थारु समुदायमा मनाइने लवांगी पूजाको अवसरमा कैलालीको घोडाघोडी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
मंगलबार एक सूचना प्रकाशित गर्र्दै नगरपालिकाले थारु समुदायको विशेष पर्व लवांगी पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मंसिर २२ गते नगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिइएको छ ।
पश्चिम तराईका थारुहरूको आस्थाको प्रतीक मानिने धार्मिक सांस्कृतिक ऐतिहासिक प्राकृतिक जैविक विविधताले भरिपूर्ण विश्व रामसारमा सूचीकृत घोरीघोरा मन्दिरमा सामूहिक रुपमा लवांगी पूजा मनाउने गरिन्छ । थारु परम्पराअनुसार वर्षभरि गरिएको खेती र जीवन रक्षाका लागि सामूहिक रुपमा आफ्ना कुल देउतालाई उत्पादन भएको अन्न र जीवन रक्षाको लागि थारु रीतिअनुसार सामूहिक रुपमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारु समुदायमा अहिलेसम्म चलिआएको छ ।
घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुरलगायत पशुपक्षीको बलि चढाउने गरिन्छ । बलि दिने कार्यमा भने थारु मात्र नभई गैर थारु समुदायको पनि बाक्लो सहभागिता हुने गर्दछ ।
कैलालीका ८२ गाउँसहित कञ्चनपुर, दाङ, बाँके, बर्दियालगायत जिल्लाबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।