सदस्यसचिवलाई ओलम्पिक कमिटीको स्वागत

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले जारी भएको नयाँ ऐनमा बन्नुपर्ने नियमावली अन्तिम चरणमा पुगेको बताएका छन् ।

मन्त्रिपरिषदको निर्णयपछि राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा नियुक्त भएका टंकलाल घिसिङलाई आज नेपाल ओलम्पिक कमिटीले बधाई तथा स्वागत गरेको कार्यक्रममा सदस्यसचिव घिसिङले नयाँ बनेको ऐनमा बन्नुपर्ने नियमावली करिब–करिब अन्तिम चरणमा पुगेको र छिट्टै अर्थ र कानुनमा पुगेर मन्त्रिपरिषदमा टेबुल हुने बताएका हुन् ।

यस्तै, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अघिल्लो सदस्यसचिवको कार्यकालमा ऐन कार्यान्वयनको गतिमा ढिलाइ भएको भन्दै नयाँ सदस्यसचिवनको कार्यकालमा नयाँ ऐनले पूर्णता पाउने बताए ।

शपथ र पदभार ग्रहण गरेसँगै राष्ट्रिय खेलाडीको बिमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताएका सदस्यसचिव घिसिङले नजिकिँदै गरेको एसियन गेम्सको तयारीलाई पनि जोड दिन ओलम्पिक कमिटीलाई आग्रह गरे । 

नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका घिसिङलाई मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रिपरिषदले सदस्यसचिवमा चार वर्षको लागि नियुक्त गरेको थियो । सदस्यसचिवका लागि परेका १८ जनाको नामावलीबाट सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेस गरेको थियो ।

तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई शेरबहादुर नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्यसचिव भएका छन् । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार २१:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया