कोरोनाले पनि छेक्न सकेन विवाहपञ्चमी महोत्सव

जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव धुमधामका साथ मनाइँदैछ । एक साता अगाडिदेखि नै जनकपुरधाममा विवाहका गीतहरू गुन्जिन थालेका छन् । पछिल्ला वर्ष कोरोना संक्रमणको कारण विवाहपञ्चमी महोत्सवमा त्यस्तो उत्साह देखिएको थिएन । यस वर्ष भने कोरोनाले पनि विवाहपञ्चमी महोत्सवमा हुने भीडभाडलाई छेक्न सकेको छैन ।

मंसिर शुक्ल पञ्चमी तिथि अर्थात् आजकै दिन त्रेता युगमा भगवान श्रीराम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाइन्छ । 

त्रेतायुगमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा राम र सीताकाे जसरी विहे भएको थियो त्यसैअनुसार वर्तमानमा पनि रामजानकीको डोलालाई स्वयम्वर गरी वैदिक परम्पराअनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै रहेको छ ।

आज दिउँसो साधुसन्तको अगुवाइमा झाकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी रामसीताको स्वयम्वर हुने जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए ।

स्वयम्वरपश्चात् रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा प्रवेश गरेपछि राति रामजानकीको विवाहको कार्यक्रम हुनेछ । डोला दर्शन गर्न श्रद्धालुहरूको भीड लाग्ने गर्छ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान रामका बुबा अर्थात् राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरूबाट लाखौं श्रद्धालु भक्तजनहरू जनकपुरधाम आएका छन् ।



साताव्यापी रूपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवमा नगरदर्शन, फुलबारी लिला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर कार्यक्रम सम्पन्न भइसकेको छ । आज रामाजानकीको विवाहपश्चात् बिहीबार रामकलेवा गरी विधिवत रूपमा विवाह पञ्चमी महोत्सव समापन हुने महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए ।

विवाहपञ्चमीको अवसरमा सामाजिक संंघसंस्थाहरूले मेलामा आउने लाखौं तीर्थालुको सेवाका लागि विभिन्न ठाउँहरू शिविर तथा बासको व्यवस्था गरी तिर्थालुहरूलाई स्वागत गर्न जुटेका छन् । स्थानीय क्लबहरूले निःशुल्क उपचार, आवास, निःशुल्क भोजन तथा मेलामा अलपत्र परेकाहरूलाई खोजबिन गरेर गन्तव्यसम्म पुर्‍याउने काम पनि सामाजिक संघसंस्थाहरूले गरिरहेका छन् । 



विवाहपञ्चमीमा हजारौंको संख्यामा आउने श्रद्धालुहरूका कारण नगरभरि भीडभाड हुने गरेकाे र यस स्थितिमा चोरीका घटना बढ्ने भएकाले सुरक्षा चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । 

यता विवाहपञ्चमीमा सवारीसाधनसहित आउने श्रद्धालुहरूको सवारीलाई नगर बाहिरै व्यवस्थित गर्न समस्या भइरहेको ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख नवाराज न्यौपानेले बताए ।

  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ११:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया