चाक्सीबारी बैठकः सहमति भए रामचन्द्र पौडेल, सहमति नभए प्रकाशमान र शेखर सभापति उम्मेदवार

आसन्न १४ औं महाधिवेशनमा आफ्नो समूहबाट एक मात्र सभापति उम्मेदवार छान्ने प्रयासस्वरुप चाक्सीबारीस्थित प्रकाशमान सिंह निवासमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु जुटिसकेका छन् ।

यो बैठकलाई यो समूहले निकै महत्त्वका साथ हेरेको छ । यही बैठकबाट यो समूहबाट आसन्न महाधिवेशनका लागि एक मात्र सभापति उम्मेदवार छान्ने सम्भावना बढी भएको नेताहरुले बताउँछन् ।

महाधिवेशन सम्मुखमा आइसक्दा पनि यो समूहले एक साझा उम्मेदवार बनाउन सकेको छैन । ‘आजको बैठकलाई त्यसैले पनि निकै महत्वका साथ लिइएको छ,’ कांग्रेसमा पौडेलनिकट एक नेताले भने, ‘हामीले कांग्रेसमा प्रजातन्त्र र लोकतन्त्रलाई सुनिश्चित गर्दै पार्टी थप बलियो बनाउनु पर्ने छ । यो पार्टीको आन्तरिक बलका लागि पनि आवश्यक छ ।’

उनले सभापति शेरबहादुर देउवालाई सभापतिमा पराजित गराउन पनि यो बैठकले एक साझा उम्मेदवार तय गर्नु पर्ने भएकाले यो बैठक महत्त्वपूर्ण भएको बताए ।

तर, सभापतिका आकांक्षी प्रकाशमान सिंह र शेखर कोइरालाले अहिले तत्काल आफूहरु पछाडि हट्ने मनस्थितिमा नभएको बताउँदै आएका छन् । सिंहनिकट एक नेताका अनुसार उनले यसपटक सभापतिमा उम्मेदवारी दिनबाट आफू पछाडि नहट्ने निर्णय गरिसकेकाले पौडेल समूहलाई आफूलाई समर्थन गर्न अनुरोध गरेका छन् ।

‘सहमति भएको खण्डमा पनि आफ्नो नाममा सहमति हुनु पर्ने प्रकाशमान दाइको कुरा हो,’ उनीनिकट ती नेताले भने, ‘त्यसैले उहाँले शेखर वा अरु कोहीको नाममा आफूले दाबी गरिरहेको सभापति पद छोड्नु हुन्छ भन्ने लाग्दैन ।’



अर्कोतिर, शेखर कोइरालाले पनि आफूले सभापतिमा लड्न पाउनु पर्ने दाबी गर्दै आएका छन् । केही दिनअघि नै सभापतिमा शेखरलाई छोड्न आफू तयार भएको शशांक कोइरालाले अभिव्यक्ति दिइसकेका छन् ।

गण्डकी प्रदेशको अधिवेशन सकिएर फर्किँदै गर्दा कोइरालाले सहमतिमा नगए आफूहरुलाई थप समस्या पर्ने निश्चित भएको बताएका हुन् ।



रामचन्द्र पौडेलले पनि आफूहरुले अहिले सहमति गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । ‘शेखर, प्रकाशमान र शशांकको नाममा सहमति नभए रामचन्द्र पौडेलको नाममा सहमति हुनसक्छ,’ पौडेलनिकट ती नेता भन्छन्, ‘एक जनाको नाममा सहमति गर्ने भए पौडेलको नाममा सहमति जुट्छ, अन्यथा यो समूहबाट दुई उम्मेदवार हुन्छन्– प्रकाशमान र शेखर ।’

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १४:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया