नेपाली कांग्रेसका नेता जीवन परियारले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पाैडेल, महामन्त्री शशांक काेइराला, नेता शेखर काेइराला र कोषाध्यक्ष सीतादेवी यादवकाे समूहबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । परियार दुईपटक केन्द्रीय सदस्य भइसकेका छन् ।
महाधिवेशन हुन तीन दिन बाँकी रहँदा नेता परियारले दलिततर्फकाे सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रजातान्त्रिक समाजवादलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न, सामाजिक रूपान्तरण र न्यायकाे सुनिश्चितता गर्न, पार्टीको विधान सफल कार्यान्वयन गर्न,
सबल नेतृत्व निर्माण गर्न, अस्तव्यस्त भातृ संगठनलाई व्यवस्थित गर्न र पार्टीको विकास विभाग गठन गर्न उम्मेदवारी दिएकाे स्पष्ट पारे ।
पृथ्वीनारायण क्याम्पस पोखरादेखि नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति सुरु भएका उनी दलित आन्दोलनका अगुवा हुन् ।
परियार राष्ट्रिय दलित आयाेगको सदस्य सचिवसँगै २०७० मा संविधानसभा सदस्यसमेत भएका थिए । नेपालीको प्रजातान्त्रिक आन्दोलनमा दलित समुदायको धेरै योगदान छ ।
कांग्रेस इतिहासमा धनमानसिंह परियार एकपटक महामन्त्री भएका थिए । यसपटक पार्टीको आठ सहमहामन्त्री क्लस्टरसहित हुने भएपछि दलित समुदायबाट सहमहामन्त्री हुने निश्चित भएकाे छ ।
केन्द्रीय सदस्यमा ११ नेताकाे सामूहिक उम्मेदवारी घोषणा
गण्डकी प्रदेशका मन्त्री दाेबाटे विश्वकर्माले दलिततर्फकाे आरक्षित पाँच केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
राष्ट्रियसभा सदस्य प्रकाश पन्तले अपाङ्गतर्फकाे एक केन्द्रीय सदस्यमा र प्रतिनिधिसभा सदस्य विमला नेपालीले दलित महिला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेताहरू लेखनाथ पाेखरेल, कमला नेपाली, गंगा सुनार, महेश नेपाली, सुरेश परियार, गाेबर्दन काेहली विश्वकर्मा, शिव सुनार र सीता मिजारले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।