\
नेपाली कांग्रेस झापाको सभापतिमा दुई कार्यकाल बिताएका उद्धव थापाले अब कांग्रेसको १ नम्बर प्रदेशको जिम्मेवारी सम्हाल्दैछन् । १४औं महाधिवेशनबाट सभापतिको उम्मेदवार बनेका थापाले प्रतिस्पर्धी गुरुराज घिमिरेलाई पराजित गराएपछि त्यहाँको माहोल रोचक बन्यो ।
रोचक यसकारण बन्यो कि उनले २ मतको अन्तरले मात्र घिमिरेलाई पराजित गरेका थिए । घिमिरेले पुनः मतगणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन नै दर्ता गराए । निर्वाचन आयोगले अझैसम्म पनि यो विषयमा औपचारिक निर्णय गरिसकेको छैन ।
कांग्रेस पदाधिकारीका लागि शीर्ष नेताहरूबीच निरन्तर छलफल चलिरहँदा प्रदेश १ को नेतृत्वको बारेमा अझै पनि निर्वाचन आयोगले केही भनेको छैन् । देउवा-सिटौला प्यानलबाट प्रदेश १ को सभापतिमा उम्मेदवार बनेका थापालाई हामीले महाधिवेशनको मुखमा तपाईंहरू त दुईचिरा बन्नुभयो नि ? भनेर प्रश्न राखेका थियौं । थापाले गुरु घिमिरेको जति दम आफ्नो नभएको बताएका छन् ।
थापासँग फरकधारकर्मी सुमन पुरीले गरेको कुराकानीको सम्पादित अंश हामीले यहाँ प्रस्तुत गरेका छौंः
प्रदेश सभापति बन्नु भो, के गर्ने सोचमा हुनुहुन्छ ?
नेपाली कांग्रेस पार्टीमा अहिले चुनौती छ । चुनौती सामना गर्नका लागि एक भएर जानुपर्छ । पार्टीको विधान, नीति, पद्धतिअनुसार आगामी चुनौतीहरूलाई हामी एक भएर सामना गर्नुपर्छ। सबै नेता तथा कार्यकर्ताहरूसँग सहमति र सहकार्यमा अगाडि बढ्ने सोच छ ।
महाधिवेशनले पार्टी एक हुनुपर्ने हो तर, पार्टी तलदेखि माथिसम्म दुई चिरा भएर गइरहेको छ ? कसरी पार्टी एक बनाउनु हुन्छ ?
चुनौती छन् । चुनौती भए पनि यसका निकासहरू पनि छन् । अब हामी कुनै पराइहरूसँग चुनाव लडेका होइनौं । प्रतिस्पर्धा पनि अहिले पराइहरूसँग भएको होइन । यो पराइसँगको अनेकता पनि होइन । पार्टी भित्रको अनेकता हो ।
हामी एउटै घरभित्रको सदस्य हो । हामी सल्लाह र संवादबाट यो समस्या हल गर्छौं । हामी भित्रमा संवादको कमी छ । हामी बसेर संवाद गरेपछि एकतामा पुग्छौं । हाम्रो लागि अहिले चुनौती ठूलो कुरा हो । आन्तरिक कुरा ठूलो होइन । बाहिरी चुनौती ठूलो भएकाले उक्त चुनौती सामाधान गर्न एक भएर अगाडि बढ्नुको विकल्प छैन ।
केन्द्रीय महाधिवेशनसम्म अलिक समस्या देखिन्छ । यसपछि यो मिलेर जान्छ । महाधिवेशन सकिएसँगै पार्टीका आन्तरिक द्वन्द्वहरू पनि सकिएर जान्छन् । यसपछि हाम्रो विकल्प छैन । महाधिवेशन सकिएपछि जसले जिते पनि जो हारे पनि पार्टीको झण्डामुनि आउनुको विकल्प छैन। त्यसैले पनि हामी एकतावद्ध भएर अगाडि बढ्छौं भन्नेमा मेरो विश्वास छ ।
यहाँले भन्नु भो कि यो पराइसँगको प्रतिस्पर्धा होइन, तर हेर्दा त यो पराइसँगकै प्रतिस्पर्धाजस्तो र झगडाजस्तो देखियो । कांग्रेसभित्र के भइरहेको हो ?
यो निर्वाचन हो । निर्वाचनमा एउटा स्पिरिट हुन्छ । आफ्ना सपोटरहरूको, मतदाताहरूको स्पिरिट हुन्छ । यो यही भएको हो । आफूले इच्छाएको व्यक्तिले जितोस्, आफूले चाहेको व्यक्तिलाई जिताउन सकियोस् भन्ने हुन्छ । यो चुनावभरि मात्रै हो । चुनाव सकिएपछि यो पनि सकिन्छ । त्यसछि यो स्पिरिट कुल डाउन भइहाल्छ । त्यसपछि हामीलाई सहमति सहकार्य गरेर अगाडि बढ्ने कुरामा त्यही स्पिरिटले काम गर्छ । सहकार्यका लागि मार्ग प्रशस्त गर्छ ।
यो अलि नै बढी भएजस्तो लागेन ?
मलाई त त्यस्तो लागेको छैन । यसपालिको महाधिवेशन वडा तहदेखि भएर आएको छ । गाँउ नगर, क्षेत्र जिल्ला र प्रदेशसम्म आइपुग्दा अघिल्लो समयको अधिवेशनभन्दा अत्यन्तै हार्दिकताका साथ सम्पन्न भएको छ । यो अधिवेशनलाई हामीले जित हारको मुद्धा बनाएका छैनौं । जसले जिते पनि कांग्रेसले जित्ने हो, जसले हारे पनि कांग्रेसले हार्ने हो भन्ने मूल मान्यताका साथ हामी निर्वाचनमा सहभागी भएका छौं । यही मान्यताका साथ प्रदेश अधिवेशन पनि सम्पन्न गरिसकेका छौं । यहाँहरूले कसरी देख्नु भो मलाई थाहा छैन । तर हाम्रो हेराइमा प्रतिपक्षसँग निर्वाचन लडेजस्तो निर्वाचनमा न हामी उम्मेदवार बनेका छौं न हाम्रा प्रतिनिधिहरूले मतदान गरेका छन् । हार्दिकताका साथ नै हामीले प्रदेश अधिवेशन सम्पन्न गरेका छौं ।
तर सभापतिज्यू यहाँसँग प्रतिस्पर्धी हुनु भएका गुरुराज घिमिरे अहिले पनि मलाई हराउन राज्यको शक्ति नै लाग्यो, निर्ममरूपमा ममाथि हिंसा भयो भन्दै हुनुहुन्छ नि ?
त्यस्तो लागेको थियो भने त निर्वाचनकै बेला भन्नुपर्थ्यो, निर्वाचनमै एजेण्डा बनाउनु पर्थ्यो, उहाँले त्यो कुरा उठाउनु पर्थ्यो । राज्य लागेको कुरा त निर्वाचन अगाडि नै उठाउनु पर्ने हो नि ! को लागेको छ ? भन्ने कुरा पहिला नै खोल्नु पर्थ्यो ।
जब परिणाम आइसकेपछि त्यो मुद्दा उठाउँदा मलाई के लाग्छ भने उहाँले परिणामलाई स्वीकार गर्न सकिरहनु भएको छैन । उहाँले यस्तो ठूलो मुद्धा बनाएर हिँड्नुपर्छ भन्ने मलाई आवश्यक लाग्दैन । उहाँजस्तो एउटा प्रभुत्व व्यक्ति, पार्टीको सवै कुरा बुझेको व्यक्ति निर्वाचनको परिणामलाई लिएर अत्यन्तै अधिर भएको म देखिरहेको छु।
उहाँ त झन् पार्टीको केन्द्रीय नेता । केन्द्रीय तहमा राजनीति गरेको व्यक्ति । म त गाँउदेखि राजनीति गर्दै क्रमिक रूपले वडा कमिटी, गाँउ कमिटी अनि क्षेत्र जिल्ला हुँदै प्रदेशमा आएको हो । म त तलबाट आएको कार्यकर्ता ।
मेरो त्यो शक्ति छैन, त्यो दम छैन । जति गुरुजीको दम छ । यसले गर्दा उहाँजस्तो केन्द्रीय तहको नेतालाई हराउन राज्यशक्ति नै लाग्नु पर्ने कारण के हो ? परिणामलाई उहाँले स्वीकार गर्न नसक्नु मात्रै भएको हो, अरू होइन । जति उहाँले यसलाई मुद्धा बनाउनु हुन्छ त्यति घाटा हुँदै जानेछ । यसले उहाँको गरिमालाई र गौरवलाई घटाउँदै जाने छ । गल्ली गल्लीमा उहाँको टिप्पणी भइरेको छ । अब उहाँजस्तो नेताले यसरी परिणामलाई स्वीकार गर्न नसकेर मिडियामार्फत् सार्वजनिक ठाँउमा बोल्दै हिँड्न सुहाँउदैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।