ओमिक्रोन भाइरसको जोखिम बढेसँगै नेपालमा बुस्टर डोजको खोप लगाउने विषयले सरोकारवालाको चासो बढाएको छ ।
भारतमा ओमिक्रोन भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको बेला नेपालमा यसको जोखिम भित्रिएको छ । नेपालमै पनि सोमबारसम्म ओमिक्रोनका दुईजना संक्रमित फेला परेका छन् । जोखिम बढेपछि मानिसहरुमा यसबाट कसरी सुरक्षित रहने भन्नेतर्फ ध्यान जान थालेको छ ।
यसबारे विभिन्न देशहरुमा बुस्टर डोज लगाउनेबारे चर्चा चुलिएको छ । नेपालमा पनि यसको प्रकोप भित्रिसकेको हुनाले पहिलो र दोस्रो लहरमा जस्तै पुनः क्षतिको सामना गर्नु नपरोस् भन्ने हेतुका साथ स्वास्थ्य मन्त्रालयबाट सुरक्षा मापदण्ड अपनाउन आग्रह पनि गरिएको छ ।
यस विषयमा सर्वसाधारणलाई कुन खोप कति लगाउने अथवा बुस्टर डोज भनेको के हो भन्ने विषय अहिले चासोको विषय बनेको छ ।
सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन भन्छन्, ‘बुस्टर डोज कुनै पनि खोपको पूर्ण मात्रा लगाएको ६ महिनापश्चात् लगाउन मिल्छ । भेरोसेल एन्टिजेन भएमा ६ महिना र जोन्सनको खोपको भने २ महिनाभित्र बुस्टर डोज लगाउनुपर्छ ।’
उनका अनुसार नेपालमा हालसम्म यसबारे कुनै पनि किसिमको अध्ययन तथा अनुसन्धान भने भएका छैनन् । विदेशी राष्ट्रमा भएका अध्ययन तथा चिकित्सकहरुले दिएका अन्तर्वार्तामा भनिएका कुराहरु नै हाम्रा लागि सूचनाको स्रोत रहेका छन् ।
कुन खोप लगाउनेले कस्तो बुस्टर डोज लगाउने ?
नेपालमा ओमिक्रोनको संक्रमण फेला पर्नुअघि नै बुस्टर डोज लगाउने विषय चर्चामा आएको हो । बुस्टर डोज लगाउँदा कुन खोप लगाउने ? पहिले लगाएका खोपको प्रकार नै पुनः थप्नुपर्ने हो कि नयाँ खोप लगाउनुपर्ने हो भन्ने विषय धेरैको चासोको विषय बनेको थियो ।
अहिले नेपालमा ओमिक्रोनको संक्रमण देखिएसँगै सुरक्षाका लागि बुस्टर डोज कहिले लगाउने र कुन लगाउने भनेर परामर्श लिने तथा अस्पतालमा डाक्टरको सल्लाह लिने क्रम बढेको छ ।
यसै क्रममा सरुवारोग विशेषज्ञ डाक्टर पुन भन्छन्, ‘बुस्टर डोज भनेको थप प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि भनेर लगाइने खोप हो । यसका लागि पहिले भेरो लगाएकाले एन्टिजेन तथा एन्टिजेन लगाएकाले भेरो तथा जोन्सन लगाएकाले अन्य खोप पनि लगाउन हुन्छ,’ उनले भने, ‘बुस्टर डोजका लागि नेपालमा भने कुन कसले र कति समयमा लगाउने भन्ने नभए पनि विदेशमा गरिएको अध्ययनले ६ महिनामा बुस्टर डोज लगाउन हुने बताएका छन् ।’
बेलायतमा गरिएको एक अनुसन्धानमा भने बुस्टर डोजका लागि एस्ट्राजेनिका लगाएका व्याक्तिले फाइजरको खोप लगाउँदा निकै प्रभावकारी भएको तथ्य बाहिर आएको छ ।
नेपालमा भने फाइजरको खोप १२ वर्ष माथिका र १८ वर्ष मुनिका बालबालिकालाई लगाउने भनेर थोरै मात्रा मात्रै ल्याइएको थियो ।
बुस्टर डोज किन र कसलाई ?
बुस्टर डोजको खोप नेपाल सरकारले हालसम्म ल्याउने तयारी भने गरेको छैन । नेपालमा कोहीले एक डोज पनि नपाएको तथा ८७ लाख व्याक्तिले मात्र पूर्ण डोज खोप लगाएको हुनाले पहिलो डोज पनि नपाएकालाई प्राथमिकतामा राखी खोप कार्यक्रम अगाडि बढाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।
यस विषयमा कोभिडको पहिलो लहरदेखि नै खटिँदै आएका डाक्टर पुन भन्छन्, ‘नेपाल सरकारले लक्षित वर्ग पहिचान गरी बुस्टर डोजको मात्रा दिनुपर्ने हुन्छ ।’
यस विषयमा नेपाल सरकारले बुस्टर डोज नै भनेर खोप भने आयात गरेको छैन । अहिले पहिलोपटक खोप नपाएका व्याक्तिलाई नै पहिलो प्राथमिकतामा राखी खोप वितरण गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताएका छन् । उनले भने, ‘पहिलो प्राथमिकतामा एकपटक पनि नलगाएका व्यक्तिलाई राखेका छौँ । हालसम्म नेपाल सरकारले बुस्टर डोजबारे भने केही सोचेको छैन ।’
हालसम्म नेपालमा सबै प्रकारका खोपहरु एक मात्रा लगाउनेमा १ करोड ३ लाख ५२ हजार ८४५ जना र खोपको पूर्ण डोज लगाउनेमा ८६ लाख ९७ हजार ९८९ मानिसहरु रहेका छन् । नेपालमा हालसम्म ५ प्रकारका खोपहरु आयात भएका छन् ।
बुस्टर डोज लगाउन स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा बसेको बैठकमा कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेका थिए ।
उनले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको स्मरण गराएका हुन् ।
प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको उनले बताए ।
मन्त्री खतिवडाले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए । अन्य देशबाट आउने नागरिकलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पिसिआर परीक्षण गरेर मात्रै घर जान दिने उनले बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।