नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक सकिएको छ ।
देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकले भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । १४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
आजको संस्थापन पक्षको बैठकमा तीन नेताले महामन्त्री पदमा दाबी गरेका छन् । स्रोतका अनुसार बैठकमा एनपी साउद, बालकृष्ण खाँण र प्रकाशशरण महतले दाबी गरेका हुन् ।
त्यस्तै, सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले पनि महामन्त्रीमा दाबी गरेका छन् । महामन्त्री पदका दाबेदार बढी हुँदा देउवालाई सकस परेको छ ।
उपसभापतिमा दाबेदारी कसैबाट पनि प्रस्तुत नभएको बैठकमा सहभागी एक नेताले बताए । तर, दाबी प्रस्तुत नगरे पनि संस्थापन पक्षबाट महामन्त्री पूर्णबहादुर खड्का, विजयकुमार गच्छदारलगायत आकांक्षी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।