महिनावारी विभेद नै पितृसत्ताको जड हो
राधा पाैडेल
फरकधार / २२ मंसिर, २०७८

अहिले महिला हिंसाको बारेमा विभिन्न खालका बहस भइरहेका छन् । तर, हिंसा रोकथामका विषयमा भने कसैको ध्यान जान सकिरहेको छैन । हिंसा भयो मात्र भनिरहेका छौं । तर, यसलाई कसरी नियन्त्रण गर्ने कसरी रोकथाम गर्ने भन्ने विषयमा न बहस भएको देखिन्छ, न त रोकथामकाे लागि पहल नै भएको छ ।
 
अर्कोतिर हामीसँग भएको संयन्त्रलाई पनि सही तरिकारले परिचालन गर्न सकेनौं । हिंसाको प्रमुख जड नै घर हो । १०० वटा घटनाहरूमा ९३ वटा महिला हिंसाका घटना घरमै हुन्छन् । त्यसमा पनि ८२ प्रतिशत घटना त आफ्नै घरको पुरुष सदस्यबाट हुने गरेको राष्ट्रिय महिला आयोगको तथ्यांकले पनि देखाउँछ । 



कोरोना महामारीको समयमा याे निकै बढेर गयो । हामीले घरभित्रकै सदस्यबाट हुने कुटपिट, गालीगलौज, यौनहिंसाजस्ता विषयलाई मात्र उठान गर्न सक्याैं । तर, महिलामाथि हिंसा त भ्रुणावस्थादेखि  मृत्युसम्म हुने गरेको छ ।
 
भ्रुणवस्थामा छोरा वा छोरी भन्दै विभेद गरिन्छ । जन्मिएपछि पनि अनेकन हिंसाकै सामना गर्नुपर्छ।  महिलामाथि हुने हिंसाको प्रमुख कारण भनेको महिनावारी हुने विभेद हो । जुन नेपालमा मात्र नभएर संसारभर प्रचलनमा छ । 

महिनावारी बार्ने अभ्यास संसारभर नै यथावत छ । अस्ट्रेलियाका २५ प्रतिशत किशोरीहरू महिनावारी सामग्री किन्न डराउँछन् । उनीहरू किनेर ल्याएका सामग्री लुकाएर ल्याउँछन् । १० जनामा ८ जना महिला महिनावारी लुकाउँछन् । पौडी खेल्दैनन्, हल्का रंगको पोशाक लगाउँछन् । ७० प्रतिशत किशोरीहरू महिनावारीकाे समयमा पढाइमा असफल देखिन्छन्। यो समस्या अस्ट्रेलियामा मात्र नभएर नेपालमा पनि व्याप्त छ । 

त्यस्तै जर्मनमा पनि सामाजिक जीवनमा सहभागी हुन असजिलो मान्ने, १६ प्रतिशत किशोरी स्कुल अथवा काममा जाँदैनन् । यसैगरी बेलायतमा पनि ८ जनामा एक महिलाले महिनावारी हुनुअघि महिनावारीबारे जानेका हुँदैनन् । सन् २०२१ मा हालै प्रकाशित भएका एक तथ्यांकअनुसार बेलायतमा ३७ प्रतिशत छात्राहरू महिनावारीका कारण खेल खेल्नबाट बञ्चित हुुने गरेका छन् । यस्तै बुरुण्डी, इजिप्ट, नाइजेरिया, कंगो घाना लगायतका देशमा पनि महिनावारी बार्ने तथा विभेदको प्रचलन रही आएको छ । 



नेपालको संविधानले नै महिलालाई अधिकार प्रदान गरेको छ । तर, त्यो कार्यान्वयन हुन सकिरहेको छैन । महिनावारीका कुरा मात्र भएर हुँदैन, त्यसका लागि मर्यादित पनि हुनुपर्छ । अझै पनि महिनावारी सामग्री वा सरसफाइका बारेमा जनचेतनाको कमी देखिन्छ । यतिमात्र नभएर सरसफाइमा समेत ध्यान दिन दिँदैनन् । 

अर्को महत्त्वपूर्ण कुरा भनेको महिनावारी विभेदले शक्ति र पितृसत्ताको निर्माण गर्दछ । ६ देखि ९ वर्षको उमेरमा बालिकाहरूले महिनावारीको बारेमा केही न केही कुरा थाहा पाइसकेका हुन्छन् । ६ देखि १२ वर्षको उमेरमा बालिकाहरूलाई महिनावारी भनेको अशुद्ध रगत बग्नु,आफू शक्तिविहीन, निम्छरो तथा सानो हुँ भन्ने बुझाइएको हुन्छ । 

महिनावारी विभेद केवल ५ दिनको कुरामात्र नभएर जीवन चक्रभर नै हुने विभेदहरूको श्रृखंला हो । पेटमा हुँदाखेरि नै भ्रुण हेरिन्छ । छोरा भएर राखिन्छ छोरी भए गर्भपतन गराइन्छ । त्यसपछि बच्चा हुर्कँदै गएपछि पनि विभेदको आधारमा हेरचाह गरिन्छ । छोरालाई निजी तथा बोर्डिङ स्कुल पढाउने र छोरीहरूलाई सकभर स्कुल नपठाउने पठाउनै परे सरकारी स्कूल पठाउने चलन छ । छोरी अलि ठुलाे हुँदै जाँदा यौनहिंसा, बलात्कारजस्ता जघन्य अपराधको सिकार हुन्छिन् । 

जब महिनावारी सुरु हुन्छ तब छाेरीमाथि थप हिंसा तथा विभेद सुरु हुन्छ । जसले गर्दा उनीहरू राम्राेसँग पढ्न सक्दैनन् अनि स्कुल छाड्न बाध्य हुन्छन् । यसरी बाध्य भएकाहरूकाे विवाह हुन्छन् अनि बिहेपछि पनि उनीहरूमाथि अनेकन हिंसा हुन्छ । अरू त अरू मरेपछि पनि महिलाकाे अन्तिम संस्कार नै अलग हुन्छ।

महिनावारीलाई धर्मसँग जोडेर हेरिन्छ । महिनावारी भएको बेला बार्नुपर्छ, छुट्टै बस्नुपर्छ, धर्मले पनि महिनावारीको रगत अशुद्ध मान्छ । महिनावारी विभेदको पछाडि अशुद्ध भन्ने सोच मुख्य हो। जसका कारण महिनावारीका बारेमा डर, मौनता, अज्ञानता जस्ता नकारात्मक प्रभाव परिरहेको हुन्छ । 

हालसम्म गरिएका लैंगिक तथा समावेशी नीतिले महिनावारी विभेदलाई सम्बोधन गरेको पाइँदैन । महिनावारी विभेद यौनिक तथा लैंगिक हिंसासँग मानवअधिकारको हनन हो । मर्यादित महिनावारी सन् १९४८ को मानव अधिकार घोषणापत्रले समेत केही बोलेको छैन । त्यस्तै १९७९ को महिलाविरुद्ध हुने सबैखाले भेदभावविरुद्धको महासन्धिमा पनि महिनावारी विभेदबारे कही कतै सम्बोधन गरेको पाइँदैन ।
 
महिनावारी विभेदलाई मुक्त गर्नका लागि हामीले सन् २०१९ देखि नै मर्यादित महिनावारी दिवस मनाउँदै आएका छौं । सबै हिंसाको मूल कारणमध्ये महिनावारी बार्ने चलन पनि एक हो । यसको अन्त्यका लागि नै हामी दिवस मनाउन थालेका हौं ।

महिलामा महिनावारी हुनु त प्राकृतिक प्रक्रिया नै हो । यदि पुरुषहरूमा दाह्रीजुँगा आउँदा त कसैले पनि प्रश्न उठाउँदैनन् । अनि महिलालाई महिनावारी हुँदा भने किन विभेद गरिन्छ ? किन समाजबाट अपहेलित भएर बस्नुपर्छ ? पुरुषको दाह्रीजुँगा आउनु र महिलामा महिनावारी हुनु भनेको दुवै प्राकृतिक प्रक्रिया हुन् । र, दुवै जना प्रजजन क्षमताका लागि परिपक्क भए भन्ने सन्देश दिन खोजेको हो । 

जब महिलामाथि महिनावारीको नाममा विभेद हुन्छ त्यहीबाट नै ऊमाथि हिंसा सुरु हुन्छ । हाम्रो घर परिवार, समाज, परिवेशले नै तिमी महिनावारी हुन्छौं, त्यसैले कमजोर हुन्छौं भन्ने कुरा दिमागमा जबरजस्ती घुसाउन खोजिरहेको हुन्छ । जबकि कुनै महिला महिनावारीका कारण आफूलाई अरूभन्दा कमजोर ठान्दिनन्, त्यो बेला समाजले नै कमजोर बकाइदिन्छ । अनि यहीबाट त हो हिंसाको सुरूवात हुने । 

जब शक्तिको दुरुपयोग हुन्छ, त्यतिखेर हिंसा हुन्छ । हिंसाको एकदमै चरम रूप भनेको बलात्कार हो । बलात्कारलाई आजको दुनियाँमा मानव सभ्यताविरुद्धको कलंकका रूपमा लिइन्छ। 
 
मर्यादित महिनावारीभित्र महिनावारीका कुरा मात्र नभएर महिनावारी सुकेपछिका कुरा पनि आउँछन् । महिनावारी सुक्ने एउटा चरण हो । यसको बारेमा धेरै चर्चा भइरहेको छैन ।   

महिनावारी सुक्ने तीन प्रकारको हुन्छ । सर्जिकल रजनोवृत्ति भनेको अप्रेसन गरेपछि सुक्ने महिनावारीको कुरा हो । क्यान्सर भयो वा अन्य हर्मोनल कारणले पनि सानै उमेरमा महिनावारी सुक्न सक्छ । त्यो भनेको सर्जिकल रजनोवृत्ति हो ।
 
रजनोवृत्ति हुने सरदर उमेर भनेको त ५१ वर्ष हो । कसैकसैलाई ४५-४६ वर्षको उमेरमा पनि हुन्छ । 

प्राकृतिक रूपमा भन्दा अप्रेसन गरेपछि त उतिखेरै रजनोवृत्ति भइहाल्छ । यसले शरीरको पूरै प्रणालीलाई नै असर गरिरहेको हुन्छ । त्यसको बारेमा कसैले पनि कुरा गरिरहेको छैन । महिनावारीको बारेमा चाँहि कुरा गर्छ, तर रजनोवृत्तिका विषयमा कसैले पनि कुरा गर्दैनन् । 

महिनावारी सुक्दा शरीरमा थुप्रै खालका असर गरिरहेको हुन्छ । यस्तो अवस्थामा विभिन्न खालका लक्षण हुन्छन् । गर्मी हुने, चिटचिटाहट हुने, मुडअफ हुने, मुटु ढुकढुक गर्नेजस्ता समस्या हुन्छ। 

महिनावारीको कारणले मुटु, हड्डी र दिमाग एकदम बलियो बनाइरहेको हुन्छ । महिनावारी सुक्न थालेपछि तीनवटै कुरा जान्छ । हड्डी कमजोर हुने, हृदयघात हुने, दिमागले कम काम गर्ने समस्या हुन्छ । यसबारे पनि हामीले सचेतना फैलाउनु जरुरी देखिन्छ । 

(राधा पौडेल सामाजिक अभियन्ता, लेखक तथा दक्षिण गोलार्दयीय मर्यादित महिनावारी सञ्जालकी संस्थापक अध्यक्ष हुन् ।) 
 

  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ११:२८:२६,   अन्तिम अपडेट : मंसिर २२, २०७८ बुधबार १६:५३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया