नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ ।
मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो ।
महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलि साँझसम्म आफूहरू पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए ।
त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दाबी गरे । वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली कांग्रेसको रूपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरूले आज विभिन्न कोणबाट छलफल गर्यौं । हामी सहमतिको निकै नजिक पुगेका छौँ' उनले भने, 'केही प्रक्रिया पूरा गर्न बाँकी छ । त्यो प्रक्रिया पूरा गरेर हामी भोलि साँझसम्म साझा उम्मेदवारको निर्णय सार्वजनिक गर्छौं ।’
कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेता सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवारको आकांक्षी रहेका छन् । वरिष्ठ नेता पौडेलले भने सहमतिमै उम्मेदवारी दिनेगरी सहमतिको नजिक पुगिएको दाबी गरेका छन् । यता, संस्थापन पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।