुरधाममा एक पत्रकार अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले कोरोनाविरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको बताए । 

कोरोनाविरुद्धको खोप प्रत्येक पालिकामा रहेको खोपकेन्द्रमार्फत लगाइने उनले जानकारी दिए । धनुषा जिल्लामा ६३१ वटा खोप केन्द्रहरु छन् । एउटा खोप केन्द्रमा १ जना खोप लगाउने कार्यकर्ता र २ जना सहयोगी परिचालित छन् । जिल्लाका १६९ वडामा त्यति नै संख्यामा खोप सुपरभाइजरसमेत परिचालन गरिएको उनले बताए ।
 
यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय धनुषाले आग्रह गरेको छ । विगतमा १ डोज लगाएका व्यक्तिहरुले पनि दोस्रो डोज लगाउन सक्ने छन् । स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगलकिशोर यादवले निर्धक्क भएर खोप लगाउन सर्वसाधारणमा आग्रह गरेका छन् । 

१८ वर्ष र सोभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्ध खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ देखि २९ गतेसम्म स्वास्थ्य कार्यालयमा नै लगाइँदै छ ।
 
धनुषा जिल्लाको कूल जनसंख्या ८ लाख ४७ हजार ८ सय रहेकोमा अहिलेसम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जना गरी जम्मा ३ लाख १० हजार १४८ जनाले लगाइसकेका छन् ।
 
जसमध्ये १८ वर्षभन्दा माथिको उमेर समूहका १ लाख ३७ हजार ६४ जना र १२ देखि १७ वर्ष उमेर समूहका १ हजार ७ सय व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका ४ लाख १८ हजार ९२३ र १२ देखि १७ वर्ष उमेर समूहका ९४ हजार ४३२ जना अझै खोप लगाउन बाँकी रहेका छन् । अहिलेसम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज खोप लगाएका छन् ।
 
जिल्लामा कोभिसिल्ड, भेरोसेल, जाेनसन एण्ड जाेनसन, एस्ट्राजेनेका र फाइजर गरी पाँच प्रकारका खोप लगाइएको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १८:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया