कांग्रेस महाधिवेशन : मिलन पाण्डेको ड्रिम टिम

पछिल्लो केही समययता विवेकशील साझा पार्टीमा ठूलो द्वन्द्व चलिरहेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच देखिएको विवादले पार्टी नै अब दुई फ्याकमा विभाजन हुने देखिएको छ ।

तैपनि दुवै पक्षले आ–आफूलाई राम्रो भएको दाबी गरिरहेका छन् । आ–आफू ठिक र सही भएको दाबी यी दुवैको छ ।

यहीबीच नेपालमा राजनीतिक दलहरूको महाधिवेशनको रौनक छ । केही दिनअघि मात्र आफ्नो दसौँ राष्ट्रिय महाधिवेशन सकेको छ, नेकपा एमालेले । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिसकेको छ ।

अब महाधिवेशनको संघारमा छ, नेपाली कांग्रेस । कांग्रेसको १४ औं महाधिवेशन यसपटक रोचक किन देखिएको छ भने सभापतिका आकांक्षी निकै धेरै देखिएका छन् ।

सभापतिमा शेरबहादुर देउवाले फेरि दोहोरिन खोजेका छन् । तर, उनलाई मात्र होइन, उनकै पुस्ताका रामचन्द्र पौडेललाई पनि अब सभापति बनाउन हुँदैन भन्नेमा छन्, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइरालाहरू । यी चार जना अब कांग्रेसमा आफूले नेतृत्व गर्नु पर्ने धारणामा राखिरहेका छन् ।

अब कांग्रेस महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी छ । यही सन्दर्भमा हामीले विभिन्न क्षेत्रका विभिन्न व्यक्तिहरूलाई कांग्रेसमा कस्तो टिम बनोस् भन्ने चाहनुहुन्छ भनेर सोधेका छौँ । फरकधारको कांग्रेस महाधिवेशन विशेष श्रृङ्खला कांग्रेसमा मेरो ड्रिम टिममा यसपटक मिलन पाण्डेको ड्रिम टिम ।



मिलन पाण्डेले कांग्रेस सभापतिमा जो आए पनि नयाँ अनुहार आउनु पर्ने धारणा राख्छन् । ‘अब राजनीति नयाँ पुस्तामा आउनु पर्छ, यसमा ट्रान्सफर्मेसन हुनुपर्छ,’ पाण्डेले फरकधारसँगको कुराकानीमा भने, ‘त्यसैले नयाँ पुस्ताको जो आए पनि हुन्छ भन्ने मलाई लाग्छ ।’

पाण्डेले सभापतिमा कोही एक जना विशेषको नाम चाहिँ लिएनन् । त्यसपछि हामीले उनलाई सोध्यौँ– उपसभापतिमा को आए हुन्थ्यो त? 



पाण्डेले भने, ‘उपसभापतिमा म उम्मेदवारी दिन्छु भनेर अहिलेसम्म कसैले पनि स्पष्ट रुपमा भनिसक्नु भएको छैन । तर, मलाई कांग्रेसको उपसभापतिमा यसपटक महिला आउनु पर्छ भन्ने लागिरहेको छ ।’

उनी यतिमा नै रोकिएनन् । उनले कांग्रेसमा महिला उपसभापति हुँदा महिलाको हक र अधिकार एउटा पार्टीमा सुनिश्चित हुने सम्भावना पनि बढ्ने भएकाले आफूले महिलालाई कांग्रेस उपसभापतिमा आओस् भन्ने चाहना राखेको बताए ।

पाण्डेलाई कांग्रेस महामन्त्रीका लागि दुई जनाको मात्र नाम लिन चाहिँ अलिक असहज भयो । उनले गगन थापा र विश्वप्रकाशलाई आफ्नो पहिलो च्वाइसमा त राखे तर प्रदीप पौडेललाई पनि छुटाउन चाहेनन् ।

‘खासमा त गगन दाइ वा विश्वप्रकाश दाइमध्ये एक जनाले सभापतिमा नै दाबी गरेको भए प्रदीप दाइ र अर्को एक जना महामन्त्री हुँदा कांग्रेस अझ सुधारिएको हुनसक्थ्यो,’ मिलनले भने, ‘फेरि गगन विश्वप्रकाश दाइहरू सभापतिमा आउनु भनेको आफूले राम्रो कम्पिटिटर पाउनु पनि हो नि ।’

कांग्रेसको आसन्न महाधिवेशन विशेषमा फरकधारले सुरु गरेको यो ड्रिम टिम श्रृङ्खलामा अरू पनि सामग्री प्रकाशन हुँदै जानेछन् ।  

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १३:५६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया