कांग्रेस महाधिवेशन : विशाल भट्टराईको ड्रिम टिम

१४ औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसमा यतिबेला पदाधिकारी चयनको विषयले चर्चा पाएको छ । सभापतिमा धेरै आकांक्षी देखिएपछि अबको नेतृत्व कसले पाउने भन्ने विषयले कांग्रेसमा चर्चा पाएको हो ।  

लामो समयदेखि गुटको अभ्यास गर्दै आएको कांग्रेसमा पुनः आफैं नेतृत्वमा दोहोरिने भोक देखाउँदै सभापति शेरबहादुर देउवाको दौडधुप छ । उनले सार्वजनिक रूपमै आफूलाई जिताउन नेताहरूलाई आग्रह गरिसकेका छन् । 

उता, कांग्रेसको विरासत आफ्नो हातमा ल्याउने दाउ गरेका रामचन्द्र पौडेलले आन्तरिक लविङ छाडिसकेका छैनन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइरालालगायतका नेताहरूले पनि आफू नेतृत्वमा आउनपर्ने आवाजहरू राखिरहेका छन् । 

महाधिवेशन आउन केही दिन मात्र बाँकी हुँदा स्पष्ट रूपमा कसैले पनि न त प्यानल बनाउन सकेका छन्, नत सभापतिमा आफ्नो स्पष्ट खाका नै । हामीले फरकधारको यो श्रृङ्खलामा कांग्रेसको महाधिवेशनबारे विभिन्न क्षेत्रका विभिन्न व्यक्तिसँग कांग्रेसको अबको टिम कस्तो बनोस् भनेर सोधेका छौं । फरकधारको कांग्रेस महाधिवेशन विशेष यो श्रृङ्खलामा ‘मेरो ड्रिम टिम’ मा एमाले नेता विशाल भट्टराईलाई समेटेका छौं । 

एमाले नेता भट्टराई कांग्रेसका शीर्षस्तरबाट गन्दै जाँदा देखिने १० जनाको अनुहार नै भिजन र दृष्टिकोण नभएको बताउँछन् । उनले तत्काल कांग्रेस अहिलेको ठाउँबाट माथि उठ्नसक्ने अवस्थामा नभएको बताए । तर, उनले सभापति वा कुनै पदाधिकारीमा यही व्यक्ति आउनपर्छ भनेर कुनै टिप्पणी गर्न मानेनन् । 

‘कांग्रेसको तलदेखि माथिसम्म संगठनात्मक व्यवस्थापन देखिँदैन । नेतृत्व निर्माण पनि भद्रगोल देखिन्छ । तत्काल कांग्रेस अहिलेको ठाउँबाट माथि उठ्लाजस्तो लागेको छैन,’ भट्टराईले भने । 



आफूहरूले कांग्रेसमा स्वस्थ र मर्यादित प्रतिस्पर्धाबाट नेतृत्व आओस् भन्ने चाहेको पनि उनले बताए । ‘हामी त राम्रो होस् भन्ने चाहन्छौं । स्वस्थ र मर्यादित प्रतिस्पर्धा गरेर जसलाई जनताले रुचाउँछन् त्यही अगाडि बढ्ने हो,’ भट्टराईले अगाडि भने, ‘तर कांग्रेस तत्कालै त्यो दिशामा जाला जस्ते देखिँदैन । विकासको भिजन भएको नेतृत्व कांग्रेसले पाओस् भन्ने हाम्रो शुभेच्छा छ ।’

सभापति वा अन्य पदाधिकारीमा कुनै व्यक्तिको नाम नलिने उनले बताए । ‘सभापतिमा यही मान्छे आओस् भनेर हामीले व्यक्ति तोक्दा त्यति राम्रो नहोला । यसो हेर्दा शीर्षबाट गन्दै जाँदा १० नम्बरमा पुग्दा पनि देश बनाउनसक्ने भिजन भएको नेता र दृष्टिकोण दिनसक्ने नेतृत्व चाहिँ देखिँदैन,’ उनले भने ।



राष्ट्रियता र युवा पिढीको संवर्दन गर्नसक्ने नेतृत्वको आशा गरेपछि अवस्था त्यस्तो नभएको टिप्पणी गरे । ‘राष्ट्रियताको र युवा पीढिको सम्बर्द्धन गर्नसक्ने नेतृत्व आओस् भन्ने हो तर कांग्रेसमा त्यस्तो आशा छैन ।’

उनले अगाडि भने, ‘नेतृत्वको हिसाबले भन्ने हो भने जुनसुकै पार्टीको पनि इमानदार, निष्ठावान, देशप्रति प्रतिवद्ध र विकासको भिजन भएको नेतृत्व चाहन्छौं । अहिलेसम्म देशमा धेरै नेताहरू जन्मिए, तर विकासको दृष्टिकोण प्रस्तुत गर्न र भिजन बताउने नेतृत्व आएन । त्यसकारण देश बनाउने भिजन आजको आवश्यकता हो ।’

जेल बस्ने र युद्ध गरेर आएकाहरूले राजनीति गर्ने जमाना नभएको उनको जिकिर छ । ‘त्याग गर्ने, जेल बस्ने, युद्ध गर्ने जमाना गए । त्यसकारण अबको नेतृत्व भनेको विकासको भिजन भएको चाहिन्छ,’ उनले भने, ‘जनतालाई यसरी सुखी बनाउँछु, ४० लाख युवाहरू विदेशमा छन् उनीहरूलाई कसरी देशभित्र रोजगारी बनाउने भन्ने दृष्टिकोण भएको नेता आजको आवश्यक्ता हो ।’

  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ११:५८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया