‘त्यागी’ नेता गणेशमानको घरबाट सभापतिका लागि क-कसले गर्लान् ‘त्याग’ ?

प्रधानमन्त्री पद नै ‘त्याग’ गर्ने नेपाली कांग्रेसका तत्कालीन सर्वोच्च नेता गणेशमान सिंहको घरमा सभापति पदका चार आकांक्षीको बैठक जारी छ ।

सभापति पदको दौडमा उनै त्यागी नेता सिंहका छोरा प्रकाशमान पनि छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र डा. शेखर कोइराला त भइहाले । यी चार नेताको बैठक मध्यान्हदेखि सिंह निवासमा जारी छ ।

बैठकमा रहेका केन्द्रीय सदस्यहरूले उनीहरूलाई साझा उम्मेदवार तय गर्न दबाब दिइरहेका छन् । त्यसका लागि ‘त्याग’ आवश्यक हुने केन्द्रीय सदस्यहरूको ठम्याइ छ । यसरी भित्र नेताहरूबीच सभापतिका लागि रस्साकस्सी चलिरहँदा बाहिरबाट पनि कार्यकर्ताहरूले साझा उम्मेदवारका लागि दबाब दिएका छन् ।

यसबीच प्रश्न उठ्नु स्वाभाविक छ, – के त्यागी नेताको घरबाट साँच्चै नेताहरूले त्याग गर्लान् ? गर्ने नेता को–को होलान् ?

बैठक चलिरहँदा बाहिर आएर पत्रकारहरूसँग नेता गुरुराज घिमिरेले वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ उद्धृत गर्दै भने, ‘एकताका लागि त्याग गर्न तयार छु । तपाईंहरू मिल्न तयार भए, म छोड्न तयार छु । होइन भने मलाई सहयोग गर्नुहोस् ।’

बैठक रातभर बसेर भए पनि सभापति पदको साझा उम्मेदवार छानेरै छाड्ने पक्षमा चार नेता र निकटस्थ नेताहरू छन् ।



र, उनीहरूको बैठक बसाइँ नै साझा उम्मेदवार तयार गर्न हो । उनै नेता पौडेल त्याग गर्ने तयार रहेको भने पनि सकेसम्म आफू सभापति पदको साझा उम्मेदवार बन्न चाहन्छन् । त्यसका लागि उनीबाट तीन आधार प्रस्तुत हुँदै आएको छ ।

पहिलो – इतर पक्षको अग्रज नेता । दोस्रो – अर्को पटक सभापति पदमा उठ्न उमेरले पनि साथ दिँदैन । तेस्रो – आफू उठ्दा शेरबहादुर देउवालाई पराजित गर्न सकिन्छ ।



तर, पौडेल यसअघि जुन-जुन पदीय भूमिकामा रहे, प्रभावकारी र दीर्घकालीन छाप छाड्ने कुनै काम नभएको इतर पक्षबाट सभापति पदका अन्य आकांक्षीहरू बताउँदै आएका छन् ।

अर्कातिर, बाँकी तीन नेतामध्ये केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदको दौडमा पहिल्यै निस्केका हुन् । देशव्यापी माहोल बनाउन उनको व्यवस्थाता लामो समयदेखि रह्यो पनि । उनी सभापतिको उम्मेदवारबाट पछि हट्न नसकिने बताउँदै आएका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको पनि तयारी झण्डै तीन महिनादेखि छ । उनले त सम्पर्क कार्यालय खोलिसकेका छन् । यद्यपि, आफ्नै निवासमा बैठक जारी रहँदा पत्रकारहरूसँग उनले साझा उम्मेदवार तयार गर्नेबारे नै बैठकमा छलफल भइरहेको बताए ।

‘आउने महाधिवेशनमा राम्रोसँग मिलाएर पार्टीलाई अगाडि बढाउन उम्मेदवार छनोट पनि त्यस्तै हुनुपर्ने कुरामा छलफल भइरहेको छ । साझा उम्मेदवार तयार गर्न सकिन्छ कि भनेरै बैठक बसिरहेको हो’, सिंहको भनाइ छ ।

त्याग गर्नुपरे तपाईं तयार हो ?’ भन्ने पत्रकारको प्रश्नमा अहिले भन्न नसकिने बताए ।

बैठकमा सहभागी महामन्त्री शशांक कोइराला पनि सभापति पदको स्वाभाविक उम्मेदवार भन्दै आएका छन् । उनले पूर्वी पहाडी जिल्ला संखुवासभामा गएको हप्ता पुगेर सभापतिको बलियो प्रतिस्पर्धी भएको समेत बताए ।

यसले गर्दा को–को नेताले त्याग गर्लान् र साझा उम्मेदवारको तय होला ? निर्क्योल गर्न मुस्किल छ ।

जिल्ला र प्रदेश अधिवेशनको दबाब

स्पष्ट रूपमा सभापति शेरबहादुर देउवा ६१ जिल्ला र ६ प्रदेशमा भएको अधिवेशनबाट बलियो बनेर आए । उनलाई पराजित गर्न एक्ला एक्लै अगाडि बढेर सम्भव हुँदैन भन्ने निष्कर्ष नेता पौडेल पक्षले निकालेको छ ।

पहिले भए साझा नभए एक्ला एक्लै बढ्ने तयारीमा रहेका इतर पक्षका नेताहरू जिल्ला र प्रदेश अधिवेशनको नतिजाबाट हच्किएका छन् । उनीहरूलाई साझा उम्मेदवार दिएर अगाडि बढ्न दबाब बढेको छ ।

राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार इतर पक्ष एक्ला एक्लै बढे देउवा अर्थात् संस्थापन पक्षलाई महाधिवेशनको नजिता आफ्नो पक्षमा हात पार्न निकै सहज हुनेछ ।

हुन पनि ६ प्रदेशको अधिवेशन भएको मध्ये तीन प्रदेशमा देउवा, एक प्रदेशमा देउवाको समर्थनमा तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला पक्षीय नेताले सभापति जितेका छन् । दुई प्रदेशमा मात्रै इतर पक्षका नेताले जितेका छन् ।

६१ जिल्लामध्ये पनि ३२ जिल्लामा देउवा, २७ जिल्लामा इतर र दुई जिल्लामा सिटौला पक्षका नेताले सभापति जितेका छन् । फेरि, केही जिल्ला र प्रदेशमा देउवा–सिटौला गठबन्धन भएकाले पनि साझा उम्मेदवार तयार गरेर अघि बढ्न इतर पक्षलाई दबाब बढेको हो । तर, जारी बैठकले साझा उम्मेदवार तय गर्लान् नै भन्न भने सकिँदैन ।

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १९:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया