कांग्रेस सहमहामन्त्री आकांक्षी जीवन परियारका पाँच एजेन्डा

कांग्रेस नेता जीवन परियारले पार्टीको आन्तरिक राजनीतिमा फड्को मार्ने तयारी गरेका छन् । दुई पटक केन्द्रीय सदस्य भएका उनले आजै सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरे ।

उनको उम्मेदवारी घोषणा दलिततर्फको सहमहामन्त्री पदमा हो । उनी संस्थापनइतर पक्षका हुन् ।

नवौंपटक संशोधन भएको कांग्रेस विधानअनुसार पहिलो पटक दलितसहित आठ क्लस्टरबाट एक/एक जना सहमहामन्त्री चयन हुँदैछन् । त्यही भएर दलित आन्दोलनका अगुवामध्येका उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवार बन्ने भन्दै गर्दा उनले पाँच एजेण्डा अघि सारे । उनको पहिलो एजेण्डा हो – प्रजातान्त्रिक समाजवादलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने ।

कांग्रेसलाई वैचारिक र सैद्धान्तिक रूपमा भुत्ते पार्टी भनेर टिप्पणी हुँदै आएको बेला परियारले बीपी कोइरालाले दशकौँ अघि प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयनमा जोड दिने बताए ।

‘यसपटक पनि नीति महाधिवेशन भएन । महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने भयो । र, हामीलाई लिएर बारम्बार हुने टिप्पणी हो कि हाम्रो सैद्धान्तिक र वैचारिक धार भुत्तै भयो । प्रजातान्त्रिक समाजवादको सिद्धान्तबाट च्युत भइसक्यौँ । त्यही भएर मेरो उम्मेदवारी उक्त सिद्धान्तको व्यावहारिक कार्यान्वयनमा हुन्छ’, परियारले भने ।



अर्को उनको एजेण्डा पार्टीको विधान कार्यान्वयन गर्ने भन्ने छ । कांग्रेस पनि विधानको परिपालनामा धेरै कमजोर दल हो । विधानअनुसार महाधिवेशन गर्न वर्तमान नेतृत्वले सकेन । त्यही भएर पार्टीमाथि नै वैधानिकताको प्रश्न उठ्ने स्थिति पनि आयो ।

परियारका अनुसार कांग्रेसमा जे जति प्रश्न उठ्छ, विधानको परिपालना राम्ररी नहुँदा हो । यसले गर्दा उनको उम्मेदवार कांग्रेसको विधानलाई कडाइका साथ कार्यान्वयनमा पनि रहेको बताए ।



यससँगै पार्टीमा सबल नेतृत्व निर्माण गर्न, अस्तव्यस्त भ्रातृ संगठनहरू व्यवस्थि तगर्न र पार्टीमा विकास विभाग गठनमा पहल गर्ने पनि आफ्ना एजेन्डा रहेको उनले बताएका छन् । उनी २०७० मा संविधानसभा सदस्य थिए । राजनीतिशास्त्रमा स्नातकोत्तर उनी अधिवक्ता पनि हुन् ।

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १४:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया