नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी छ । तर, अहिलेसम्म पनि कांग्रेसको संस्थापनइतरले सभापतिका लागि उम्मेदवार छान्न सकेको छैन ।
आकांक्षी बढी भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई सभापतिको उम्मेदवार छान्न सकस भएको हो । सोमबार पनि सभापतिको उम्मेदवार छान्न पौडेल समूहले छलफल गरेको थियो । तर, सो छलफलले पनि उम्मेदवारको टुंगो लगाउन सकेन ।
पौडेल समूहबाट सभापतिमा चार नेताले इच्छा देखाएका छन् । सभापतिका आकांक्षी पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सोमबार साँझ बोहराटारमा छलफलमा जुटेका थिए ।
सोमबारको छलफलले उम्मेदवार छान्न नसकेपछि सो समूहले आज पनि छलफल गर्ने बताइएको छ । एक नेताका अनुसार उम्मेदवारको विषयमा छलफल गर्ने पौडेल समूहले आज दिउँसो १ बजे बैठक बोलाइएको छ ।
संस्थापन पक्षबाट भने फेरि शेरबहादुर देउवा नै सभापतिमा उठ्ने पक्का जस्तै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।