आफ्नो समूहको बैठक छाडेर अचानक किन सिटौला कहाँ पुगे पौडेल ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा निकै दबाबमा देखिन्छन् । कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन अब केही दिन मात्र बाँकी छ । तर, पौडेल समूहले आधिकारिक रूपमा आफ्नो समूहको सभापति उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

यही विषयमा छलफल गर्न र सभापतिमा एक जना साझा उम्मेदवार तय गर्न पौडेल समूहको बैठक मंगलबारदेखि बसिरहेको छ । मंगलबार कांग्रेस नेता तथा सभापतिका आकांक्षी प्रकाशमान सिंह निवासमा बसेको बैठकमा पनि यो समूहले सभापतिमा साझा उम्मेदवार तय गर्न सकेन ।

आज बिहानैदेखि गौशालाको एक होटलमा फेरि यही विषयमा छलफल गर्न यो समूहको बैठक बसिरहेको छ । तर, बैठकको बीचमा नै उठेर पौडेल कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निवास चण्डोलमा पुगेका छन्  ।

आफ्नो समूहको बैठक छाडेर पौडेल किन सिटौला निवास पुगे त ? 

हामीले यही प्रश्न पौडेलनिकट एक नेतालाई सोध्यौँ । ‘पछिल्लो समय हाम्रो समूहले साझा उम्मेदवार वा एक जना मात्र सभापतिको उम्मेदवार तय गर्ने सम्भावना घट्दै गएको छ,’ ती नेताले भने, ‘सभापतिका आकांक्षी प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालामध्ये शशांक कोइरालाले पौडेललाई सभापतिमा छोड्न सकिने बताइसकेको समयमा आफूलाई समर्थन प्राप्त होस् भनेर पौडेल सिटौला निवास पुगेका हुन् ।’

सिटौला निवासमा पौडेलले सिटौलालाई आफूलाई सभापतिमा समर्थन गर्न अनुरोध गरेको स्रोतको दाबी छ । ‘शेरबहादुर देउवाले कांग्रेस पार्टी बचाउँदैनन्, मलाई समर्थन गर्नुहोस्, दुई वर्षपछि कार्यवाहक दिन्छु,’ पौडेलले सिटौलालाई अनुरोध गरेका छन् ।



महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी हुँदा अहिलेसम्म कांग्रेस नेता सिटौलाले कुन समूहलाई समर्थन गर्छन् भन्ने खुलेको छैन । तर, सिटौलाले यो महाधिवेशनमा १३ औंमा जस्तै शेरबहादुर देउवालाई समर्थन गर्ने अनुमान धेरैको छ । 

तर, संस्थापन इतर समूहका नेताहरु चाहिँ सिटौलालाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् ।



  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १३:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया